Butwal Today

डोजरको गर्जनसँगै खाली भए अतिक्रमित बस्ती, कोहलपुरमा सयौँ घर टहरा हटाइँदै

२७ बैशाख २०८३, आइतबार
अ+
अ-

नेपालगञ्ज । कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित नगर विकास समितिको जग्गामा वर्षौँदेखि बनेका अतिक्रमित सबै घर टहरा धमाधम भत्काउन थालिएको छ । नगरपालिकाले डोजर चलाएपछि क्रिकेट मैदान आसपासको बस्ती क्षेत्र यति बेला खाली हुने क्रममा छ ।

शनिबारदेखि अतिक्रमण हटाउने अभियान सुरु गरिएको भए पनि अधिकांश परिवारले सामान सार्न नभ्याएकाले पहिलो दिन करिब ४० वटा टहरा मात्र हटाइएको थियो । आइतबार भने अधिकांश घर खाली भइसकेपछि दिउँसोदेखि पुनः डोजर चलाएर संरचना हटाउने काम तीव्र पारिएको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार नगरपालिकाले वैशाख १६ गते नै १० दिने अल्टिमेटम जारी गर्दै अतिक्रमित क्षेत्र खाली गर्न आग्रह गरेको थियो। “नगरपालिकाको सूचनापछि धेरै नागरिक आफैँ सामान सारेर निस्कने क्रममा छन्,” थापाले भने, “आइतबारसम्म झन्डै ९० प्रतिशत घर टहरा खाली भइसकेकाले भत्काउने काम अन्तिम चरणमा पुगेको छ ।”

नगरपालिकाले कोहलपुर–३ (ख) अन्तर्गत पर्ने करिब ३६ बिघा क्षेत्रफलमा फैलिएको नगर विकास समितिको जग्गा खाली गराउन थालेको हो । क्रिकेट मैदान आसपासको उक्त क्षेत्र लामो समयदेखि अतिक्रमणको चपेटामा परेको थियो ।

अतिक्रमण हटाउने कार्यसँगै नगरपालिकाले वास्तविक भूमिहीन सुकुम्वासीहरूको अस्थायी बसोबासका लागि होल्डिङ सेन्टरको व्यवस्था पनि गरेको जनाएको छ । हालसम्म ७३ घरधुरी वास्तविक भूमिहीन सुकुम्वासी नगरपालिकाको सम्पर्कमा आएको र उनीहरूलाई अस्थायी बसोबासमा व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको छ ।

त्यसै गरी नगरपालिकाले वर्षौँदेखि सार्वजनिक तथा सरकारी जग्गामा बसोबास गर्दै आएका वास्तविक भूमिहीन दलित तथा सुकुम्वासीहरूको पहिचान प्रक्रिया पनि सुरु गरेको छ । गत वर्ष ७ सय ५१ जनाले भूमिहीन सुकुम्वासी तथा दलितको फाराम भरेका थिए । तर, प्रारम्भिक पहिचानका क्रममा १ सय ५३ जना भूमिहीन दलित र १ सय ४१ जना भूमिहीन सुकुम्वासी मात्रै वास्तविक लाभग्राहीको सूचीमा परेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले शनिबार अतिक्रमित क्षेत्रमा माइकिङ गर्दै सर्वोच्च अदालतबाट वैशाख २५ गते जारी भएको सुकुम्वासी बस्तीसम्बन्धी अन्तरिम आदेश नगर विकास समितिको अतिक्रमित जग्गामा लागू नहुने स्पष्ट पारेको थियो । कुनै भ्रममा नपरी बाँकी रहेका घर टहरा तत्काल खाली गर्न पनि नगरपालिकाले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?