Butwal Today

एक्लो मिर्गौला, रित्तो खल्ती

गुल्मीका २० वर्षीय प्रकाश घर्तीको शरीरमा एउटा मात्र मिर्गौला रहेको र त्यसमा पनि गम्भीर समस्या देखिएपछि पाँच वर्षदेखि डायलाइसिसकै भरमा जीवन धानिरहेका छन् । उपचारमा पाँच लाखभन्दा बढी खर्च भइसकेको र आर्थिक स्रोत सकिएको अवस्थामा परिवारले सहयोगीहरूसँग आर्थिक मद्दतको अपिल गरेको छ ।
१२ जेष्ठ २०८३, मंगलवार
अ+
अ-

बुटवल  । गुल्मीको मदाने गाउँपालिकाका प्रकाश घर्ती केही वर्ष अघिसम्म सामान्य युवाजस्तै भविष्यका सपना बुन्दै थिए । गाउँमै खेतीपाती, गाईबस्तु र परिवारसँग साधारण जीवन बिताइरहेका उनले माध्यमिक तहसम्म अध्ययन पूरा गरेका थिए ।

उनका बुबा टेकबहादुर घर्ती भारतमा मजदुरी गर्थे भने आमा प्रेमकुमारी घर्ती गाउँमै खेतीपाती सम्हाल्थिन् । परिवार आर्थिक रूपमा सम्पन्न थिएन, तर एक्ला छोरा प्रकाशप्रति बाबुआमाको ठुलो आशा थियो ।

प्रकाशलाई पनि धेरै युवाजस्तै विदेश गएर राम्रो कमाइ गर्ने रहर थियो । “यहाँभन्दा पर गएर दुःख गर्न सके बाबुआमालाई सुख दिन सकिन्छ कि भन्ने लाग्थ्यो,” उनी सम्झन्छन्, “त्यसैले विदेश जाने निर्णय गरेँ ।” तर उनले देखेको सपना धेरै टाढा पुग्न पाएन ।

वैदेशिक रोजगारीका लागि स्वास्थ्य परीक्षण गर्न पुगेका बेला चिकित्सकले दिएको खबरले उनको जीवन नै बदलिदियो । परीक्षणका क्रममा उनको शरीरमा एउटा मात्र मिर्गौला रहेको र त्यसमा पनि गम्भीर समस्या देखिएको जानकारी दिइयो ।

त्यो क्षण सम्झँदै प्रकाश भन्छन्, “डाक्टरले यस्तो कुरा सुनाउँदा मेरो जीवनमै अन्धकार छायो । एक्कासि आकाश खसेजस्तो भयो । के गर्ने, कसरी बाँच्ने भन्ने केही सोच्न सकिनँ ।” २० वर्षको उमेरमै गम्भीर रोगको सामना गर्नुपर्दा उनी मानसिक रूपमा पनि कमजोर बने । “विदेश गएर कमाउने, बाबुआमाको दुःख हटाउने सपना थियो,” उनले भने, “तर अहिले आफ्नै उपचारका लागि बाबुआमाले दुःख गर्नुपरेको छ ।”

प्रकाशका अनुसार पाँच वर्षदेखि उनको उपचार निरन्तर चलिरहेको छ । नियमित औषधी सेवन र डायलाइसिसकै भरमा उनी जीवन धानिरहेका छन् । शरीरको पीडासँगै आर्थिक अभावले परिवार झन् सङ्कटमा परेको छ । “यो रोग यस्तो रहेछ, निको पार्न पनि सजिलो छैन,” उनी भन्छन्, “एकातिर रोगले गालिरहेको छ, अर्कोतिर परिवारको आर्थिक अवस्था झन् कमजोर हुँदै गएको छ ।”

उनका बुबा टेकबहादुर घर्ती परिवारका एक मात्र कमाउने सदस्य हुन् । भारतमा सामान्य मजदुरी गरेर परिवार चलाउँदै आएका उनी अहिले छोराको उपचारका कारण काममा जान सकेका छैनन् । “म भारत नगए घर चलाउनै गाह्रो हुन्छ,” उनले भने, “तर म कमाउन जाऊँ भने छोरालाई डायलाइसिस गराउन कसले ल्याउने ?”

प्रकाश अहिले बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा रातिको समयमा डायलाइसिस गराउँदै आएका छन् । परिवारका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा नियमित पालो नपाएपछि बाध्य भएर निजी अस्पतालमा उपचार गराउनुपरेको हो । “लुम्बिनी अस्पतालमा दिउँसो डायलाइसिस गर्न पाए आमा पनि ल्याउन सक्नुहुन्थ्यो र म फेरि काममा जान सक्थेँ,” टेकबहादुरले भने, “तर अहिले राति डायलाइसिस गर्नुपरेकाले म आफैँ छोरासँग बस्नुपरेको छ ।”

उपचारका लागि परिवार अहिले सैनामैना–बासगढीमा सस्तो कोठा भाडामा लिएर बसिरहेको छ । “बुटवलमा कोठाभाडा तिर्न सक्ने अवस्था छैन,” टेकबहादुरले भने, “उपचार खर्चसँगै बसोबासको समस्या पनि थपिएको छ ।”

प्रकाश टेकबहादुर र प्रेमकुमारीका एक्ला छोरा हुन् । वृद्धावस्थाको सहारा बन्ने आशा गरेका छोरा गम्भीर रोगबाट पीडित भएपछि बाबुआमाको पीडा झन् गहिरिएको छ । “एक्लो सन्तानलाई यस्तो रोग लाग्दा शत्रुलाई पनि यस्तो नहोस् जस्तो लाग्छ,” टेकबहादुरले भावुक हुँदै भने ।

आमा प्रेमकुमारी घर्तीका अनुसार छोराको उपचारमा हालसम्म पाँच लाख रुपियाँभन्दा बढी खर्च भइसकेको छ । गाउँघर र सहयोगी मनहरूले जुटाइदिएको रकमबाट केही समय उपचार सम्भव भए पनि अहिले त्यो रकम सकिएको छ । “पहिले तीन–तीन महिनामा उपचार गर्नुपथ्र्यो, जसोतसो पैसा जुटाउँथ्यौँ,” उनले भनिन्, “अब त सातामा दुई पटक डायलाइसिस गर्नुपर्छ । एउटा सुईको मात्रै १३ सय रुपियाँ पर्छ ।”

उनका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पाए सुई निःशुल्क पाइने भएकाले केही राहत मिल्ने थियो । “अब त सहयोगमा आएको रकम पनि सकियो,” उनले भनिन्, “कसरी छोराको उपचार गर्ने भन्ने चिन्ताले रातदिन पोलिरहेको छ ।”

आर्थिक अभावका कारण उपचारलाई निरन्तरता दिन कठिन हुँदै गएको परिवार बताउँछ । दैनिक गुजारामै समस्या भइरहेका बेला डायलाइसिस, औषधी, सुई र बसोबासको खर्च धान्न नसक्ने अवस्था आएको छ । “छोराको ज्यान बचाउन डायलाइसिस गराइरहेका छौँ,” टेकबहादुरले भने, “तर अब खर्च धान्ने अवस्था छैन ।”

रोगसँग जुधिरहेका प्रकाश भने अझै बाँच्ने आशा बोकेर बसेका छन् । “म बाँच्न चाहन्छु,” उनले भने, “सबैको सानो सहयोगले मेरो जीवन केही वर्ष लम्बिन सक्छ भन्ने आशा छ ।”

घर्ती परिवारले अहिले सहयोगी मनहरूसँग आर्थिक सहयोगको अपिल गरेको छ । उनीहरूका अनुसार सबैको सानो–सानो सहयोगले एक युवाको जीवन जोगिन सक्छ र वृद्ध बाबुआमाको सहारा टिकाइराख्न मद्दत पुग्न सक्छ ।

उपचार सहयोगका लागि प्रकाशका बुबा टेकबहादुर घर्तीलाई ९८४५५१८६६२ मा सम्पर्क गर्न सकिने परिवारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?