© 2026
चन्द्रौटा । आधारभूत स्वास्थ्य सेवा अस्पताल अहिले उपचारभन्दा बढी आर्थिक अनियमितताको विषयले चर्चा पाएको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–५ चन्द्रौटास्थित अस्पतालबाट ३८ लाख बढी रुपैयाँ हिनामिना भएको विषय सार्वजनिक भएको थियो ।
करिब एक महिना पुग्न लाग्दा पनि घटनाको वास्तविकता भने अझै स्पष्ट खुल्न सकेको छैन । कसले रकम लग्यो ? रकम बैङ्कमा जम्मा भयो कि भएन ? भौचर नक्कली कसरी बन्यो ? र यति ठुलो रकम गायब हुँदा जिम्मेवार को ?
यी प्रश्नको जवाफ खोज्न स्थानीयवासी, सेवाग्राही र सरोकारवाला अझै प्रतीक्षामा छन् । घटनाको सुरुआत एउटा भौचरबाट भएको हो । अस्पताल प्रशासनले आफूहरूले नियमअनुसार बैङ्कमा रकम जम्मा गरेको दाबी गरिरहेको छ ।
उनीहरूका अनुसार सम्बन्धित कागजात र भौचरकै आधारमा कारोबार गरिएको हो । तर, जब बैङ्कले उक्त भौचरमा प्रयोग गरिएको छाप नै नक्कली भएको बतायो, त्यसपछि यस घटना प्रकरणले नयाँ मोड लिएको छ ।
बैङ्कको प्रधान कार्यालय अपरेसन विभाग, काठमाडौँबाट यही वैशाख ८ गते नै छानबिन गरी प्रतिवेदन पेस गर्न बैङ्क निरीक्षण तथा आन्तरिक लेखा परीक्षण विभागलाई परिचालन गरिएको जानकारी अस्पताललाई पत्र पठाएको थियो ।
प्रधान कार्यालयले सम्बन्धित शाखालाई शीघ्र आवश्यक छानबिनको प्रतिवेदन पेस गर्न पत्र पठाए पनि करिब महिना दिन हुन लाग्दा पनि घटना स्पष्ट नहुनु विडम्बना देखिन्छ । यता चन्द्रौटा बैङ्क शाखा स्रोतका अनुसार अस्पतालले देखाएको रकम आफ्नो आधिकारिक प्रणालीमा कतै पनि देखिँदैन । कागजमा रकम बुझिएको देखिए पनि बैङ्कको अभिलेखमा त्यसको कुनै अस्तित्व छैन ।
यही विरोधाभासले अहिले सिंगो घटनालाई रहस्यको घेराभित्र पु¥याएको छ । स्थानीय वासीहरू भने यो घटनालाई सामान्य त्रुटि नभई योजनाबद्ध आर्थिक चलखेलका रूपमा हेर्न थालेका छन् । “यदि बैङ्कमै पैसा जम्मा भएको छैन, भने ३८ लाख कहाँ गयो ?” स्थानीय मेनाज खानले प्रश्न गरे, “यति ठुलो रकम हराउँदा पनि कसैलाई पक्राउ नगर्नु आश्चर्यजनक छ ।”
अस्पताल जस्तो संवेदनशील सार्वजनिक संस्थामा आर्थिक पारदर्शीतामाथि प्रश्न उठ्नुले सेवाग्राहीमा समेत अविश्वास बढाएको छ । बिरामी उपचारका लागि छुट्टाइएको रकम नै रहस्यमय ढङ्गले गायब भएको चर्चा फैलिँदा अस्पतालको छवि समेत प्रभावित बनेको छ ।
घटना सार्वजनिक भएपछि प्रारम्भिक रूपमा छानबिनको कुरा उठाइए पनि हालसम्म अनुसन्धानले ठोस उपलब्धि दिन सकेको छैन । न त रकम फिर्ता भएको छ, न त कुनै कर्मचारी वा सम्बन्धित व्यक्तिमाथि स्पष्ट कानुनी प्रक्रिया अघि बढाइएको देखिन्छ । यही कारण स्थानीय तहदेखि जिल्ला स्तरसम्म आलोचना बढिरहेको छ ।
सरोकारवालाहरूले यो प्रकरणलाई सामान्य प्रशासनिक कमजोरी भनेर टार्न नमिल्ने बताएका छन् । उनीहरूको माग छ – निष्पक्ष अनुसन्धान होस्, वास्तविक दोषी सार्वजनिक गरियोस् र सार्वजनिक सम्पत्तिमाथि खेलबाड गर्नेलाई कानुनी कठघरामा उभ्याइयोस् । अहिले शिवराजमा एउटा प्रश्न बारम्बार दोहोरिन थालेको छ–“३८ लाख रुपैयाँ आखिर गयो कहाँ ?”
यता शिवराज नगर प्रमुख अजय थापाले केही समय अघि प्रहरी प्रशासन, सिविआई लगायत सम्बन्धित निकायमा जाहेरी गरेको बताएका थिए । तर सोही विषयमा सार्वजनिक बिदाको (आयतबार) दिन समेत नगर कार्य समितिको बैठक बसी किटानी जाहेरी दिने तयारी रहेको थापाले बताए ।
अस्पताल व्यवस्थापन तथा वडा नम्बर ५ का वडा अध्यक्ष नेत्र बेल्वासेले कार्यपालिका बैठकको निर्णयअनुसार सम्बन्धित निकायमा उजुरी दर्ता गराएका बताए । घटना सार्वजनिक भएको लामो समयसम्म पनि ठोस कारबाही प्रक्रिया अघि नबढेको भन्दै स्थानीय स्तरमा समेत चासो र दबाब बढ्दै गएको थियो ।
नगरपालिकाले अब घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही हुने जनाएको छ । गत आर्थिक वर्षको आन्तरिक लेखा परीक्षण गर्ने क्रममा सो रकम नदेखिएपछि बैङ्क र अस्पताल प्रशासनबिच भएको रहस्य खुलेको थियो ।
अस्पताल प्रशासनले नेपाल बैङ्क लिमिटेडमा एक वर्षभित्र १ सय २८ वटा भौचरमार्फत रकम जम्मा गरेको भौचर फेला परेको दाबी गर्दै आएको छ । नेपाल बैङ्क लिमिटेडले भने जम्मा भएका केही भौचर तथा हस्ताक्षर नै नक्कली भएको हुँदा अस्पताल प्रशासन तिरै बदमासी भएको बताउँदै आएको उम्किन खोजेको देखिन्छ ।
बैङ्क प्रशासनले १ सय २८ वटा भौचरबाट जम्मा गरेको भनिएको रकमबारे आफूलाई थाहा नभएको दाबी गर्दै आएको छ । बिरामी उपचारबाट प्राप्त ३८ लाख ५६ हजार बढी रकम हराएपछि अस्पताललगायत यस क्षेत्रमा तंरग मच्चिएको छ ।