© 2026
काठमान्डौँ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको स्वास्थ्य अवस्थाबारे प्रश्न उठाउँदै तत्काल स्वास्थ्य परीक्षण गर्न माग गरेको छ ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री बीचमै बैठक छोडेर बाहिरिएको विषयलाई लिएर यस्तो माग गरेका हुन् ।
नेता आङ्देम्बेले प्रधानमन्त्रीको उक्त व्यवहार सामान्य नदेखिएको भन्दै यदि स्वास्थ्य समस्याका कारण बाहिरिनु परेको हो भने त्यसबारे यथाशीघ्र परीक्षण गरी संसदलाई जानकारी गराउन सरकारलाई आग्रह गरेका छन् । “आफ्नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री बीचमै उठेर हिँड्नु स्वाभाविक होइन,” उनले भने, “यदि अचानक स्वास्थ्य स्थिति गम्भीर भएर उहाँ बाहिरिनुभएको हो भने सरकारले अविलम्ब स्वास्थ्य परीक्षण गरी त्यसको विवरण संसदलाई जानकारी गराउनुपर्छ ।”
आङ्देम्बेले प्रधानमन्त्रीको उक्त व्यवहारलाई ‘अमर्यादित र अहंकारपूर्ण’ भन्दै यसले संसदको गरिमा र प्रतिष्ठामा आँच पुगेको टिप्पणी गरे ।
उनले कुनै पनि देशका प्रधानमन्त्रीले यस्तो गैरजिम्मेवार व्यवहार प्रदर्शन गर्न नहुने भन्दै सरकारको आधिकारिक धारणा स्पष्ट गर्न माग गरेका छन् ।