© 2026
बुटवल । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा रुपन्देही जिल्लाको नतिजा उत्साहजनक देखिएको छ । जिल्लाभर परीक्षामा सहभागी भएका १७ हजार ४ सय ४२ विद्यार्थीमध्ये ११ हजार ६ सय ५८ जना विद्यार्थी ग्रेडेड भएका छन् भने ५ हजार ७ सय ८५ जना नन–ग्रेडेड भएका छन् ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख विष्णुप्रसाद पन्थीका अनुसार जिल्लाको समग्र ग्रेडेड प्रतिशत ६६.८ रहेको छ । उनले यस वर्षको नतिजालाई सन्तोषजनक र सकारात्मक भएको बताए ।
पन्थीका अनुसार रुपन्देहीबाट मात्रै ८२ जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन् । परीक्षा सञ्चालनदेखि उत्तर पुस्तिका परीक्षणसम्म केही आशङ्का रहे पनि अन्तिम नतिजा अपेक्षाभन्दा राम्रो आएको उनले बताए ।
बुटवलस्थित विभिन्न विद्यालयहरूले पनि उत्कृष्ट नतिजा सार्वजनिक गरेका छन् । बुटवलको अक्सफोर्ड बोर्डिङ स्कुलका ११ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । विद्यालयका प्रधानाध्यापक दिनेश भुषालले विद्यार्थी, शिक्षक र अभिभावकको संयुक्त मेहनतले उत्कृष्ट नतिजा सम्भव भएको बताए ।
दीप बोर्डिङ हाई स्कुल बुटवलले यस वर्ष उल्लेखनीय सफलता हासिल गरेको छ । विद्यालयका ७ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । आशिका पाण्डे, बृषिका थापा क्षेत्री, डिम्पी केसरी, साहिल मण्डल, समर्पण केसी, सोमिन पिया र रिजन पोखरेलले उच्चतम ग्रेड हासिल गरेका हुन् । विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले उत्कृष्ट नतिजामा शिक्षक, कर्मचारी तथा अभिभावकको योगदान महत्त्वपूर्ण रहेको बताए । “विगतका तुलनामा यस वर्ष उत्कृष्ट नतिजा आएको छ”–उनले भने ।
कालिका मानवज्ञान माध्यमिक विद्यालयबाट ६ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । सेवटा लम्साल, रोशनी भट्टराई, प्रतिमा भट्टराई, लविज खनाल, सुयोग सापकोटा र अमिश ज्ञवालीले उत्कृष्ट नतिजा हासिल गरेका हुन् । विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार ५ सय ९६ विद्यार्थीमध्ये १५८ जनाले ३.६ देखि ३.८, १८७ जनाले ३.२ देखि ३.५९, १३२ जनाले २.८ देखि ३.१९ र ३४ जनाले २.४ देखि २.७९ जिपिए प्राप्त गरेका छन् ।
न्यू होराइजन बोर्डिङ स्कुलबाट ४ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । विद्यालयका प्राचार्य वासुदेव अर्यालका अनुसार १३३ जनाले ए प्लस, ९६ जनाले ए, ७१ जनाले बी प्लस र १७ जनाले बी ग्रेड प्राप्त गरेका छन् ।
मणिमुकुन्द माध्यमिक विद्यालयका सृजन आचार्य, सुसन अर्याल, निहार पौडेल र अनन्त भण्डारीले ४ जिपिए ल्याएका छन् । विद्यालयका प्रधानाध्यापक टुकबहादुर क्षेत्रीका अनुसार १४ जनाले ए प्लस र १७ जनाले ए ग्रेड प्राप्त गरेका छन् ।
नवीन औद्योगिक कदरबहादुर रिता माध्यमिक विद्यालयबाट अञ्जना ज्ञवालीले ४ जिपिए ल्याएकी छन् । विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतका अनुसार परीक्षामा सहभागी ३ सय ८ विद्यार्थीमध्ये २ सय ३८ जना उत्तीर्ण भएका छन् । विद्यालयबाट ४१ जनाले ए प्लस, ६९ जनाले ए, ८८ जनाले बी प्लस र ४० जनाले बी ग्रेड प्राप्त गरेका छन् ।
त्यसै गरी लुम्बिनी बोर्डिङ स्कुलबाट आर्जना पाण्डे र निर्भिक ज्ञवालीले ४ जिपिए ल्याएका छन् । विद्यालयका प्रधानाध्यापक लालहरी पाण्डेयका अनुसार ३३ विद्यार्थी सहभागी भएकामध्ये १० जनाले ए प्लस, १७ जनाले ए र ६ जनाले बी प्लस ग्रेड प्राप्त गरेका छन् ।
स्कलर्स होम बोर्डिङ स्कुलका सक्षम सिंहले ३.९१ जिपिए ल्याएर विद्यालयतर्फ सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन् । श्लेशा शर्माले ३.९ जिपिए प्राप्त गरेकी छन् । विद्यालयका प्रधानाध्यापक बाबुराम बन्जाडेका अनुसार ६६ विद्यार्थीमध्ये ८ जनाले ए प्लस, २५ जनाले ए र २८ जनाले बी प्लस ग्रेड प्राप्त गरेका छन् ।
सिद्धेश्वर लालकुमारी माध्यमिक विद्यालयका सबै ६७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागरप्रसाद न्यौपानेका अनुसार १० जनाले ए प्लस, २६ जनाले ए र १२ जनाले बी प्लस ग्रेड प्राप्त गरेका छन् ।
इन्टलेक्चुअल एकेडेमीबाट ३ जनाले ए प्लस, १३ जनाले ए र ४ जनाले बी प्लस ग्रेड प्राप्त गरेका छन् । विद्यालयका प्रधानाध्यापक रामराज पोखरेलले विद्यार्थीहरूको मेहनतले राम्रो नतिजा आएको बताए ।
यसैगरी राष्ट्रिय स्तरमा यस वर्षको एसइई परीक्षामा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी सहभागी भएका थिए । तीमध्ये १ लाख ४६ हजार ५ सय ७ विद्यार्थी नन–ग्रेडेड भएका छन् ।
शिक्षा विकास समन्वय इकाई कार्यालय रुपन्देही प्रमुख विष्णु प्रसाद पन्थीले रूपन्देहीको समग्र नतिजा सन्तोषजनक रहेको बताए । “बिगतका वर्ष भन्दा यस वर्ष नतिजा सन्तोषजनक आएको छ”–उनले भने ।