Butwal Today

कम्युनिस्टलाई सखाप पार्ने खेल अझै सतहमा आएका छैनन् : प्रचण्ड

२७ बैशाख २०८३, आइतबार
अ+
अ-

काठमाडौँ ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा अझै पनि कम्युनिस्टहरूको प्रभाव जनतामाझ उल्लेख्य रहेको बताएका छन् ।

२६औँ निर्मल लामा स्मृति सभालाई सम्बोधन गर्दै उनले श्रमजीवी वर्ग र कम्युनिस्ट शक्तिहरूलाई केन्द्रमा राखेर नयाँ ढंगले अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

‘हिजो यसो गर्‍यौँ र त्यसो गर्‍यौँ भनेर मात्रै आजको आवश्यकता पूरा हुँदैन,’ प्रचण्डले भने । उनले नयाँ शिराबाट विचार, राजनीति र संगठनात्मक पक्षमा सुधार तथा पुनर्संरचनाको प्रयास भइरहेको पनि उल्लेख गरे । ‘कम्युनिस्ट आन्दोलनको ठूलो शक्तिलाई केन्द्रित गर्ने जमर्को गरेका थियौँ । त्यसलाई धेरै क्रान्तिकारी र जनताले उत्साहका साथ अनुमोदन गरेका थिए । हामी निर्वाचनमा झण्डै दुईतिहाइ बहुमत नजिक पुगेका थियौँ,’ उनले स्मरण गरे ।

यसले नेपालका श्रमजीवी जनता कम्युनिस्ट शक्तिबीच एकता चाहन्छन् भन्ने स्पष्ट संकेत गरेको उनको भनाइ थियो ।

प्रचण्डले नेतृत्व तहबाट बेला–बेलामा एकताको प्रयास भए पनि त्यसलाई दिगो र सुदृढ बनाउन आवश्यक विकास हुन नसकेको स्वीकार गरे । ‘एकता र विभाजनका धेरै शृङ्खला पार गर्दै हामी यहाँसम्म आइपुगेका छौँ । अहिले सच्चा कम्युनिस्ट शक्तिबीच एकताको आवश्यकता अझ विशेष रूपमा बढेको छ,’ उनले भने ।

देशमा साम्राज्यवादी हस्तक्षेप बढिरहेको र मुलुक जटिल अवस्थामा पुगेको दाबी गर्दै उनले कम्युनिस्ट शक्तिलाई कमजोर बनाउने प्रयास अझै सतहमै नआएको बताए । ‘कम्युनिस्टलाई सखाप पार्ने खेलहरू अझै पूर्ण रूपमा सतहमा आएका छैनन् भन्ने मेरो बुझाइ छ,’ उनले भने ।

प्रचण्डले श्रमजीवी वर्गप्रति आफूहरूले पनि कमजोरी गरेको स्वीकार गर्दै आत्मसमीक्षा आवश्यक रहेको धारणा राखेका छन् । ‘हामीले कहाँ कमजोरी गर्‍यौँ भन्ने समीक्षा गर्दै त्यसलाई सच्याएर नयाँ ढंगले आन्दोलन अघि बढाउन जरुरी छ,’ उनले भने, ‘जनयुद्ध, जनआन्दोलन र विभिन्न अभियानबाट हामी जहाँ पुगेका थियौँ, अहिले फेरि परिस्थितिले एकताको आधार खोज्न बाध्य पारेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?