© 2026
बुटवल । नेपाली कम्युनिष्ट आन्दोलनमा करिब ४८ वर्षदेखि सक्रिय रहँदै आएका एक वरिष्ठ नेताले स्वास्थ्य समस्याका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन् ।
बिहीबार सार्वजनिक गरिएको वक्तव्यमा उनले नेकपा चौथो महाधिवेशन, नेकपा मशाल, नेकपा एकता केन्द्र, नेकपा (माओवादी), एनेकपा माओवादी, नेकपा माओवादी केन्द्र हुँदै हाल नेपाली कम्युनिष्ट पार्टीसम्मको लामो राजनीतिक यात्रामा पार्टी, आन्दोलन, देश र जनताको सेवामा आफ्नो जीवनको महत्त्वपूर्ण समय समर्पित गरेको उल्लेख गरेका छन् ।
उनले आफू केही वर्ष यता (एट्रोफी) सम्बन्धी रोगबाट पीडित रहेको र नियमित उपचार, थेरापी तथा औषधि सेवन गरिरहे पनि स्वास्थ्य अवस्थाले साथ दिन नसकेकाले पार्टीका जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न कठिन भएको बताएका छन् ।
सोही कारणले आजकै मितिदेखि पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्यका रूपमा मात्रै रहने निर्णय गरेको जानकारी उनले विज्ञप्ति मार्फत दिएका छन्। उक्त निर्णय कुनै असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यात्मक परिस्थितिको परिणाम भएको उनको भनाइ छ।
वक्तव्यमा उनले पार्टी जीवनका सङ्घर्ष, नेतृत्व निर्माण तथा नेपालको राष्ट्रिय स्वाधीनताको सवालमा आफू सदैव इमानदार र प्रतिबद्ध रहेको उल्लेख गर्दै शरीर कमजोर भए पनि देशप्रतिको चिन्ता, जनताप्रतिको माया र समृद्ध नेपालको सपना अन्तिम श्वाससम्म जीवित रहने बताएका छन्।
उनले नयाँ पुस्ताका युवाहरूले देशलाई अझ समृद्ध, आत्मनिर्भर र सम्मानित राष्ट्रका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गर्दै उनीहरूको सफलतामै आफ्नो पुस्ताको सङ्घर्ष र योगदानको सार्थकता रहने बताएका छन्।
लामो राजनीतिक यात्राका क्रममा साथ, सहयोग, सद्भाव र विश्वास प्रदान गर्ने सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायप्रति उनले हार्दिक आभार व्यक्त गरेका छन् ।
