Butwal Today

जेनजी आन्दोलन नभएको भए देश भँड्खालोमा जान्थ्यो : अर्थमन्त्री वाग्ले

२९ बैशाख २०८३, मंगलवार
अ+
अ-

काठमाडौं ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेनजी आन्दोलन नभएको भए देश गम्भीर आर्थिक र संस्थागत संकटतर्फ धकेलिने अवस्था रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा पूँजीबजारमा देखिएका विकृतिबारे बोल्दै उनले विगतका सरकारका पालामा राजनीति तथा प्रभावशाली आर्थिक संस्थामाथि सीमित समूहको कब्जा बढेको आरोप लगाए ।

उनले आम नागरिकको अर्बौं रुपैयाँ अपचलन गर्दै बजारमा चलखेल, इन्साइडर ट्रेडिङ र राजनीतिक प्रभाव विस्तार गर्ने प्रवृत्ति मौलाएको उल्लेख गरे । केही सीमित व्यक्तिले आर्थिक शक्ति प्रयोग गरेर राजनीतिक नेतृत्वसमेत प्रभावित बनाएको उनको भनाइ थियो ।

“देशका राजनीतिक संस्था मात्र होइन, आर्थिक संस्थासमेत कब्जामा पार्ने कटु यथार्थ देखिएको थियो,” मन्त्री वाग्लेले भने, “जेनजी आन्दोलनलाई धन्यवाद दिनैपर्छ । त्यो हस्तक्षेप नभएको भए देश साँच्चिकै भड्खालोतर्फ जाने थियो ।”

उनले वर्तमान सरकारले सुशासनलाई केन्द्रमा राख्दै विश्वस्तरीय पूँजीबजार निर्माण गर्ने लक्ष्यसहित काम अघि बढाएको दाबी गरे । स्टक एक्सचेन्जको पुनर्संरचनाका लागि गठित समितिले दिएको सुझाव कार्यान्वयन गरिने पनि उनले बताए ।

नीति तथा कार्यक्रममा समेत स्टक एक्सचेन्ज र पूँजीबजार सुधारका लागि उदार नीतिहरू समेटिएको उल्लेख गर्दै उनले आगामी बजेटमार्फत त्यसलाई थप स्पष्ट र प्रभावकारी बनाइने बताए । “पूँजीबजारलाई व्यवसायिक, पारदर्शी र विश्वस्तरीय मापदण्डअनुसार अघि बढाइनेछ,” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?