Butwal Today

आवश्यक परे अख्तियारसँग ५ वर्षसम्म पनि सल्लाह गर्न तयार छौं : प्रधानमन्त्री बालेन

७ असार २०८३, आइतबार
अ+
अ-

काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले सरकारी सम्पत्तिको दोहन भएको विषयमा आवश्यक परे त्यसको छानबिन गर्न निहुँ खोज्नुपर्ने अवस्था आए पनि पछि नहट्ने बताएका छन् ।

आइतबार रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले विगतमा भएका अनियमितता र फट्याइँबारे खोजी गर्न आवश्यक परे अख्तियारसँग लामो समयसम्म पनि परामर्श गर्न तयार रहेको बताए ।

उनले भने, “निहुँ खोज्दै गर्दा अख्तियारलाई ५ घण्टा सोधपुछ गर्नुपर्छ, सल्लाह लिनुपर्छ भने ५ घण्टा मात्रै होइन, ५ वर्ष नै अख्तियारलाई राखेर सल्लाह गरिन्छ । हामी नियमभन्दा बाहिर जाँदैनौं ।”

प्रधानमन्त्री शाहले आफ्नो पार्टी विकास र काममा केन्द्रित रहेको दाबी गरे । उनले भने, “हाम्रो पार्टी विकासवादी पार्टी हो । काम गर्ने पार्टी हो । अगाडि बढ्ने पार्टी हो । हामी प्रतिशोध साँध्ने, पुराना–पुराना कुरा लिएर निहुँ खोज्दै बस्ने होइनौं ।”

उनले विकासको यात्रामा अगाडि बढ्ने क्रममा विगतका केही विषयहरूको समीक्षा आवश्यक पर्न सक्ने उल्लेख गर्दै सरकारी सम्पत्तिको दोहन वा अनियमितता भएको पाइए त्यसको खोजी गर्नु जरुरी हुने बताए ।

“निहुँ खोज्नै पर्ने अवस्था आयो भने अगाडि बढ्दै गर्दा खोजिन्छ । विगतका दिनमा केही फट्याइँ भएका छन्, सरकारी सम्पत्तिको दोहन भएको छ भने त्यसबारे खोजी गर्नु आवश्यक छ,” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?