Butwal Today

रवि लामिछाने भन्छन् : हामी जीवनी होइन, इतिहास लेख्ने यात्रामा छौँ

२७ बैशाख २०८३, आइतबार
अ+
अ-

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरू जीवनी लेख्ने नभई इतिहास रच्ने यात्रामा रहेको बताएका छन् ।

पार्टीका सांसदहरूका लागि आयोजित दुईदिने प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिलाई ठूलो सपना र परिवर्तनको माध्यमका रूपमा अघि बढाएको बताए । ‘मैले राजनीतिलाई ठूलो सपनाका रूपमा अघि सारेको थिएँ । नेताहरु सरकारको कुन तहमा पुग्छन भन्ने मात्रै ठूलो कुरा होइन,’ उनले भने, ‘कोही मन्त्री वा प्रधानमन्त्री बन्नु नै अन्तिम उद्देश्य होइन । मुलुकलाई कस्तो नेतृत्व दिन्छौँ भन्ने कुरा महत्त्वपूर्ण हो ।’

सभापति लामिछानेले आफू पार्टीको सभापति, मन्त्री वा प्रधानमन्त्री बन्नकै लागि राजनीतिमा नआएको स्पष्ट पारे । ‘यदि कसैले म पदका लागि राजनीतिमा आएको ठानेको छ भने त्यो भ्रम मात्रै हो,’ उनले भने, ‘मलाई जीवनी लेखाउने कुनै लोभ छैन । जीवनी लेख्नु ठूलो कुरा होइन, हामी इतिहास लेख्ने यात्रामा छौँ ।’
रास्वपाका सांसदहरू नयाँ भए पनि सिक्ने र सिकाउने प्रक्रिया राजनीतिक जीवनको अभिन्न हिस्सा भएको उनको भनाइ छ ।

विश्व राजनीतिले नयाँ मोड लिइरहेको वर्तमान अवस्थामा आफ्नो पार्टीको उदय भएको उल्लेख गर्दै उनले परिवर्तन र विद्रोह समाजको निरन्तर प्रक्रिया भएको बताए । ‘विद्रोह समाजको निरन्तर प्रक्रिया हो । हामीले पनि एक प्रकारको विद्रोह गरेका हौँ,’ उनले भने, ‘राजनीतिलाई सही दिशामा लैजाऔँ, संसदीय अभ्यासलाई मर्यादित बनाऔँ भन्ने हाम्रो उद्देश्य हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?