© 2026
बुटवल । मनसुनी वायु भारतको दक्षिणी राज्य केरला आइपुगिसकेको छ। यद्यपि यस वर्ष मनसुनको औपचारिक प्रवेश औसत समयभन्दा तीन दिन ढिला भएको छ। मौसमविद्हरूका अनुसार अहिलेको गतिलाई हेर्दा मनसुन करिब एक साताभित्र नेपाल प्रवेश गर्ने सम्भावना देखिएको छ।
मौसमविद् विनोद पोखरेलका अनुसार मनसुनी वायु मे १६ मै दक्षिणी बंगालको खाडीमा पुगेको थियो। सामान्यतया त्यहाँ पुगेपछि मनसुन क्रमशः उत्तरतर्फ विस्तार हुँदै भारतको केरला र त्यसपछि नेपालतर्फ अघि बढ्ने गर्छ। तर यस वर्ष दक्षिणी बंगालको खाडीमा अपेक्षाकृत चाँडै आइपुगे पनि त्यसपछिको विस्तारको गति सुस्त रहँदा केरला पुग्न ढिलाइ भएको हो।
नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ मानिन्छ। अघिल्लो वर्ष भने मनसुन झण्डै १५ दिनअघि नै नेपाल प्रवेश गरेको थियो। यसपटक भने सामान्य मितिको आसपासमै वा केही ढिलो गरी नेपाल आइपुग्ने संकेत देखिएको मौसमविद्हरूको भनाइ छ।
जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन याममा देशभर औसतभन्दा कम वर्षा हुने सम्भावना रहेको प्रक्षेपण सार्वजनिक गरिसकेको छ। विभागले वर्षासँगै तापक्रम भने औसतभन्दा बढी रहने सम्भावना औँल्याएको छ।
यद्यपि मनसुन सुरु हुनुअघिको प्रि–मनसुन अवधिमा भने उल्लेख्य वर्षा भएको विभागको तथ्यांक छ। विभागका अनुसार प्रि–मनसुन याममा देशभर सरदरभन्दा करिब २६ प्रतिशत बढी वर्षा भएको थियो।
विभागले जेठ १८ गतेदेखि असोज १४ गतेसम्मको अवधिलाई मनसुन यामका रूपमा लिने गरेको छ। विभागका अनुसार हाल मनसुन ऋतु सुरु भइसकेको छ र देशभर सरदर १२ मिलिमिटरभन्दा बढी वर्षा अभिलेख भइरहेको छ।
मौसमविद् पोखरेलका अनुसार असार १५ गतेसम्म नेपालको अधिकांश भूभागमा राम्रै वर्षा हुने सम्भावना रहेको छ।
हाल देशको मौसममा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। यही प्रणालीका कारण देशका विभिन्न भागमा बादल लाग्ने र वर्षा हुने क्रम जारी रहेको मौसमविद्हरू बताउँछन्।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशसहित अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ। तराईका अधिकांश भूभागमा भने मौसम मुख्यतया सफा छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिमका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाको पूर्वानुमान अनुसार शुक्रबार दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने तराईमा आंशिक बदली रहनेछ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।
रातिको समयमा कोशी प्रदेशसहित हिमाली भूभागमा सामान्य बदली रहने, पहाडी क्षेत्र तथा मधेस प्रदेशमा आंशिक बदली रहने र बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी प्रदेशका थोरै स्थान तथा मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ।
मनसुनको प्रतीक्षा भइरहेका बेला तराईका विभिन्न जिल्लामा गर्मीको प्रभाव अझै कायम छ। मौसम पूर्वानुमान महाशाखाले मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा मध्यम तातो लहर चल्न सक्ने जनाएको छ। त्यस्तै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि तापक्रम बढ्ने सम्भावना रहेको छ।
तापक्रम थप बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै विभागले बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी (बर्दघाट–सुस्तापश्चिम), पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लाका बासिन्दालाई आगामी तीन दिन विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
तातो लहरको असरबाट बच्न विभागले दिउँसोको समयमा सकेसम्म घरभित्र वा चिसो स्थानमा बस्न, अनावश्यक रूपमा घाममा बाहिर ननिस्कन, हल्का र सुती कपडा लगाउन, बाहिर जाँदा टोपी वा छाता प्रयोग गर्न तथा पर्याप्त मात्रामा पानी र झोल पदार्थ सेवन गर्न सुझाव दिएको छ।
नेपालमा मनसुन प्रवेशको औपचारिक घोषणा हुन अझै केही दिन बाँकी भए पनि मनसुनी वायु क्रमशः उत्तरतर्फ सक्रिय भइरहेकाले आगामी दिनमा मौसम थप परिवर्तनशील बन्ने संकेत देखिएको छ। एकातिर वर्षाको सम्भावना बढ्दै जाँदा अर्कोतर्फ तराई क्षेत्रमा गर्मी र तातो लहरको जोखिम अझै कायम रहेकाले मौसमसम्बन्धी सूचनामा नियमित ध्यान दिन विज्ञहरूले आग्रह गरेका छन्।