Butwal Today

यात्रु भुलाउने ‘सेल्फी स्पट’ 

२ जेष्ठ २०८३, शनिबार
अ+
अ-

बुटवल । कहिलेकाहीँ एउटा सामान्य ठाउँलाई चर्चित बनाउन करोडौँको प्रचार आवश्यक पर्दैन । एउटा आकर्षक भिडियो, केही मन छुने तस्बिर र सामाजिक सञ्जालमा मानिसहरूको निरन्तर साझेदारीले पनि ओझेलमा परेको स्थानलाई देशव्यापी चिनाउन सक्छ ।

अर्घाखाँची र कपिलवस्तुको सिमानामा रहेको ‘शिव भाइरल पहाड’ यसको ताजा उदाहरण बनेको छ । केही वर्ष अघिसम्म यात्रुहरूका लागि यो स्थान पूर्व–पश्चिम महेन्द्र राजमार्ग किनारको सामान्य चट्टानी पहाड मात्रै थियो । अधिकांश यात्रु यहाँबाट गुड्थे, तर रोकिन्नथे ।

आज अवस्था फेरिएको छ । अहिले यहाँ दैनिक सयौँ मानिस पुग्छन् । कोही प्राकृतिक दृश्य अवलोकन गर्न, कोही धार्मिक आस्था प्रकट गर्न, त कोही सामाजिक सञ्जालका लागि तस्बिर र भिडियो बनाउन आउँछन् ।

अर्घाखाँचीको शितगंगा नगरपालिका–११ र कपिलवस्तुको शिवराज नगरपालिका–१ मा फैलिएको यो क्षेत्र अहिले ‘सेल्फी स्पट’ का रूपमा परिचित बन्न थालेको छ । राजमार्ग हुँदै यात्रा गर्ने सवारी साधनहरू यहाँ केही बेर रोकिने क्रम बढेको छ ।

यात्रुहरू चट्टानी बनावट अगाडि उभिएर तस्बिर खिच्छन्, भिडियो बनाउँछन् र सामाजिक सञ्जालमा पोस्ट गर्छन् । यही क्रमले यो पहाडलाई ‘भाइरल’ बनाइदिएको हो । स्थानीयका अनुसार महेन्द्र राजमार्ग विस्तारका क्रममा पहाड काटिएपछि अहिले देखिने अनौठो चट्टानी स्वरूप तयार भएको हो ।

प्राकृतिक रूपमा बनेका तहगत चट्टान, वरिपरिको हरियाली र माथिबाट देखिने राजमार्गको दृश्यले आगन्तुकलाई आकर्षित गर्छ । विशेष गरी सूर्योदय र सूर्यास्तको समयमा यहाँको दृश्य झन् मनमोहक देखिन्छ ।

सामाजिक सञ्जालको प्रभावले ग्रामीण क्षेत्रको पर्यटन प्रवर्द्धन कसरी हुन सक्छ भन्ने उदाहरणका रूपमा पनि ‘शिव भाइरल पहाड’ लाई लिन थालिएको छ । फेसबुक, टिकटक र युट्युबमा यहाँका भिडियोहरू व्यापक रूपमा फैलिन थालेपछि मानिसहरू प्रत्यक्ष पुगेर अनुभव लिन उत्सुक भएका छन् ।

स्थानीय रोन्द्र विकका अनुसार पहिले यात्रुहरू यहाँ खासै रोकिन्नथे । “अहिले त धेरैजसो यात्रु गाडी रोकेर फोटो खिच्छन् । कतिपय त फेसबुक र टिकटकका लागि मात्रै पनि भिडियो बनाउन आउँछन्,” उनले भने ।

यो स्थान केवल प्राकृतिक सौन्दर्यका कारण मात्रै चर्चित भएको भने होइन । यहाँ धार्मिक पक्ष पनि जोडिएको छ । स्थानीय बासिन्दा र शिवराज नगरपालिकाको पहलमा चट्टानमा भगवान शिवको आकृति बनाइएको छ । साथै नागको मूर्ति स्थापना गरिनुका साथै शिव लिङ्गहरू राखिएपछि धार्मिक आस्था राख्नेहरूको आकर्षण पनि बढेको छ ।

धार्मिक प्रतीकहरू थपिएपछि यहाँ आउने आगन्तुकले प्राकृतिक अवलोकनसँगै आध्यात्मिक अनुभूति पनि गर्न थालेका छन् । यही कारण अहिले यो क्षेत्र ‘प्राकृतिक र धार्मिक पर्यटन’ को संगमस्थलका रूपमा विकास हुँदै गएको देखिन्छ ।

हाल दैनिक करिब ४ सय देखि ५ सय जनासम्म आन्तरिक पर्यटक यहाँ पुग्ने गरेको स्थानीय बताउँछन् । सार्वजनिक बिदा, शनिबार र चाडपर्वका समयमा भने यहाँको भीड उल्लेख्य रूपमा बढ्ने गरेको छ । तर, लोकप्रियतासँगै चुनौतीहरू पनि थपिएका छन् ।

बढ्दो भीडअनुसार आवश्यक पूर्वाधार निर्माण हुन सकेको छैन । व्यवस्थित पार्किङ स्थलको अभाव, सरसफाइको समस्या र सुरक्षा व्यवस्थापन कमजोर हुँदा पर्यटकहरू असहज महसुस गर्ने गरेका छन् । कतिपयले चट्टानमा चढेर जोखिमपूर्ण तस्बिर खिच्ने गरेका कारण दुर्घटनाको सम्भावना पनि बढेको स्थानीयको चिन्ता छ ।

अर्घाखाँचीबाट घुम्न पुगेका लक्ष्मण घिमिरेले स्थानीय तहले समयमै पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताए । “यदि व्यवस्थित पार्किङ, विश्राम स्थल र सुरक्षा व्यवस्था गरियो भने यो ठाउँ अझ आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्छ,” उनले भने ।

पर्यटन विज्ञहरूका अनुसार सामाजिक सञ्जालमार्फत चर्चामा आएका यस्ता स्थानलाई दीर्घकालीन पर्यटन गन्तव्यका रूपमा विकास गर्न स्थानीय सरकारको सक्रिय भूमिका आवश्यक हुन्छ । प्राकृतिक संरचनाको संरक्षण गर्दै व्यवस्थित पूर्वाधार निर्माण गर्न सके ग्रामीण पर्यटनबाट स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्न सक्छ ।

‘शिव भाइरल पहाड’ अहिले एउटा फोटो खिच्ने ठाउँ मात्र बनेको छैन, यसले डिजिटल युगमा सामाजिक सञ्जालले पर्यटन प्रवर्द्धनमा पार्न सक्ने प्रभावलाई पनि उजागर गरेको छ । सामान्य पहाडबाट चर्चित पर्यटकीय गन्तव्यसम्मको यसको यात्रा वास्तवमै सामाजिक सञ्जालको शक्तिको उदाहरण बनेको छ ।

यस क्षेत्रको बढ्दो लोकप्रियताले स्थानीय व्यवसायमा पनि सकारात्मक प्रभाव पार्न थालेको छ । सडक किनारमा चिया–नास्ता पसल सञ्चालन गर्दै आएकी स्थानीय व्यवसायी सुमित्रा थापाले पर्यटकको आगमन बढेपछि व्यापारमा सुधार आएको बताइन् । “पहिला दिनभरमा थोरै मात्रै ग्राहक आउँथे, अहिले शनिबार र बिदाको दिन निकै भीड हुन्छ,” उनले भनिन् ।

यस्तै, कपिलवस्तुबाट घुम्न पुगेका युवा पर्यटक अनिल चौधरीले सामाजिक सञ्जालमा भिडियो देखेपछि आफू प्रत्यक्ष हेर्न आएको बताए । “भिडियोमा देखिएभन्दा वास्तविक दृश्य अझ राम्रो रहेछ । यहाँ प्राकृतिक सुन्दरता र धार्मिक वातावरण दुवैको अनुभूति हुन्छ,” उनले भने ।

स्थानीयवासीका अनुसार यदि सम्बन्धित पालिकाले दीर्घकालीन योजना बनाएर पूर्वाधार, सरसफाइ र सुरक्षा व्यवस्थापनमा ध्यान दिन सके ‘शिव भाइरल पहाड’ लुम्बिनी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्ने सम्भावना रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?