Butwal Today

गाडी दुर्घटनाबारे सुस्ता गाउँपालिकाको स्पष्टीकरण: ‘भ्रामक प्रचार नगर्न आग्रह’

१ असार २०८३, सोमबार
अ+
अ-

नवलपरासी। सुस्ता गाउँपालिकाले आफ्नो सवारी साधन दुर्घटनाबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ। गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले आइतबार विज्ञप्ति जारी गर्दै दुर्घटनाको वास्तविक विवरण सार्वजनिक गरेका हुन्।

विज्ञप्तिअनुसार असार २९ गते शुक्रबार कार्यालय प्रमुख र चालक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा कार्यालयकै कामका लागि गाउँपालिकाबाट स्वीकृति लिएर गएको र काम सम्पन्न गरी फर्किने क्रममा सुनवल–१२ क्षेत्रमा पश्चिमतर्फ जाँदै गरेको गाउँपालिकाको गाडी ट्रकसँग ठोक्किँदा दुर्घटना भएको बताइएको छ।

गाउँपालिकाले दुर्घटनामा कुनै मानवीय क्षति नभएको र सवारी साधनको पूर्ण बिमा गरिएको कारण मर्मत सम्भारको खर्च बिमामार्फत व्यवस्थापन हुने जनाएको छ। यसका लागि गाउँपालिकाले कुनै अतिरिक्त आर्थिक भार व्यहोर्नु नपर्ने उल्लेख गरिएको छ।

विज्ञप्तिमा दुर्घटना आकस्मिक र अप्रत्याशित घटना भएको उल्लेख गर्दै घटनालाई लिएर तथ्य नबुझी विभिन्न माध्यमबाट भ्रामक समाचार र टिप्पणी गरिएकोप्रति असन्तुष्टि व्यक्त गरिएको छ। गाउँपालिकाले दुर्घटनापछि सुरक्षाकर्मी तथा ट्राफिक प्रहरीसमक्ष आवश्यक जानकारी र प्रमाण प्रस्तुत गरिएको दाबी गरेको छ।

त्यसै गरी, गाउँपालिकाको एक मात्र सवारी साधन अध्यक्षसहित कर्मचारी र योजनाको अनुगमनजस्ता कार्यालय प्रयोजनका लागि प्रयोग हुँदै आएको जनाइएको छ। व्यक्तिगत प्रयोजनका लागि सवारी साधन प्रयोग नगरिएको दाबी गर्दै स्थानीय वासीलाई अपुष्ट समाचारको पछि नलाग्न आग्रह गरिएको छ।

गाउँपालिका अध्यक्ष उपाध्यायले विकास निर्माण र सेवा प्रवाहका काममा सकारात्मक सहयोग गर्न तथा कमजोरी भए खबरदारी गर्न नागरिक र सञ्चारमाध्यमलाई अनुरोध गर्दै तथ्यपरक सूचना सम्प्रेषण गर्न आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?