Butwal Today

बुटवलकी योग–आमा

बुटवलकी विष्णुमाया श्रेष्ठले ६ दशक उमेर पार गरिसक्दा पनि थकान नमानी सङ्गीत र योगको अनौठो सङ्गमद्वारा सयौँको जीवन बदल्दै छिन् ।
१५ जेष्ठ २०८३, शुक्रबार
अ+
अ-

बुटवल  । बुटवलको लक्ष्मी नगरकी विष्णुमाया श्रेष्ठले ६ दशक उमेर पार गरिसकेकी छन् । लामो समय शिक्षण पेसामा सक्रिय रहेकी श्रेष्ठ अहिले भने योगाभ्यास र ध्यानमार्फत समाजमा छुट्टै पहिचान बनाउन सफल भएकी छन् ।

उमेरसँगै बढ्ने शारीरिक समस्या न्यूनीकरण गर्न योग र ध्यान अत्यावश्यक हुने विश्वासका साथ उनी पछिल्लो समय पूर्ण रूपमा योग अभियानमा सक्रिय छन् ।

२०७७ सालमा विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ महामारीको समयमा स्वास्थ्य सुरक्षाका लागि प्राकृतिक उपचार पद्धति र रोग प्रतिरोधात्मक क्षमताबारे व्यापक चर्चा भएको थियो । त्यही समयमा चिकित्सकहरूले प्राकृतिक जीवनशैली, योग र ध्यानले शरीरलाई मजबुत बनाउन सहयोग गर्ने सुझाव दिएको कुरा सुनेपछि श्रेष्ठको योगप्रतिको रुचि अझ गहिरिएको बताइन्छ ।

कोभिड महामारीको बेला सडक सुनसान थियो, सामाजिक दूरी अनिवार्य थियो, मास्क र स्यानिटाइजर जीवनको अभिन्न हिस्सा बनेका थिए । त्यही असहज समयमा पनि विष्णुमाया श्रेष्ठले आफ्नै घर अगाडिको खाली चौरबाट योग अभ्यास सुरु गरिन् ।

सुरुवात निकै सामान्य थियो–घरमै रहेको स्पिकर र मोबाइल फोनको सहायताले सङ्गीत बजाएर चार जना सहभागीबाट सुरु भएको योग अभ्यास बिस्तारै समुदायमा फैलिँदै गयो । उनी भन्छिन्, “त्यो बेला सबै डर र असहजतामा थिए, तर योगले हामीलाई मानसिक शान्ति र सकारात्मक ऊर्जा दियो ।”

समयसँगै सहभागी सङ्ख्या बढ्दै गयो । घर अगाडिको सानो चौर पर्याप्त नभएपछि अभ्यास विभिन्न खुला स्थानमा विस्तार भयो । तीन दशकभन्दा बढी समय विद्यालय शिक्षणमा बिताएकी श्रेष्ठको जीवनशैली अहिले पूर्ण रूपमा बदलिएको छ । विगतमा बालबालिकालाई किताबी ज्ञान दिने उनी अहिले अभिभावकदेखि वृद्धसम्मलाई योगमार्फत स्वस्थ जीवनको सन्देश दिइरहेकी छन् ।

उनका श्रीमान् ठकबहादुर श्रेष्ठ पनि यस अभियानमा सक्रिय साथ दिइरहेका छन् । उनले पत्नीको कामलाई प्रशंसा मात्र होइन, आवश्यक सहयोग पनि गर्दै आएका छन् । “विष्णुमायाको यो अभियानले धेरैको जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ,” उनले बताए ।

विष्णुमाया श्रेष्ठले सुरु गरेको योग अभ्यास केवल शारीरिक अभ्यासमा सीमित छैन, यो सङ्गीतसँग जोडिएको ‘सङ्गीतमय योग’ हो । सङ्गीतको तालमा गरिने अभ्यासले मानसिक तनाव घटाउन, ध्यान केन्द्रित गर्न र शारीरिक सन्तुलन कायम गर्न सहयोग गर्ने सहभागीहरूको अनुभव छ ।

सुरुवातमा सानो स्पिकर प्रयोग भए पनि सहभागी बढ्दै जाँदा ठुलो स्पिकर जडान गरियो । अहिले यो अभ्यासले बुटवलका विभिन्न स्थानमा शाखा विस्तार गरिसकेको छ ।

लक्ष्मीनगरको सानो चौरबाट सुरु भएको योग अभियान अहिले बुटवल र आसपासका धेरै स्थानमा विस्तार भएको छ । सिद्धेश्वर माध्यमिक विद्यालयको मैदान, वाणिज्य क्याम्पस परिसर, फूलबारी, रानीगञ्ज, बहुमुखी क्याम्पस क्षेत्र, तिलोत्तमाको वनबाटिका, योगीकुटीको शीतलचौतारी, भलुही, बेलबास र मणिग्रामसम्म यो अभियान फैलिएको छ ।

त्यसै गरी बालबालिकालाई लक्षित गर्दै दीप बोर्डिङ र न्यू होराइजन विद्यालयमा समेत योग अभ्यास सुरु गरिएको छ । श्रेष्ठका अनुसार अहिले यस अभियानमा १४ जना प्रशिक्षक तयार भइसकेका छन्, जसले विभिन्न स्थानमा नियमित रूपमा योग प्रशिक्षण दिइरहेका छन् ।

सहभागीहरूको जीवनमा देखिएको परिवर्तन
योग अभ्यासमा सहभागी भएकाहरूले आफ्नो स्वास्थ्यमा उल्लेखनीय सुधार आएको अनुभव सुनाएका छन् । नशा र हाडजोर्नीको समस्या भएका व्यक्तिहरूले नियमित योगपछि दुखाइमा कमी आएको बताएका छन् ।

देवीनगरकी गीता नेपालले चिकित्सकको सल्लाहअनुसार औषधी सेवन गर्दा पनि नियन्त्रणमा नआएको उच्च रक्तचाप योगपछि सन्तुलनमा आएको बताइन् । उनले योगलाई आफ्नो जीवनको अनिवार्य हिस्सा बनाएकी छन् ।

त्यस्तै, ५० वर्षीय विनोद आचार्यले योग सुरु गरेपछि ढाड दुख्ने समस्या घटेको र शरीरमा नयाँ ऊर्जा महसुस भएको बताए । उनी भन्छन्, “बिहान योग नगरी दिन सुरु नै हुँदैन ।”

योग अभियान विस्तार हुँदै गए पनि आवश्यक पूर्वाधार र सहयोग अभाव रहेको प्रशिक्षक श्रेष्ठको गुनासो छ । वर्षा, अत्यधिक चिसो र शीतलहरूका कारण खुला चौरमा अभ्यास गर्न कठिन हुने गरेको छ ।

उनी भन्छिन्, “स्थानीय सरकारले सामान्य ओत लाग्ने संरचना वा दिगो पूर्वाधार निर्माण गरिदिए यो अभियान अझ प्रभावकारी बन्न सक्छ ।” उनका अनुसार उपयुक्त संरचना बनेमा बुटवललाई योग–मैत्री सहरका रूपमा विकास गर्न सकिन्छ ।

श्रेष्ठको नेतृत्वमा अघि बढिरहेको यो योग अभियान नाफामूलक नभई पूर्ण रूपमा सामाजिक सेवा भावनामा आधारित रहेको सहभागीहरूको भनाइ छ । प्रशिक्षकहरू बिहान–बेलुका निःशुल्क सेवा दिँदै समुदायलाई स्वास्थ्यप्रति सचेत गराइरहेका छन् ।

समूहमा बसेर हुने छलफलमार्फत अर्को दिन कुन प्रशिक्षक कहाँ जाने भन्ने योजना बनाइने गरिन्छ, जसले अभियानलाई व्यवस्थित र निरन्तर बनाएको छ ।

विष्णुमाया श्रेष्ठको यो योग अभियान अहिले बुटवलको सामाजिक–स्वास्थ्य क्षेत्रमा उदाहरणीय बनेको छ । शिक्षण पेसाबाट समाजसेवामा रूपान्तरण भएकी श्रेष्ठले उमेरलाई चुनौती दिँदै सयौँ मानिसलाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गरिरहेकी छन् ।

उनको अभियानले योग केवल व्यायाम मात्र नभई जीवनशैली परिवर्तन गर्ने शक्तिशाली माध्यम हो भन्ने सन्देश फैलाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?