© 2026
नेपालगञ्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ मा बाख्रा चराउन गएका पाँच जना महिला लुटेराको आक्रमणमा परि गम्भीर घाइते भएका छन् ।
शुक्रबार बिहान करिब १० बजेतिर हरियाली सामुदायिक वन तथा भूवर भवानी सामुदायिक वन क्षेत्रमा लुटेराको आक्रमणमा राप्ती सोनारी–३ नवलपुरकी ५५ वर्षीया विसपती थारु, ४५ वर्षीया गौरी थारु, ६५ वर्षीया मंग्री थारु, ५५ वर्षीया रामकलिया थारु तथा सोही वडाको बैसा गाउँकी ४५ वर्षीया श्यामकुमारी थारु घाइते भएका हुन् ।
घाइते महिलाका अनुसार वनमा बाख्रा चराइरहेका बेला तीन जनाको समूहमा आएका लुटेराले एक्कासि आक्रमण गर्दा उनीहरूले लगाएका नाक, कान र घाँटीका सुनका गहना लुटपाट गरेका थिए । आक्रमणका क्रममा महिलामाथि निर्घात कुटपिट गरिएको जनाइएको छ ।
इलाका प्रहरी कार्यालय धामपुरका प्रहरी इन्चार्ज शङ्कर चौधरीका अनुसार रामकलिया थारुको बाँयाँ खुट्टा भाँचिएको छ भने विसपती थारुको दुवै हात भाँचिएको छ । पाँचै जनाको टाउकोमा गम्भीर चोट लागेको र उनीहरूको नेपालगञ्जस्थित सन्जीवनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
राप्ती सोनारी–३ का वडा अध्यक्ष मीनकुमार थारुले सुरुमा लुटेराको समूहले बैसाकी श्यामकुमारी थारुमाथि आक्रमण गरी गहना लुटेको जानकारी दिए । घाइते श्यामकुमारी भागेर गाउँमा पुगेर घटनाबारे जानकारी गराएपछि स्थानीय जनप्रतिनिधि र प्रहरीको टोली वनतर्फ गएको थियो ।
खोजीका क्रममा अन्य चार जना महिलालाई पनि घाइते अवस्थामा फेला पारिएको उनले बताए । घाइते महिलाहरूका अनुसार लुटेराहरू नेपाली भाषा बोल्ने भए पनि उनीहरूको हाउभाउ भारतीय नागरिक जस्तो देखिएको थियो । घटनापछि इलाका प्रहरी कार्यालय धामपुर, इलाका प्रहरी कार्यालय कुसुम बैरिया, प्रहरी चौकी अगैया तथा सशस्त्र प्रहरीको बीओपी महेशपुर गुर्दनगौडीको टोली परिचालन गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दीपक पातलीले उक्त घटनामा संलग्न भएको आरोपमा ८ जना व्यक्ति पक्राउ परेको जानकारी दिए । राप्ती सोनारी र नरैनापुरको जंगल क्षेत्रबाट उनीहरू पक्राउ परेको बताइएको छ । सामुदायिक वनमा लुटपाट र आक्रमण भएको घटनाले स्थानीयवासी त्रसित बनेका छन् ।