Butwal Today

बुटवल–गोरुसिङ्गे सडक: धुलाम्मे सडकमा यात्रा कठिन

२७ बैशाख २०८३, आइतबार
अ+
अ-

चन्द्रौटा  । “यो सडक कहिले बन्ने हो ?” बुटवल–गोरुसिङ्गे सडक हुँदै यात्रा गर्ने अधिकांश यात्रुसँगै आम नागरिकहरूको साझा प्रश्न हो । वर्षौँदेखि विस्तारको काम चलिरहेको यो सडक अहिले विकासको प्रतीक्षामा थाकेको सडकजस्तै देखिन्छ ।

धुलो उडिरहेको छ । सवारी जाममा अड्किरहेका छन्, यात्रुहरू हैरान छन् । निर्माण स्थलमा मेसिनहरू छन्, कामदार पनि देखिन्छन्, तर कामको गति भने सुस्त छ । पूर्व–पश्चिम राजमार्गको महत्त्वपूर्ण खण्ड मानिने यो सडक अहिले लुम्बिनी प्रदेशकै सबैभन्दा बढी चर्चा हुने सडकमध्ये एक बनेको छ ।

बिहानदेखि बेलुकासम्म यो सडकमा यात्रा गर्नेहरूले अहिले सहज यात्रा होइन, सास्ती भोगिरहेका छन् । सवारी गुड्दा उठ्ने धुलोले सडक वरपरका घर, पसल र मानिस सबै ढाकिन्छन् । कतै सडक भत्काइएको छ, कतै अधुरो संरचना छ । कतै पानी जमेको खाल्डो छ ।

बसका यात्रुहरू झ्याल बन्द गरेर बस्छन्, मोटरसाइकल चालकले मास्क र चस्मा लगाएर यात्रा गर्नुपर्छ । सडक विस्तारले विकासको अनुभूति दिनुपर्नेमा अहिले धुलो र जामले सास्ती हुने गरेको छ । स्थानीयहरू भन्छन्, “सडक बन्ने आशामा दुःख सह्यौँ, तर काम यति ढिलो हुँदा अब आशा पनि कमजोर हुन थालेको छ ।”

काम रोक्ने ‘माटो सङ्कट’
निर्माण पक्षका अनुसार अहिलेको मुख्य समस्या माटो, भस्कट र नदीजन्य पदार्थ अभाव हो । सडक विस्तारका लागि ठुलो परिमाणमा फिलिङ सामग्री आवश्यक पर्दछ । तर आवश्यक सामग्री समयमै उपलब्ध नहुँदा काम प्रभावित भएको छ ।

निर्माण कम्पनीका कनट्याक्ट म्यानेजर गौरीशङ्कर महतोका अनुसार राजस्व तिरेर प्रक्रिया पूरा गरिएका क्षेत्रबाट समेत सामग्री निकाल्न रोक लगाइएको छ । वन क्षेत्रसँग जोडिएको भन्दै कतिपय स्थानमा निकासी रोकिएको उनले बताए ।

उनका अनुसार यसले निर्माणको मुख्य काम नै रोकिएको छ । “काम गर्ने सबै तयारी छ, तर सामग्री अभावले गति रोकिएको छ,” कनट्याक्ट म्यानेजर महता भन्छन् ।

आयोजनाका लागि आवश्यक सामग्री व्यवस्थापन गर्न स्थानीय तहसँग सम्झौता गरिएको छ । राजस्व पनि करोडौँ रुपैयाँ सङ्कलन भइसकेको छ । तर निर्माण कम्पनीले भने आवश्यक परिमाणमा सामग्री पाउन सकेको छैन ।

यसले आयोजना, स्थानीय तह र प्रशासनबिच समन्वय कमजोर रहेको देखाउँछ । एकातिर निर्माण कम्पनी काम रोकिएको बताउँछ, अर्कोतर्फ स्थानीय तह प्रक्रिया र कानुनी जटिलताको कुरा गर्छन् । निर्माण कार्य अघि बढाउन नपाउँदा यात्रु र स्थानीय बासिन्दा पीडित बनेका छन् ।

सडकको बिग्रिएको अवस्थाले दुर्घटनाको जोखिम पनि बढाएको छ । विशेष गरी रातिको समयमा यात्रा गर्न झन् कठिन हुने गरेको चालकहरू हौसिल थारु बताउँछन् । धुलोले दृश्यता कम हुन्छ, खाल्डाखुल्डीले सवारी अनियन्त्रित हुने जोखिम बढाएको उनले बताए । यात्रुहरूका अनुसार छोटो दूरी पार गर्न पनि अपेक्षाभन्दा धेरै समय लाग्ने गरेको छ । यसले सडकको सास्तीले जोखिमपूर्ण यात्रासँगै इन्धन खर्चदेखि दैनिक कामकाजसम्म असर पारिरहेको छ ।

विश्व बैंकको करिब ३५ अर्ब रुपैयाँ सहयोगमा निर्माण भइरहेको यो सडक विस्तार परियोजना आधुनिक पूर्वाधार विकासको ठुलो योजना हो । फराकिलो सडक, फ्लाईओभर, अन्डरपास र सुरक्षित संरचना निर्माण गर्ने लक्ष्य राखिएको छ । तर हालको अवस्था हेर्दा योजना र वास्तविकताबिच ठुलो दूरी देखिन्छ । कामको सुस्त गति, प्रशासनिक जटिलता र सामग्री अभावले परियोजनालाई दबाबमा पारेको छ ।

आखिर कहिले सकिन्छ ?

बुटवल–गोरुसिङ्गे सडक अहिले विकासको प्रतीक्षा गरिरहेको सडक बनेको छ । यात्रुहरूले दैनिक सास्ती खेपिरहेका छन्, व्यवसायीहरू व्यापारमा असर परेको गुनासो गरिरहेका छन्, स्थानीयहरू धुलो र अव्यवस्थाबाट हैरान छन् ।

एकातिर ठुलो लगानी र आधुनिक सडकको सपना छ । अर्कोतर्फ ढिलो निर्माण र व्यवस्थापनको कमजोरी । यही कारण अहिले यो सडकसँग जोडिएको सबैभन्दा ठुलो प्रश्न एउटै बनेको छ–“सडक आखिर कहिले पूरा हुन्छ ? निर्माण सामग्री अभावका कारण ढिलाइ भइरहेको छ ।

तत्कालीन राजा महेन्द्र शाहको पालामा बनेको यो सडक ६२ वर्षपछि स्तरोन्नति सुरु भएको हो । १९ किलोमिटर दूरीको गोरुसिङ्गे चन्द्रौटा खण्डका लागि र बुटवलको तिनाउमा सिग्नेचर पुलका लागि पनि विश्व बैंकसँग सम्झौता भइसकेको जनाइएको छ ।

पूर्व–पश्चिम राजमार्गलाई एसियाली स्तरको बनाउने गरी नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसअघि नै सडकलाई विकास सहायता कार्यान्वयन महाशाखाअन्तर्गत समावेश गरी सडक विभाग, बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक योजना कार्यालय बुटवलमा स्थापना गरेर काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?