Butwal Today

४ जिपिए ल्याउने विद्यार्थीलाई सन्धिखर्क–२ को नगदसहित सम्मान

५ जेष्ठ २०८३, मंगलवार
अ+
अ-

अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नं. २ ले एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै ४ जिपिए ल्याउन सफल विद्यार्थीलाई सम्मान गरेको छ ।

वडा कार्यालयले आयोजना गरेको विशेष कार्यक्रममा जनज्योति माध्यमिक विद्यालयकी छात्रा विदुषी खड्का, सन्धिखर्क ग्रिन इङ्लिस बोर्डिङ स्कुलकी छात्रा आषिका बन्जाडे तथा अर्घाखाँची आवासीय माध्यमिक विद्यालयका छात्र विशाल थापालाई सम्मान पत्रसहित जनही ५ हजार रुपैयाँ नगद प्रदान गरिएको वडा सचिव विष्णु प्रसाद आचार्यले जानकारी दिए ।

यस वर्ष अर्घाखाँची जिल्लाका ६ वटा विद्यालयबाट ७ जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका थिए । तीमध्ये वडा नं. २ भित्रका ३ विद्यालयका ३ जना विद्यार्थीले उत्कृष्ट सफलता हासिल गरेपछि वडा नं. २ जिल्लामै सबैभन्दा बढी ४ जिपिए ल्याउने विद्यार्थी भएको वडा बनेको छ ।

एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याएर विद्यालयसँगै वडा र जिल्लाकै नाम उजागर गर्न सफल विद्यार्थीको हौसला बढाउन सम्मान गरिएको वडा अध्यक्ष मोतीजंग रायमाझीले बताए ।

सन्धिखर्क नगरपालिकाका प्रवक्ता समेत रहेका रायमाझीले मेहनत, अनुशासन र सही शैक्षिक वातावरणले सफलता सम्भव हुने बताए । उनले आगामी दिनमा पनि शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई वडाले निरन्तर प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अर्घाखाँची आवासीय माविका प्रधानाध्यापक चोपनारायण बन्जाडेले विद्यार्थीको सफलता विद्यालय, अभिभावक र शिक्षकबिचको सहकार्यको प्रतिफल भएको उल्लेख गर्दै यस्ता सम्मान कार्यक्रमले विद्यार्थीमा थप ऊर्जा र आत्मविश्वास बढाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सन्धिखर्क ग्रिन इङ्लिस बोर्डिङका प्रधानाध्यापक टेकबहादुर थापा, जनज्योति माविका शिक्षक रवीन्द्र बहादुर खड्का, वडा सदस्यहरू तथा स्थानीय सरोकारवालाको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?