© 2026
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलहरूले लगातार विरोध जनाएपछि बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।
निर्धारित समयभन्दा तीन घण्टा ढिलो गरेर सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षीलगायतका विपक्षी दलले राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका विषयमा कुनै पनि सम्झौता हुन नसक्ने उल्लेख गर्दै प्रधानमन्त्रीले आफ्नो धारणा फिर्ता लिनुपर्ने धारणा राखेका थिए ।
सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलहरूलाई कार्यसूचीमा प्रवेश गरेर सहयोग गर्न पटक पटक आग्रह गरेका थिए । बजेटलगायतका महत्त्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भएकाले आसन ग्रहण गरी बैठक सञ्चालनमा सहयोग गर्न उनले अनुरोध गरे ।
विपक्षी दलका सांसदहरूले सभामुखको आग्रहलाई अस्वीकार गर्दै विरोध निरन्तर राखेपछि बैठक यही जेठ २५ गते सोमबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।
आजको बैठकमा सभामुख अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाए ।
त्यसअघि नेपाली काँग्रेसका सांसद अभिषेकप्रसाद साहले नेपाल–भारत सीमाका सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाहले सदनमा राखेको धारणा पुष्टि गर्न आग्रह गरे । उनले नेपाली काँग्रेसका तर्फबाट सो सम्बन्धमा सदनमा विरोध दर्ज गराइएको जानकारी दिए ।
श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले देशको सार्वभौमसत्ता, अखण्डता जोगाउने सम्बन्धमा सबै सांसदहरूको समान धारणा रहेको उल्लेख गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुश्बु ओलीले प्रधानमन्त्री व्यक्ति नभई संस्था भएकाले त्यस्तो निकायबाट गलत धारणा आउनु आफैमा ग्राह्य नभएको तर्क गरिन । देशको सीमा, सार्वभौमसत्ता, अखण्डताका विषयमा सम्झौता हुन नसक्ने उनको भनाइ थियो ।
नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले प्रधानमन्त्री राष्ट्रको अभिभावक भएकाले सीमाका सम्बन्धमा दिनुभएको वक्तव्य तथ्यमा आधारित हुनुपर्नेमा जोड दिए । आफूहरू संसद् सहज ढङ्गले चलोस् भन्नेमा प्रष्ट रहेको उल्लेख गर्दै उनले सो सम्बन्धमा सत्तापक्षको धारणा सार्वजनिक गर्न माग गरे ।
नेपाली कम्युनिष्ट पार्टी (एमाले) का सांसद गणेशसिंह ठगुन्नाले सीमा विवाद र अतिक्रमणका विषय फरक फरक विषय भएको बताए । देशको भौगोलिक अखण्डता र सार्वभौमसत्ताका विषयमा कोही कसैसँग सम्झौता हुन नसक्ने उनको भनाइ थियो ।
आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘आर्थिक वर्ष २०८३र८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियो ।