© 2026
काठमाडौँ । बागमती सभ्यता एकीकृत विकास समितिले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई पाँच दिनभित्र केन्द्र छोडेर आफ्नै बासस्थानको व्यवस्था गर्न सूचना जारी गरेको छ। समितिले उनीहरूलाई स्व–व्यवस्थामा जान आग्रह गरेको छ।
समितिका अनुसार नेपाल सरकारले पुनर्स्थापना खर्चबापत प्रत्येक परिवारलाई एक पटक २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। त्यसैगरी, मासिक कोठा भाडाका लागि १५ हजार रुपैयाँ र पाँच जनाभन्दा बढी सदस्य भएको परिवारका लागि प्रति सदस्य थप २ हजार रुपैयाँ उपलब्ध गराइने व्यवस्था गरिएको छ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी निर्देशक मच्छेकाजी महर्जनका अनुसार यो भाडा सहयोग तीन महिनासम्म दिइनेछ। त्यसपछि भूमी आयोगमार्फत वास्तविक सुकुम्बासी पहिचान गरी भूमी वितरणको प्रक्रिया अघि बढाइने योजना रहेको उनले बताए।
महर्जनका अनुसार होल्डिङ सेन्टरमा अब स्थायी रूपमा राखिराख्न नसकिने भएकाले पुनर्स्थापना प्रक्रियामा जानु आवश्यक भएको हो। उनले सरकारको निर्देशनअनुसार सबै प्रक्रिया असार १५ भित्र सम्पन्न गर्ने लक्ष्य रहेको समेत जानकारी दिए।
समितिले रकम उपलब्ध गराउनका लागि सुकुम्बासी परिवारलाई आफ्नो बैंक खाता विवरण उपलब्ध गराउन आग्रह गरेको छ। हालसम्म होल्डिङ सेन्टरहरूमा ३ सय ८८ परिवार रहेको जनाइएको छ।