© 2026
जनकपुरधाम । जनकपुरधामस्थित रामजानकी बहुउद्देश्यीय रङ्गशालामा सञ्चालित निको कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले पहिलो जित दत्र्ता गरेको छ ।
प्रतियोगिताअन्तर्गत आज सम्पन्न पहिलो खेलमा कर्णाली प्रदेशलाई पाँच विकेटले पराजित गर्दै लुम्बिनीले दुई अङ्क जोडेको छ । टस जितेर लुम्बिनीले फिल्डिङ रोजेको थियो ।
पहिले ब्याटिङको निम्तो पाएको कर्णाली प्रदेशले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ८५ रनको योगफलमा जोड्न सक्यो । कर्णालीका लागि गङ्गा खड्काले १४, अञ्जु गुरुङले १३ र तृष्णा विश्वकर्माले १२ रन बनाउनुबाहेक कुनै पनि ब्याटरले दोहोरो अङ्क जोड्न सकेनन् । कर्णालाई सस्तैमा समेट्न लुम्बिनी प्रदेशका मनिषा रानाले तीन, सुस्मिता भुसालले दुई तथा अञ्जि पाठकले एक विकेट हात पारिन ।
८६ रनको झिनो लक्ष्य लिएर मैदान प्रवेश गरेको लुम्बिनीले १५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेटायो । लुम्बिनीका लागि कप्तान असमा पुलामी मगरले २८ तथा रञ्जु श्रेष्ठले २३ रनको योगदान दिइन । सो प्रतियोगिताको म्यान अफ द म्याच लुम्बिनीका मनिषा राना घोषित भएका छन् ।
यो जितसँगै लुम्बिनीको तीन खेलबाट एक जित, एक एक हार तथा एक बराबरीसहित तीन अङ्क जोड्दै समूहको दोस्रो स्थानमा छन् । लुम्बिनीसँगको हारका बाबजुद कर्णाली तीन अङ्कको साथ समूहको तेस्रो स्थानमा छन् ।
मधेस प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेस खेलकुद परिषद् तथा नेपाल खेलकुद महासङ्घको संयोजनमा सुरु भएको प्रतियोगितामा सात वटा प्रदेश र दुई वटा विभागीय टिम आर्मी र एपीएफ टिम गरी नौ वटा टिमको सहभागिता छन् । प्रतियोगिता असार १४ गतेसम्म जनकपुरधाम र वीरगन्जमा सञ्चालन हुनेछ ।