Butwal Today

आगामी आर्थिक वर्षको बजेट आज संसद्मा प्रस्तुत हुँदै

१५ जेष्ठ २०८३, शुक्रबार
अ+
अ-

काठमाडौँ । डा. स्वर्णिम वाग्ले ले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन् ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा करिब दुई तिहाइ जनमतसहित गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले आफ्नो पहिलो बजेट ल्याउन लागेको हो ।

अर्थ मन्त्रालयका अनुसार बजेट निर्माणमा पार्टीको निर्वाचन वाचापत्र, सरकार गठनपछि सार्वजनिक गरिएको १०० बुँदे शासकीय सुधार कार्ययोजना तथा सदनमा प्रस्तुत विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तलाई आधार बनाइएको छ । सङ्घीय संसद्का दुवै सदनका सांसदहरूको सुझाव, पार्टीले निर्वाचनका क्रममा व्यक्त गरेका प्रतिबद्धता तथा सरकारको सुशासनसम्बन्धी मार्गचित्रलाई पनि बजेटको मुख्य आधार मानिएको छ ।

नयाँ संविधान जारी भएयता हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा बजेट प्रस्तुत गर्ने परम्पराअनुसार आज दिउँसो ४ बजे सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरी ले जानकारी दिए ।

यसपटकको बजेटलाई थप व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोग ले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ९० अर्ब रुपैयाँ बराबरको बजेट सिलिङ निर्धारण गरेको थियो । सरोकारवाला निकायहरूको राय तथा सुझावलाई बजेटमा पर्याप्त स्थान दिइएको बताइएको छ ।

चालु आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब रुपैयाँको थियो । गत भदौ २३ र २४ गते भएको आन्दोलनपछि गठन भएको सरकारका अर्थमन्त्री रामेश्वर खनाल ले मध्यावधि समीक्षामार्फत बजेटको आकार घटाएर १६ खर्ब ८८ अर्ब रुपैयाँमा सीमित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?