Butwal Today

युवाका मुद्दा समेटिएको स्काउट प्रतिवेदन सरकारलाई हस्तान्तरण

१ जेष्ठ २०८३, शुक्रबार
अ+
अ-

बुटवल । नेपाल स्काउट लुम्बिनी प्रदेश कार्यालयले ‘स्काउट शान्ति र सुरक्षा २२५०’ सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमबाट प्राप्त सुझावसहितको विस्तृत प्रतिवेदन सरोकारवाला निकायलाई हस्तान्तरण गरेको छ। शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरी, बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवि अर्याल तथा तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ लगायतलाई प्रतिवेदन हस्तान्तरण गरिएको हो।

फिनल्याण्ड स्काउट र नेपाल स्काउट बीचको साझेदारीमा सञ्चालित ‘फिनल्याण्ड–नेपाल पार्टनरसिप प्रोजेक्ट’ (एफएनपीपी) अन्तर्गत कार्यक्रम सञ्चालन गरिएको थियो। स्काउट्स शान्ति र सुरक्षा (एसपीएस) परियोजनाको मुख्य उद्देश्य संयुक्त राष्ट्रसंघको प्रस्ताव २२५० का सिद्धान्तलाई स्थानीय तह र समुदायस्तरसम्म व्यवहारिक रूपमा कार्यान्वयन गर्नु रहेको जनाइएको छ।

नेपाल स्काउट लुम्बिनी प्रदेशका प्रमुख आयुक्त दिनानाथ भट्टराईका अनुसार प्रतिवेदनमा रुकुम पूर्व र रोल्पाबाहेक लुम्बिनी प्रदेशका १० जिल्लामा सञ्चालन गरिएका ११ वटा छलफल कार्यक्रमका निष्कर्ष समेटिएका छन्। कार्यक्रममा १६ देखि ३० वर्ष उमेर समूहका युवा, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी, वातावरणविद् तथा स्काउटका नेतृत्वसहित ४५० भन्दा बढीको सहभागिता रहेको थियो। प्रतिवेदन तयार गर्न करिब १९ महिना लागेको बताइएको छ।

छलफलमा मानसिक स्वास्थ्य, जलवायु परिवर्तन, लागुपदार्थ दुव्र्यसन, बालशोषण, लैङ्गिक विभेद, लैङ्गिक हिंसा, बालविवाह, सामाजिक समावेशीकरण, अपाङ्गता अधिकार तथा फोहोरमैला व्यवस्थापनजस्ता विषयमा केन्द्रित बहस गरिएको थियो। प्रतिवेदनमा विशेषगरी लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य समस्या र लागुपदार्थ दुव्र्यसन चुनौतीका रूपमा देखिएको उल्लेख गरिएको छ। साथै जलवायु परिवर्तनका कारण बढ्दो वातावरणीय जोखिमप्रति पनि चिन्ता व्यक्त गरिएको छ। कार्यक्रममा सहभागीहरूले समस्या समाधानका लागि सरकार र समुदाय दुवैको साझा जिम्मेवारी आवश्यक रहेको बताएका थिए। नीति निर्माता र युवाबीचको अन्तरक्रियालाई अझ प्रभावकारी बनाउनुपर्नेमा समेत जोड दिइएको थियो।

प्रतिवेदन बुझ्दै पूर्व मुख्यमन्त्री लिला गिरीले सुझावहरूको अध्ययन गरी कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाए। उनले भौतिक पूर्वाधार विकास मात्र पर्याप्त नहुने भन्दै नागरिकको आर्थिक अवस्था सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याए।“गाउँगाउँमा विकास पुगेको छ, तर रोजगारीको अभावले बसाइँसराइ बढ्दो छ,” उनले भने, “शिक्षा र स्वास्थ्यको सुनिश्चितता नहुँदासम्म विदेश पलायन रोक्न सकिँदैन।” उनले आगामी प्रदेश बजेटमा स्काउटका विषय समेट्न पहल गर्ने पनि बताए।

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवि अर्यालले स्काउटले सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताइन्। महिला सशक्तीकरणअन्तर्गत विभिन्न सीपमूलक तालिममार्फत दक्ष जनशक्ति उत्पादनमा जोड दिइएको उल्लेख गर्दै उनले आगामी दिनमा स्काउटसँग सहकार्य गर्न नगरपालिका तयार रहेको बताइन्।

तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले समाज सुधारका लागि राजनीतिमा युवाको सहभागिता बढाउनुपर्ने धारणा राखे। विपद् व्यवस्थापनमा युवाको भूमिका महत्वपूर्ण हुने भन्दै उनले आधारभूत तहदेखि नै त्यससम्बन्धी शिक्षा आवश्यक रहेको बताए। सामुदायिक विद्यालयसँग स्काउटलाई जोड्न सके अनुशासित र सक्षम विद्यार्थी उत्पादन गर्न सकिने उनको भनाइ थियो।लुम्बिनी युवा परिषद् सदस्य रिया बस्नेतले युवा परिषद् र स्काउटले उठाउने मुद्दा समान प्रकृतिका भएकाले आगामी दिनमा सहकार्य गर्न सकिने बताइन्।

नेपाल स्काउट (एसपीएस प्रोजेक्ट) की परियोजना लिडर प्रतिका सिलवालले स्काउटको विस्तार र विकासका लागि सरकारी सहयोग आवश्यक रहेको बताइन्। उनले स्काउटले समाजमा रहेका विकृति, विसङ्गति, लागुपदार्थ दुव्र्यसन तथा कुप्रथा अन्त्यका लागि जागरण अभियान सञ्चालन गर्दै आएको उल्लेख गरिन्।

कार्यक्रमको सहजीकरण कृति भट्टराईले गरेकी थिइन् भने सञ्चालन नेपाल स्काउट लुम्बिनी प्रदेश कार्यालय प्रमुख तारा पुरीले गरेकी थिइन्। कार्यक्रममा तारादल गणका गणपति कल्याण पाण्डे, सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक गणेश दाहाल, रोटरी डिस्ट्रिक्ट युथ काउन्सिल लिडर राजेन्द्र ढकाल, नमस्ते नेपालका संस्थापक अध्यक्ष अर्जुन खरेललगायत विभिन्न जिल्लाका स्काउट मास्टर तथा प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?