© 2026
काठमाडौँ । हाल कोसी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ भने देशका अन्य भू–भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने अन्य तराई भागमा आंशिक बदली रहेको छ । कोसी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
महाशाखाले आज दिउँसो देशका हिमाली तथा पहाडी भाग र कोसी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहने जनाएको छ । मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा मुख्यतया मौसम सफा रहने अनुमान छ ।
त्यसै गरी, दिउँसो कोसी प्रदेशका हिमाली तथा पहाडी भागका केही तथा बागमती र गण्डकी प्रदेशका हिमाली एवं पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुने सम्भावना छ । कोसी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।
महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो लहरको सम्भावना छ भने बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा तापक्रम बढ्ने सम्भावना छ ।
आज राति कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै कोसी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ । मधेस तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा मुख्यतया मौसम सफा रहने अनुमान गरिएको छ ।
आज राति पनि कोसी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ । कोसी प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशका एक दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ । कोसी प्रदेशका पहाडी तथा तराईका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
महाशाखाले भारी वर्षा, चट्याङ तथा तातो लहरको सम्भावना रहेका स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । साथै महाशाखाका मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन पनि अनुरोध गरिएको छ ।