अर्घाखाँची । अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रमा आज बालबालिकालाई स्वर्ण विन्दु प्राशन गराइएको छ ।
आयुर्वेद केन्द्रमा १ वर्ष देखि ५ वर्ष उमेर समूहका बालबालिकालाई स्वर्ण विन्दु प्राशन गराइएको हो। यो पुष्य नक्षत्र को दिन खुवाउने परम्परा छ। पुष्य नक्षत्र करिब हरेक २७–२८ दिनमा एक पटक पर्छ र आयुर्वेदमा यसलाई औषधि सेवनका लागि शुभ तथा प्रभावकारी मानिन्छ।
आयुर्वेद चिकित्सा पद्धतिअनुसार स्वर्ण विन्दु प्राशनले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न, स्मरण शक्ति तथा बौद्धिक विकासमा सहयोग पुर्याउन र समग्र स्वास्थ्य सुदृढ बनाउन मद्दत गर्ने अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख कमल प्रसाद आचार्यले बताएका छन् । पुष्य नक्षत्रको अवसर पारेर यो कार्यक्रम सञ्चालन गरिँदै आएको केन्द्रले जनाएको छ।
अभिभावकहरूले आयुर्वेदिक उपचार तथा स्वास्थ्य प्रवर्द्धनका यस्ता कार्यक्रम बालबालिकाका लागि उपयोगी रहेको बताएका छन्। स्वास्थ्य केन्द्रका आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको उपस्थितिमा बालबालिकालाई सुरक्षित रूपमा स्वर्ण विन्दु प्राशन गराइएको थियो।
केन्द्रका अनुसार आयुर्वेदप्रति नागरिकको आकर्षण बढ्दै गएको छ भने बालबालिकाको स्वास्थ्य प्रवर्द्धनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ। स्वर्ण विन्दु प्राशन कार्यक्रमले बालबालिकामा सकारात्मक स्वास्थ्य व्यवहार विकास गर्न तथा आयुर्वेदिक सेवाप्रति जनचासो बढाउन महत्त्वपूर्ण भूमिका खेलेको विश्वास गरिएको छ।