Butwal Today

पूर्वाधार मन्त्री लम्सालद्वारा सेती पुल निरीक्षण

१८ जेष्ठ २०८३, सोमबार
अ+
अ-

कास्की ।  पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पोखरा पृथ्वीचोकस्थित सेती नदीमाथि निर्माणाधीन सेती पुलको आज निरीक्षण गरेका छन् ।

सो अवसरमा मन्त्री लम्सालले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, आयोजना प्रमुख कुँवर, निर्माण कम्पनी, परामर्शदाता लगायतसँग पुल निर्माणमा विलम्ब नगर्न र समस्या भए समाधान गरेर अघि बढ्न निर्देशन दिए ।

मन्त्री लम्सालले पछिल्लो पटक थप गरिएको समयावधि आगामी फागुन २१ गतेभित्रै काम सम्पन्न गर्न निर्देशनसमेत दिए । “काममा केही समस्या भए जानकारी गराउनु, पूर्वाधार निर्माण तोकिएको समयमै सकिनुपर्दछ । ढिला सुस्ती हुनुहुँदैन । अब तोकिएको समयभित्रमै काम गर्नुहोला ।”

यसअघि मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्ड आयोजना प्रमुख कृष्णबहादुर कुँवरले निर्माणाधीन पुलको हालसम्म भौतिक र वित्तीय प्रगति तथा आयोजनामा देखिएका समस्याबारे उनलाई जानकारी गराएका थिए ।

मन्त्री लम्सालसँगै अनुगमनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडगराज पौडेल सहभागी थिए ।

सेती नदीको उत्तरतर्फका केही जग्गाधनी तथा व्यवसायीलाई सडकबाट एसियाली विकास बैङ्कको नीतिअनुसार सडक पहुँच दिनुपर्ने कारणले दुई वटा घर भत्काउनु परेको र यसको क्षतिपूर्ति दिनुपर्नेलगायत विषयमा सहमति जुटाउन लामो समय लागेकाले आयोजना केही ढिलाइ भएको प्रमुख कुँवरले जानकारी गराए ।

क्षतिपूर्तिको विषय प्रशासनबाट टुङ्गो लागिसकेकाले अब काममा ढिलाइ नहुने जानकारी दिँदै आयोजना प्रमुख कुँवरले हालसम्म पुलको ६० प्रतिशत भौतिक प्रगति र वित्तीय प्रगति ५५ प्रतिशत भएको जानकारी गराए ।

विसं २०७९ साउन २६ गतेदेखि निर्माण सुरु गरिएको उक्त पुलको लागत रु एक अर्ब सात करोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?