Butwal Today

महेशपुर भन्सारमा क्वारेनटाइन नहुँदा कठिनाई

४ जेष्ठ २०८३, सोमबार
अ+
अ-
नवलपरासी । भारतसँग सीमा जोडिएको पश्चिम नवलपरासीस्थित महेशपुर भन्सार क्षेत्रमा आवश्यक क्वारेनटाइन सेवा नहुँदा पशुजन्य तथा कृषिजन्य वस्तुको परीक्षण प्रभावकारी बन्न सकेको छैन।
सम्बन्धित निकायको बेवास्ताका कारण एकातर्फ राजस्व सङ्कलनमा असर परेको छ भने अर्कोतर्फ अस्वस्थ तथा गुणस्तरहीन वस्तु भित्रिने जोखिमसमेत बढ्दै गएको स्थानीयको गुनासो छ।
सीमावर्ती नाकाबाट दैनिक रूपमा पशु चौपाया, तरकारी, फलफूल तथा विभिन्न खाद्यान्न सामग्री भित्रिने गरे पनि परीक्षण र निगरानीको पर्याप्त व्यवस्था नहुँदा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने खतरा बढेको सरोकारवालाहरू बताउँछन्।
क्वारेनटाइन अभावकै कारण कतिपय वस्तु बिना परीक्षण बजारसम्म पुग्ने अवस्था रहेको जनाइएको छ।पछिल्लो समय क्वारेनटाइन चेक पोस्ट निर्माणका लागि कुनै पहल बारे आफ्नो जानकारीमा नभएको भन्सार प्रमुख विकास उपाध्यायले जानकारी दिए। ।”क्वारेनटाइन छैन,कुनै व्यापारीले यो नाका भएर क्वारेन्टिन गर्नु पर्ने सामान ल्याउँछु भन्यो भने नल्याउनुस् भन्नुपर्ने अवस्था छ, खाद्यान्न, फलफूल तरकारी लगायतका सामान आयात हुन नसक्दा राजस्व सनेत गुमेको छ”उपाध्याले भने ।
स्थानीय व्यवसायीका अनुसार व्यवस्थित क्वारेनटाइन नहुँदा वैधानिक प्रक्रियाबाट आयात गर्ने व्यवसायीभन्दा अवैध रूपमा सामान भित्र्याउने समूह सक्रिय हुने गरेका छन्। यसले राज्यलाई प्राप्त हुने राजस्वमा समेत कमी आएको उनीहरूको भनाइ छ। खुला सीमाको फाइदा उठाउँदै चोरी पैठारी बढ्दा सरकारको आम्दानी प्रभावित भइरहेको सरोकारवालाले बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य केशव भण्डारीले विगतमा क्वारेनटाइन निर्माणका लागि जग्गा खरिद गर्ने छलफल भएर प्रक्रिया अघि बढाईए पनि अन्तमा कृषि मन्त्रालयको निष्क्रियताका कारण स्थापना हुन नसकेको बताए ।”निजी क्षेत्र जसले राजस्वमा ८१ प्रतिशत योगदान गर्छौँ तर क्वारेनटाइन निर्माणमा तालुकदार मन्त्रालय नै बाधक बन्यो,यसले आम व्यवसायीलाई निरुत्साहित बनाएको छ”भण्डारीले भने ।भन्सारको स्तरीकरण गर्नु पर्ने आवाज हरू विगत देखि नै उठाउँदै आईए पनि सफल हुन नसकेको भण्डारीले उल्लेख गरे ।
भन्सार प्रमुख उपाध्यायका अनुसार गत आर्थिक वर्षमा कार्यालयले १६ करोड ६६ हजार अर्थात् १०३ प्रतिशत  राजस्व सङ्कलन गरेको थियो ।
कृषि तथा पशु स्वास्थ्यसँग सम्बन्धित जोखिम बढ्दै जाँदा पनि सम्बन्धित निकायले स्थायी क्वारेनटाइन स्थापना तथा जनशक्ति व्यवस्थापनमा चासो नदेखाएको आरोप स्थानीयको छ। सीमा नाकाको संवेदनशीलतालाई मध्यनजर गर्दै तत्काल क्वारेनटाइन सेवा सञ्चालन गर्नुपर्ने माग उठ्दै आए पनि ठोस पहल हुन सकेको छैन ।
महेशपुर भन्सार क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउन आवश्यक पूर्वाधार, प्राविधिक जनशक्ति तथा नियमित निगरानीको व्यवस्था गर्नु पर्ने देखिए पनि सम्बन्धित पक्ष उदासीन देखिएका छन् ।खुला सीमा र चोर नाकाबाट बिषादियुक्त बिना क्वारेनटाइन बस्तु भित्रँदा आम उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड भएको छ ।क्वारेनटाइन निर्माण र भन्सार स्तरोन्नतिका नाममा विभिन्न राजनीतिक दलहरूले जस लिने होडबाजी भने विगत देखि नै चल्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?