Butwal Today

प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा सर्वसम्मत

५ जेष्ठ २०८३, मंगलवार
अ+
अ-

काठमाडौं-सङ्घीय संसद्को संयुक्त समितिका सांसदहरूको प्रश्नको उत्तर दिएपछि समितिले प्रधानन्यायाधीशमा मनोजकुमार शर्माको नाम अनुमोदन गरेको छ।

संवैधानिक परिषद्‌ले भावी प्रधानन्यायाधीशमा सिफारिस गरेसँगै तीव्र बहसको केन्द्रमा परेका मनोजकुमार शर्माको नाम सङ्घीय संसद्ले अनुमोदन गरेको छ।

परिषद्ले उनीभन्दा वरिष्ठ तीन न्यायाधीशहरूलाई छाडेर चौथो नम्बरमा रहेका शर्माको नाम सिफारिस गरेको थियो।

सङ्घीय संसद्को संयुक्त सदनको सुनुवाइ समितिका सदस्य आनन्दप्रसाद ढुङ्गानाका अनुसार सर्वसम्मतिमा उक्त निर्णय भएको हो।

“एमाले र नेकपाका सांसदहरू पनि हुनुहुन्थ्यो, अनुमोदनमा हुन्न भन्ने कसैले नभनेपछि सर्वसम्मत निर्णय भएको हो,” ढुङ्गानाले भने, “अब राष्ट्रपति कार्यालयमा पठाउँदै छौँ।” ढुङ्गाना नेपाली कांग्रेसका सांसद हुन्।

समितिले नाम अनुमोदन गरिसकेकाले राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई मङ्गलवार नै प्रधानन्यायाधीश नियुक्त गर्ने र सम्भवतः मङ्गलवार नै उनको शपथ ग्रहण हुन सक्ने ठानिएको छ।

“हामीले पाएको जानकारीअनुसार प्रधानन्याधीशको शपथ ग्रहण आजै हुन्छ,” रास्वपाका सांसद मधुकुमार चौलागाईँले भने।

सर्वोच्च अदालतका प्रवक्ता पाण्डेले भने, “शपथग्रहण भएपछि आजै पदबहाली पनि हुन सक्छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?