© 2026
काठमाडौँ ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आगामी दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा सम्पन्न भएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्न लागिएको बोर्डले जनाएको छ ।
बोर्डले हाल नतिजा इन्ट्रीको काम सकेको छ भने कुनै त्रुटि हुन नदिन रुजुको काम गरिरहेको छ ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीले नतिजा सार्वजनिकको अन्तिम तयारी भइरहेको बताए । ‘नतिजा सार्वजनिक गर्ने चरणमा पुगेका छौँ । सम्भवतः पर्सिसम्म नतिजा आउँछ । आइटी टोलीले अन्तिम काम गरिरहेको छ,’ उनले भने, ‘कुनै त्रुटि नहुने गरी नतिजा सार्वजनिक गर्ने तयारी गरेका छौँ ।’
यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले नतिजा छिटो सार्वजनिक गर्न सम्भव भएको बोर्डको भनाइ छ ।
‘शिक्षक साथीहरूको राम्रो सहभागिता रह्यो । परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरियो । रणनीति परिवर्तन गरेकाले नतिजा छिटो सार्वजनिक गर्न सफल भएका हौँ,’ नियन्त्रक अधिकारीले भने ।
आइटी सम्बन्धी सम्पूर्ण काम सकिएपछि बोर्ड बैठक बोलाइने र बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गर्ने तयारी रहेको उनले जानकारी दिए ।
एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । यस वर्ष परीक्षाका लागि कुल ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए ।
तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जना विद्यार्थी सहभागी भएका थिए । परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा अन्य ७ जना रहेका छन् ।