Butwal Today

सङ्घीय बजेटमा लुम्बिनी: कुन कुन आयोजना परे प्राथमिकतामा ?

१७ जेष्ठ २०८३, आइतबार
अ+
अ-

भैरहवा । सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको बजेटमा लुम्बिनी प्रदेशका सडक, सिँचाइ, पर्यटन, उद्योग तथा ऊर्जा क्षेत्रका महत्त्वपूर्ण आयोजनालाई प्राथमिकतामा राखेको छ ।

विशेष गरी लामो समयदेखि बहु प्रतीक्षित सिद्ध बाबा सुरुङ मार्ग चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने घोषणा भएपछि प्रदेशवासी उत्साहित बनेका छन् ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै सिद्धार्थ राजमार्गअन्तर्गत निर्माणाधीन सिद्ध बाबा सुरुङ मार्ग यही आर्थिक वर्षभित्र सञ्चालनमा ल्याइने घोषणा गर्नुभयो । पहिरोको उच्च जोखिमका कारण वर्षौँदेखि यात्रुले सास्ती खेप्दै आएको सिद्ध बाबा क्षेत्रमा सुरुङ मार्ग सञ्चालनमा आएपछि बुटवल–पाल्पा–पोखरा सडक यात्रालाई सुरक्षित र सहज बनाउने अपेक्षा गरिएको छ ।

बजेटमा सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पोखरा खण्डलाई द्रुतमार्गका रूपमा विकास गर्ने प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ । त्यस्तै बुटवल–नारायणगढ सडक निर्माण चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने, बुटवल–गोरुसिङ्गे सडक निर्माणलाई तीव्रता दिने तथा दाङको धानखोला–लमही सडक स्तरोन्नति गर्ने घोषणा गरिएको छ । चन्द्रौटा–धानखोला सडक स्तरोन्नतिको अध्ययनसमेत गरिने भएको छ ।

पर्यटन क्षेत्रतर्फ सरकारले बृहत्तर लुम्बिनी क्षेत्रको एकीकृत विकासका लागि ८३ करोड रुपियाँ विनियोजन गरेको छ । बुद्ध जन्मस्थल लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदहलाई समेटेर एकीकृत पर्यटन विकास कार्यक्रम सञ्चालन गरिनेछ । साथै कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन आवश्यक पहल गरिने बजेटमा उल्लेख छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन तथा व्यवस्थापनका लागि निजी क्षेत्रसँग सहकार्य गरिने सरकारको घोषणा पनि लुम्बिनी प्रदेशका लागि महत्त्वपूर्ण मानिएको छ ।

लामो समयदेखि अपेक्षित यात्रु र उडान वृद्धि हुन नसकेको अवस्थामा विमानस्थल सञ्चालनलाई व्यावसायिक र प्रभावकारी बनाउने लक्ष्य लिइएको छ । दाङको टरीगाउँ विमानस्थल स्तरोन्नति गर्ने योजना पनि बजेटमा समेटिएको छ ।

औद्योगिक क्षेत्रको विकासका लागि रूपन्देहीस्थित मोतिपुर औद्योगिक क्षेत्र र मयूरधाप औद्योगिक क्षेत्रको निर्माण तथा सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने घोषणा गरिएको छ ।

कृषि उत्पादन वृद्धिका लागि सिँचाइ क्षेत्रलाई समेत बजेटले उच्च प्राथमिकता दिएको छ । बाँकेको सिक्टा सिँचाइ आयोजनाअन्तर्गत थप पाँच हजार हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गर्न दुई अर्ब ५५ करोड रुपियाँ विनियोजन गरिएको छ । दाङको बृहत् दाङ उपत्यका सिँचाइ आयोजना तथा प्रगन्ना–बढ्कापथ सिँचाइ आयोजनामार्फत थप दुई हजार तीन सय ८० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गर्न एक अर्ब २१ करोड रुपियाँ छुट्याइएको छ ।

त्यस्तै बर्दियाको राजापुर सिँचाइ आयोजना पुनः स्थापना गरिने भएको छ भने नौमुरे जलविद्युत आयोजनाबाट कपिलवस्तु क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्ने सम्भावनाबारे थप अध्ययन गरिने जनाइएको छ । कपिलवस्तुको वाणगङ्गा सिँचाइ आयोजनाको पुनः स्थापना तथा मर्मत कार्यसमेत अघि बढाइने भएको छ ।

पर्यटन प्रवर्द्धनका लागि स्वर्गद्वारी र रुरु क्षेत्रलाई थप आकर्षक गन्तव्यका रूपमा विकास गरिने तथा स्वर्गद्वारी–मुक्तिनाथ उच्च पर्यटकीय मार्ग निर्माणको अवधारणा अघि सारिएको छ । भैरहवामा निर्माणाधीन एकीकृत जाँच चौकी (आईसीपी) लाई यथाशीघ्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य पनि सरकारले राखेको छ ।

ऊर्जा क्षेत्रतर्फ न्यू बुटवल प्रसारण लाइन निर्माणलाई तीव्रता दिइने तथा अन्तरदेशीय बुटवल–गोरखपुर प्रसारण लाइन निर्माण कार्यलाई समेत गति दिइने भएको छ । खेलकुद पूर्वाधारअन्तर्गत बुटवल रङ्गशालालाई फ्लडलाइटसहित स्तरोन्नति गर्ने घोषणा पनि बजेटमा समावेश गरिएको छ ।
बजेटप्रति प्रतिक्रिया दिँदै लुम्बिनी प्रदेशका अर्थमन्त्री धनेन्द्र कार्कीले सङ्घीय बजेट समग्रमा सकारात्मक रहेको बताए  । केही क्षेत्रमा कर छुट तथा आयस्रोत विस्तारका प्रयास गरिएको उल्लेख गर्दै उनले बजेटको प्रभावकारिता कार्यान्वयनमा निर्भर रहने धारणा व्यक्त गरे ।

उनले लुम्बिनी प्रदेशका केही महत्त्वपूर्ण आयोजनाले संघीय बजेटमा स्थान पाएको उल्लेख गर्दै छुटेका अन्य योजनालाई आगामी प्रदेश बजेटमार्फत सम्बोधन गरिने बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?