© 2026
बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटास्थित आधारभूत स्वास्थ्य सेवा अस्पतालमा ३८ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भएको प्रकरणले अहिले स्थानीय तहको अस्पताल सञ्चालन, बैङ्किङ प्रणाली र प्रहरी अनुसन्धानमाथि गम्भीर प्रश्न उठाएको छ ।
एक वर्ष अवधिमा १ सय २९ वटा भौचरमार्फत बैङ्कमा रकम जम्मा गरिएको भनिए पनि बैङ्क खातामा रकम नदेखिएपछि सार्वजनिक भएको घटनामा पाँच जना पक्राउ परिसकेका छन् भने दुई कर्मचारी अझै फरार छन् ।
प्रहरीले सरकारी अस्पतालको रकम नक्कली भौचर बनाएर सङ्गठित रूपमा हिनामिना गरिएको आशङ्कामा अनुसन्धान अघि बढाएको जनाएको छ । तर बैङ्कले आफ्ना कर्मचारीको संलग्नता अस्वीकार गर्दै सम्पूर्ण भौचर नक्कली भएको दाबी गरेको छ ।
अर्कोतर्फ शिवराज नगरपालिका र सरोकारवालाले फरार मुख्य आरोपितको खोजीमा प्रहरी गम्भीर नदेखिएको आरोप लगाएका छन् ।
लेखा परीक्षणबाट खुल्यो ३८ लाख गायब भएको तथ्य
गत आर्थिक वर्ष ०८१/८२ को लेखा परीक्षणका क्रममा अस्पतालको नेपाल बैङ्क लिमिटेड चन्द्रौटा शाखामा जम्मा हुनुपर्ने ३८ लाख १९ हजार ७ सय ७० रुपैयाँ बैङ्क स्टेटमेन्टमा नदेखिएपछि आर्थिक अनियमितताको तथ्य बाहिर आएको थियो लेखा परीक्षक लक्ष्मण निरौलाका अनुसार अस्पताल प्रशासनले रकम बैङ्कमा जम्मा गरिएको दाबी गर्दै १ सय २९ वटा भौचर पेस गरेको थियो । तर बैङ्क स्टेटमेन्टमा ती रकमको कुनै अभिलेख नभेटिएपछि रकम असुलउपर गर्नुपर्ने रायसहित प्रतिवेदन तयार गरिएको थियो ।
उक्त रकम २०८१ साउन १४ गतेदेखि २०८२ असार ३१ गतेसम्म विभिन्न मितिमा फरक–फरक व्यक्तिका नाममा बैङ्कमा जम्मा गरिएको उल्लेख छ । तर बैङ्क विवरणमा रकम नदेखिएपछि भौचरको वैधतामाथि नै प्रश्न उठेको हो ।
घटना सार्वजनिक भएपछि वैशाख ४ गते शिवराज नगरपालिकाले वडा प्रहरी कार्यालय चन्द्रौटालाई आर्थिक हिनामिना तथा किर्ते भौचरबारे अनुसन्धान गर्न पत्राचार गरेको थियो । तर नगरपालिकाको पत्र सूचनामूलक मात्रै भएको भन्दै प्रहरी तत्काल सक्रिय भएन ।
एक महिनासम्म अनुसन्धान प्रक्रिया प्रभावकारी रूपमा अघि नबढेपछि शिवराज नगरपालिकाको कार्यपालिका बैठकले किटानी जाहेरी दिने निर्णय गरेको थियो। अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. ५ का अध्यक्ष नेत्रप्रसाद बेल्बासेले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमित पाण्डे, तत्कालीन प्रशासन प्रमुख वीरेन्द्र मिश्र, फार्मेसिस्ट लक्ष्मण रिमाल र रुक्साना खातुनविरुद्ध किटानी जाहेरी दिएका थिए ।
जाहेरी दर्ता भएसँगै प्रहरीले महाराजगन्ज नगरपालिका–१ घर भएका डा. अमित पाण्डे र शिवराज–५ निवासी फार्मेसिस्ट रुक्साना खातुनलाई पक्राउ गरेको थियो । पछि अनुसन्धानका क्रममा केहि शंका फेला परेको भन्दै प्रहरीले शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चूडामणि भट्टराई, नेपाल बैङ्क लिमिटेड चन्द्रौटा शाखाका क्यासियर कमलप्रसाद भण्डारी तथा बैङ्क कर्मचारी विक्रम केसीलाई पनि पक्राउ गरको थियो ।
हाल पाँचै जनामाथि ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । जिल्ला अदालत कपिलवस्तुबाट पहले सात दिनको म्याद थप गरेर अनुसन्धान गरिने भनिए पनि फेरि ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको तौलिहवा प्रहरी कार्यालयका सूचना अधिकारिले बताए । तर घटनाका मुख्य आशंकित मानिएका तत्कालीन प्रशासन प्रमुख वीरेन्द्र मिश्र र फार्मेसिस्ट लक्ष्मण रिजाल भने अझै फरार छन् भने प्रहरीको निष्क्रियता कायम देखिन्छ ।
बैङ्कको दाबी: “भौचर नक्कली, बैंकप्रणालीसँग मेल खाँदैन”
नेपाल बैङ्क लिमिटेड चन्द्रौटा शाखाले भने अस्पताल प्रशासनले बैङ्कलाई दोषारोपण गरेर आफू उम्किन खोजेको दाबी गरेको छ । शाखा प्रमुख रमेश जुगिजुका अनुसार अस्पतालले पेस गरेका १ सय २९ वटै भौचर बैङ्कको आधिकारिक प्रणालीसँग मेल खाँदैनन् ।
बैङ्कका अनुसार भौचरमा प्रयोग गरिएको रबर छाप बैङ्कको आधिकारिक छापभन्दा फरक छ । रकम बुझ्ने कर्मचारीको हस्ताक्षर नक्कली देखिएको छ । जम्मा गर्ने व्यक्ति र रकम बुझिलिने व्यक्तिको हस्ताक्षर उस्तै प्रकृतिको देखिन्छ ।
चन्द्रौटा शाखाको आधिकारिक अल्फाबेट कोड ‘द्य’ मात्रै प्रयोग हुने भए पनि कतिपय भौचरमा थप गरि ‘द्यथ्’ उल्लेख गरिएको छ । टेलर आईडी र ट्रान्जेक्सन नम्बर बैङ्कको प्रणालीसँग मेल खाँदैनन् । कतिपय भौचरमा त्यति बेला शाखामा कार्यरत नै नभएका कर्मचारीको कोड प्रयोग गरिएको देखिएको छ । कम्प्युटर प्रणालीबाट बन्ने ट्रान्जेक्सन आईडी तथा कर्मचारी क्रमाङ्क नम्बरसमेत बैङ्कको आधिकारिक अभिलेखसँग नमिलेको बैङ्कको भनाइ छ ।
बैङ्क स्रोतका अनुसार केही भौचरमा रकम जम्मा गर्ने व्यक्ति र रकम बुझ्ने कर्मचारीको हस्ताक्षर लगभग एउटै शैलीमा गरिएको देखिन्छ, जसले किर्ते आशङ्कालाई थप बल पु¥याएको छ। नेपाल बैङ्क लिमिटेडको प्रधान कार्यालयले गरेको आन्तरिक छानबिनमा बैङ्क कर्मचारीको कमजोरी नदेखिएको प्रतिवेदन प्रहरीलाई बुझाइएको छ ।
त्यसपछि अनुसन्धानको केन्द्र अस्पताल प्रशासनतर्फ मोडिएको छ तर प्रहरीको खराब नियतका कारण बैकलाई दुख दिएको बैङ्कको दाबी छ । घटनामा पक्राउ परेकामाथि लगातार म्याद थप गर्दै अनुसन्धान भइरहेको भए पनि फरार रहेका मुख्य आरोपितको खोजीमा प्रहरी गम्भीर नदेखिएको आरोप स्थानीयले लगाएका छन् । स्थानीयका अनुसार बैङ्क कर्मचारीलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको भए पनि फरार वीरेन्द्र मिश्र र लक्ष्मण रिजालको खोजीमा प्रभावकारी पहल देखिएको छैन ।
चन्द्रौटा वडा प्रहरी कार्यालयका इन्स्पेक्टर सन्तोष घिमिरेले अनुसन्धान जारी रहेको बताए पनि फरार व्यक्तिबारे खुलाउन नमिल्ने प्रतिक्रिया दिए । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारीले पनि अनुसन्धान कानुनी प्रक्रियाअनुसार भइरहेको छ अन्यको विषयमा बोल्न मिल्दैन उनले भने ।तर स्थानीयवासी भने प्रारम्भिक चरणमै प्रहरी सक्रिय भएको भए घटनाका धेरै प्रमाण सुरक्षित गर्न सकिने बताउँछन् ।
वकिल सहित अस्पतालका कर्मचारी फरार
अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद बेल्बासेले तत्कालीन प्रशासन प्रमुख वीरेन्द्र मिश्र परिवारसहित भारतस्थित वैष्णोदेवी मन्दिर गएको बताएका छन् । उनका अनुसार मिश्र केही समयका लागि बिदा लिएर भारत गएका हुन् ।
तर शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पीताम्बर पाण्डेले भने मिश्रलाई जाहेरी र पक्राउ पुर्जीबारे जानकारी भइसकेपछि मात्रै बिदाको निवेदन आएको बताएका छन् ।
“बिदाको निवेदन आएको थियो, तर स्वीकृत भइसकेको थिएन,” उनले भने, “त्यसपछि उहाँ सम्पर्कविहीन हुनुभयो ।” उनै सञ्चालक समितिका अध्यक्ष बेलवासे भन्छन्, “मिश्र वकिल सहित भ्रमण जानु भएको छ मलाई म्यासेज पनि गर्नु भएको छ तर अनुसन्धानको विषय आफूतिर मोडिने डरले आफूले वाट्स्यापको म्यासेजको कुनै जवाफ दिनुभएको छैन ।”
स्थानीयका अनुसार परिवारसहित नभई कानुनी सल्लाहका लागि छिमेकी वकिलसँग भारततर्फ गएका छन् । प्रहरीको मौनताले पनि मिश्रलाई थप सहज भएको उनीहरूको भनाइ छ । तर उनै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबासे अस्पतालको गतिविधिमा गुमनाम जस्तै छन् ।
शिवराज नगरपालिकाका प्रमुख अजय थापाले अस्पतालको आम्दानी बैङ्क खातामा नदेखिनुले आर्थिक हिनामिना स्पष्ट भएको बताए । उनका अनुसार लेखा परीक्षण प्रतिवेदनपछि कार्यपालिका बैठकले अनुसन्धानका लागि प्रहरीमा मुद्दा दर्ता गर्ने निर्णय गरेको थियो । “शङ्काको घेरामा रहेका सबैले अनुसन्धानमा सहयोग गर्नुपर्छ,” उनले भने । थापाले अस्पतालमा छुट्टै लेखा कर्मचारी नरहेको र स्वास्थ्य शाखा प्रमुखलेनै आर्थिक अभिलेख हेर्दै आएको स्वीकार गरेका छन् ।
उनको यो भनाइले अस्पताल व्यवस्थापन संयन्त्रमै प्रश्न देखिन्छ । घटनाले अस्पतालको आर्थिक निगरानी प्रणालीमाथि गम्भीर प्रश्न खडा गरेको छ । अस्पतालमा हाल २७ कर्मचारी कार्यरत छन् । तीमध्ये ६ जना ज्यालादारी, ५ जना स्थायी र बाँकी करार सेवामा रहेका छन् ।
एक वर्षसम्म लाखौँ रुपैयाँ बराबरको कारोबार हुँदा व्यवस्थापन समिति, नगरपालिका र सम्बन्धित निकाय कसरी बेखबर रहे भन्ने प्रश्न गम्भीर रहेको छ । स्थानीयवासीको अनुसार अस्पताल सञ्चालक समिति र नगरपालिका दुवैले समयमै आर्थिक निगरानी गर्न नसक्दा यति ठुलो रकम हिनामिना हुन पुगेको हो ।
अनुसन्धानमा अर्को चुनौती बैङ्कको सिसिटिभी फुटेज बनेको छ । बैङ्कमा फुटेज ९० दिनसम्म मात्रै सुरक्षित रहने भएकाले एक वर्षअघिका कारोबारको दृश्य प्रमाण फेला पार्न कठिन देखिएको छ ।