© 2026
बुटवल । बिहान १० बजेको थियो । सूर्यको राप बढ्दो अवस्था । रुखको छहारीको साहरामा रूपन्देही तिलोत्तमा नगरपालिका–१६ चेहुलीका डोल बहादुर आले सडक डिभिजन कार्यालय बुटवलको कम्पाण्ड वाल (भित्ता) मा पेन्टीङमा व्यस्त थिए ।
उनी वाटर कल मार्फत बुटवलमा वि.सं १९५९ को पुरानो जेलेबी बनाउने भाडाको चित्र भित्तामा उतार्न व्यस्त थिए । समूहमा दर्जनौ चित्र बनाएका उनले यहां २ वटा चित्र बनाएका छन् –कर्णेल उजिरसिंह र जेलेबी बनाउने भाँडा ।
तीन दिन देखि घाम पानी नभनी यही वालमा आफ्नो कला प्रस्तुतिमा छन् कलाकार आले । उनमा सानैदेखि पेन्टिङ गर्ने शोख थियो । ९ वर्षदेखि व्यावसायिक रूपमै उनले यस क्षेत्रमा हात हालेका हुन ।
उनी भन्छन्– “म सानैदेखि चित्र पेन्टिङ गर्न निकै रुचाउँथे, त्यसैले मलाई कला क्षेत्रमा डोहो¥याएको हुनु पर्छ ।” ९ वर्षको कलाकारिता क्षेत्रमा उनले धेरै वाही वाही पाएका छन् । थाङका चित्रकला, क्यानभास पेन्टिङमा पोख्त उनी हरेक प्रकारको पेन्टिङमा दक्खल राख्छन् ।
“मेहनत पनि निकै गर्नु पर्छ, अहिले त मेहनतको प्रतिफल पनि राम्रै हुन्छ त्यसैले खुसी पनि लाग्छ । यो मेरो रुचिको विषय हो पछि व्यवसायी कता तर्फ मोडियो ।” उनले कलाकारितामा आफ्नो परिचय प्रष्टाए ।

त्यस्तै स्थायी ठेगाना दैलेख भई बुटवलमा २६ वर्ष देखि कलाकारिता क्षेत्रमा योगदान पु¥याउँदै आएका अर्का कलाकार पनि त्यही भेटिए । ५६ वर्षीय टिकाराम वलामी ग्रेटर नेपालको नक्सा भित्तामा सजाउने तयारीमा थिए । “प्राइमरी स्केचको काम सकियो ।
अब यसलाई रङ्ग भर्न लागेको छु ।” उनले भने– “समूहमा पेन्टिङ गर्दा रमाइलो भएको छ घामको कुनै प्रवाह छैन ।” वाटर वेशको कलरमा आकृति राम्रो खुल्ने उनले अनुभव सुनाए । हुन त वाटरकलर पेन्टिङ सहित अक्रेलिक पेन्टिङ, आयत पेन्टिङ, पास्टेल पेन्टिङ, चारकोल पेन्टिङ, फ्रेस्को पेन्टिङ पनि राम्रो पेन्टिङ हो । अहिले डिजिटल पेन्टिङ पनि चर्चामा छ । जुनसुकै माध्यमबाट चित्र बनाए पछि चित्रले दिने सन्देश महत्त्वपूर्ण भएको चित्रकारहरू बताउँछन् ।
बुटवल उप–महानगरपालिकासंगको सहकार्यमा नेपाल व्यावसायिक कलाकार सङ्घ रुपन्देहीमा आबद्ध कलाकारहरूले बुटवल बसपार्क अगाडि बुटवल र समग्र नेपालकै ऐतिहासिक अवस्थाको चित्रण देखाउने गरी पेन्टिङ गरिएको हो ।
बुटवलको ऐतिहासिक पहिचान र संस्कृति झल्काउने उद्देश्यले सोही अनुसारका चित्रहरू भित्तामा कोरिएका छन् । तीन दिन सम्म २१ जना कलाकारहरू भित्तामा चित्र उतार्न व्यस्त छन् । ती मध्ये अधिकांश युवा पुस्ताका कलाकार सक्रिय थिए । आन्तरिक राजश्व कार्यालय देखि राजश्वको सशस्त्र प्रहरी बल क्याम्प सम्मको वालमा बुटवलको संस्कृति र ऐतिहासिक पक्ष झल्किने चित्र कोरिएको हो ।
बुटवल उप–महानगरपालिकासंगको सम्झौता अनुसार १३ सय स्क्वायरफूटमा पेन्टिङ गरिनु पर्ने हो । तर कलाकारहरूले १७ सय स्क्वायरफूट भन्दा बढीमा चित्र बनाएका छन् । “सम्झौता अनुसार १३ सय स्क्वायरफूट हो, तर हामीले धेरै गरेका छौँ, बिचैमा छोड्दा राम्रो देखिएन, त्यसैले हामी आफ्नो तर्फबाट बढाएर बनाएका छौँ”, फिल्डमा भेटिएका संघका सह–सचिव राजु खड्काले भने– “वालमा गरिएको पेन्टिङले बुटवलको ऐतिहासिकता झल्काएको छ भने यहाँ आकर्षण पनि बढाएको छ ।”
कलाकारहरूको सहकार्यमा भित्ते चित्र बनाउनको लागि बुटवल उप–महानगरपालिकाले ५ लाख रुपैयाँ विनियोजन गरेको थियो । यो रकम थोरै भए पनि कलाकारहरूले आफ्नो तर्फबाट पनि योगदान स्वरूप पेन्टिङ गरेका हुन् । “ पैसा ठुलो कुरा होइन, रुपन्देहीमा पनि अब्बल कलाकार छन् भन्ने कुरा पुष्टि गर्न सफल भएका छौँ”, नेपाल व्यावसायिक कलाकार सङ्घ रुपन्देहीका अध्यक्ष दिलीप रसाइलीले भने–“आफ्नो कलाकारिता देखाउन पायौँ, यसमा हामी सन्तुष्ट छौँ ।”
राजधानी बाहिर भित्तामा पेटिङ चित्र बनाएको पहिलो पटक हो । बुटवलको ऐतिहासिक सचित्र भित्तामा प्रदर्शन गर्न पाउँदा कलाकारहरूले तीन दिनको घामपानी बिर्सिएका छन् । उनीहरूले बुटवल उप–महानगरपालिकासंगको सहकार्यमा बुटवलमा पहिलो पटक यस प्रकारको कलाकारिता प्रदर्शन गर्न पाएकोमा खुसी समेत व्यक्त गरेका छन् ।
पेन्टिङ गरिएको स्थानमा बुटवल उपमहानगरपालिकाका सफाइकर्मीले चिटिक्क बनाउन प्रयास गरेका छन् । यद्यपि उक्त स्थानमा इन्टरलक लगाउने कार्य बाँकी रहेकाले सौन्दर्यताको अभाव खड्किएको छ ।
बुटवल सहरलाई सुन्दर बनाउने उद्देश्यले वाल पेन्टिङ गरिएको बुटवल उप–महानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बताए । “यो कलाकारको सम्मान पनि हो । बुटवलको ऐतिहासिक पक्षको उजागर गर्ने अवसर पनि हो”, उनले भने– “कलाकारहरू घामपानी नभनी खट्नु भयो, यसले बसपार्क अगाडिको क्षेत्रमा आकर्षक पनि बनाएको छ ।”
बुटवल उप–महानगरपालिकाले कलाकारिता (भित्ता चित्र) मार्फत बुटवलको सौन्दर्यीकरणलाई समेट्ने नीति अघि सारेको छ । सामुदायिक विद्यालय, स्वास्थ्य केन्द्रहरू, सडकका मुख्य स्थानका वालहरूमा बुटवलको ऐतिहासिकता तथा कला संस्कृति झल्काउने चित्रहरू बनाउने योजना रहेको नगरप्रमुख पाण्डेले बताए । “आगामी बजेटमा समेटेर जाने गरी कार्यक्रम बनाएका छौँ”, उनले भने– “वडा र टोल स्तरमा कसरी लैजान सकिन्छ भन्नेमा छलफल भएको छ ।”
एक सय पुरानो बुटवलको झल्को दिने गरी बनाएका यी चित्रकलाले बुटवलको ऐतिहासिकता मात्र झल्काएको छैन विभिन्न समुदायको रहनसहन र संस्कृतिको पनि उजागर गरेको छ ।
शनिबारदेखि भित्तामा चित्र कोर्न थालिएकोमा सोमबार साँझ सम्म पनि कलाकारहरूले आकृति उतार्न व्यस्त थिए । हाम्रा पुर्खाहरू बटौलीमा नुन लिन आउँदा खाना पकाउँदैको चित्र होस् वा जितगढी किल्लाको चित्र, बसपार्क अगाडि हुँदै हिँड्ने जोसुकै बटुवाले एक पटक नजर लगाएकै हुन्छ यो भित्तामा ।
पुरानो बटौलीमा घिउ खार्दै गरेको, बटौलीको बजार, आदि मानव रामापिथेकस, अङ्ग्रेज र नेपाली सेनाको लडाइँको चित्र, मणिमुकुन्दसेनको भग्नावशेष दरवार आदि चित्रमा उतारिएको छ ।