Butwal Today

बिजनेस प्लान च्यालेन्ज–२०२६ मा बुटवल बहुमुखी क्याम्पस प्रथम

७ असार २०८३, आइतबार
अ+
अ-

बुटवल। क्षितिज इन्टरनेशनल कलेजको आयोजनामा स्टुडेन्ट क्वालिटी सर्कल शनिबार बुटवलमा अन्तर–कलेज (स्नातक तह) ‘बिजनेस प्लान च्यालेन्ज–२०२६’ सम्पन्न भएको छ।

उद्यमशीलता, नवप्रवर्तन र व्यवसायिक सोचको विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा रुपन्देहीका सात वटा कलेजका विद्यार्थी टोलीहरूले आफ्नो व्यवसायिक अवधारणा (बिजनेस आइडिया) प्रस्तुत गरेका थिए। कार्यक्रमको अध्यक्षता स्टुडेन्ट क्वालिटी सर्कलकी संयोजक समीक्षा पाण्डेले गरेकी थिइन् भने प्रमुख अतिथि बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल रहेका थिए।

कार्यक्रममा क्षितिज इन्टरनेशनल कलेजका प्राचार्य डा. सूर्य रानाले स्वागत मन्तव्य व्यक्त गर्दै युवाहरूलाई रोजगारी खोज्ने मात्र नभई रोजगारी सिर्जना गर्ने उद्यमी बन्न प्रेरित गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए। कलेजका अध्यक्ष रामेश्वर श्रेष्ठले विद्यार्थीहरूमा व्यवसायिक नेतृत्व क्षमता विकास गर्न यस्ता कार्यक्रम आवश्यक रहेको उल्लेख गरे।

प्रतियोगिताको मूल्याङ्कन ड्याडिज किचेनका संस्थापक कमलजंग कुँवर, विश्राम वाटिकाकी प्रबन्ध निर्देशक प्रणदा दीक्षित, नेपाल जेसिज इन्टरप्रेनर्स फोरम (NYEF) रुपन्देहीका अध्यक्ष अनिश कसौधन तथा शाइन रेसुङ्गा बैंकका प्रभास राईले गरेका थिए।

सात बटा कलेजहरु मध्ये प्रतिस्पर्धात्मक प्रस्तुतिपछि बुटवल बहुमुखी क्याम्पस प्रथम हुँदै ४० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सफल भयो। त्यसैगरी क्षितिज इन्टरनेशनल कलेज प्रथम उपविजेता बन्दै २५ हजार रुपैयाँ तथा सिद्धार्थ इन्टरनेशनल कलेज द्वितीय उपविजेता बन्दै १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सफल भए।

आयोजकका अनुसार प्रतियोगिताले विद्यार्थीहरूमा नवप्रवर्तन, व्यवसायिक योजना निर्माण तथा प्रस्तुतीकरण सीप विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?