Butwal Today

नापतौल उपकरण नवीकरण सेवा तिलोत्तमाका टोल–टोलमा

४ असार २०८३, बिहीबार
अ+
अ-

तिलोत्तमा ।

तिलोत्तमा नगरपालिका क्षेत्रभित्र व्यवसाय सञ्चालन गर्दै आएका उद्योगी तथा व्यवसायीले प्रयोग गर्ने नापतौलसम्बन्धी उपकरणको नवीकरणलाई सहज बनाउन बिहीबारदेखि विशेष सेवा कार्यक्रम सुरु गरिएको छ ।

तिलोत्तमा व्यापार संघको आयोजनामा सञ्चालन भएको कार्यक्रमअन्तर्गत व्यवसायीले प्रयोग गर्दै आएका तराजु, डिजिटल स्केललगायत नापतौलका उपकरणको नवीकरण तथा आवश्यक प्रक्रिया स्थानीय स्तरमै सम्पन्न गरिनेछ । यसका लागि नापतौल कार्यालय बुटवलको प्राविधिक टोली विभिन्न स्थानमा पुगेर सेवा प्रदान गरिरहेको संघले जनाएको छ ।

व्यवसायीलाई कार्यालय धाउनुपर्ने झन्झट हटाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेका अनुसार सेवा तीन दिनसम्म विभिन्न स्थानमा सञ्चालन हुनेछ ।

कार्यक्रमको पहिलो दिन बिहीबार शंकरनगरस्थित रेडिसन होटलमा वडा नम्बर १, २, ३ र ४ का व्यवसायीलाई सेवा प्रदान गरिएको छ । त्यसैगरी असार ५ गते कोटिहवा चोकमा वडा नम्बर १३, १४, १५, १६ र  १७ का व्यवसायीलाई सेवा दिइनेछ । असार ८ गते तिलोत्तमा व्यापार संघको सभाहलमा वडा नम्बर ५, ६, ७, ८, ९, १०, ११ र १२ सहित छुटेका अन्य वडाका व्यवसायीलाई सेवा उपलब्ध गराइने जनाइएको छ ।

बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने उक्त सेवाबाट नगरभित्रका उद्योगी तथा व्यवसायी लाभान्वित हुने अपेक्षा गरिएको छ । तिलोत्तमा व्यापार संघले सम्बन्धित सबै व्यवसायीलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित भई सेवाको लाभ लिन आग्रह गरेको छ ।

बिहीबार पहिलो दिन संघका अध्यक्ष नेत्रप्रसाद न्यौपाने, संस्थापक अध्यक्ष जेपी कंडेल, निवर्तमान अध्यक्ष बाबुलाल भुसाल, प्रथम उपाध्यक्ष मानबहादुर बर्मा, महासचिव चेतनारायण विश्वकर्मालगायत संघका पदाधिकारी तथा सदस्यहरु एवं चारवटा वडाका विभिन्न व्यवसायीहरुको उल्लेख्य सहभागिता थियो ।

नापतौल कार्यालय बुटवलका निरीक्षक गुरुप्रसाद पोखरेलले अहिले तिलोत्तमाका विभिन्न वडाहरुमा पुगेर सेवा प्रदान गरिने र बिस्तारै यसलाई अन्य क्षेत्रमा पनि लगिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?