© 2026
बुटवल । राष्ट्रिय गौरवसँग जोडिएको सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजना निर्माण सुरु भएको करिब दुई दशक पुग्न लाग्दा पनि अझै पूर्णता पाउन सकेको छैन । वि.सं. २०६५ देखि निर्माण थालिएको यो सडकको ट्रर्याक खोल्ने काम सम्पन्न भए पनि स्तरोन्नति, पुल निर्माण र कालोपत्रेको काम भने सुस्त गतिमा अघि बढिरहेको छ ।
१९७ किलोमिटर लम्बाइको यस सडक आयोजनाको हालसम्म करिब ४४ प्रतिशत मात्र काम सम्पन्न भएको सडक निर्माण परियोजना कार्यालयले जनाएको छ । बाँकी ५६ प्रतिशत काम अझै पूरा हुन बाँकी छ । परियोजनाका प्रमुख इन्जिनियर गगलबहादुर भण्डारीका अनुसार पर्याप्त बजेट अभावकै कारण निर्माण कार्य अपेक्षित गतिमा अघि बढ्न नसकेको हो ।
“हरेक वर्ष आवश्यकताअनुसार बजेट प्राप्त हुँदैन । एक अर्ब रुपैयाँभन्दा बढी बजेट आवश्यक पर्ने आयोजना हो, तर वार्षिक ३०–३५ करोड रुपैयाँ मात्र विनियोजन हुने गरेको छ,” उनले भने । सुरुमा करिब १० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो सडकको लागत अहिले बढेर झन्डै १३ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।
निर्माण अवधि लम्बिँदै जाँदा लागत पनि निरन्तर बढेको आयोजना कार्यालयको भनाइ छ । पछिल्ला वर्षहरूको बजेट अवस्था हेर्दा पनि आयोजना आर्थिक अभावमै चलिरहेको स्पष्ट देखिन्छ । आर्थिक वर्ष २०७४/७५ मा २२ करोड ८१ लाख रुपैयाँ विनियोजन गरिएकोमा संशोधित खर्च ३६ करोड ९३ लाख पुगेको थियो ।
त्यसपछि आर्थिक वर्ष २०७५/७६ मा २३ करोड ६ लाख बजेट विनियोजन भए पनि २२ करोड १२ लाख मात्र खर्च भएको थियो । आर्थिक वर्ष २०७६/७७ मा २५ करोड ३८ लाख बजेट हुँदा १६ करोड २९ लाख रुपैयाँ मात्र खर्च भएको तथ्याङ्क छ ।
यस्तै, आर्थिक वर्ष २०७७/७८ मा १७ करोड ९९ लाख विनियोजन हुँदा २२ करोड ३९ लाख खर्च भएको थियो भने २०७८/७९ मा ३५ करोड ९४ लाख बजेट विनियोजन हुँदा संशोधित खर्च ४० करोड ६६ लाख पुगेको थियो ।
आर्थिक वर्ष २०७९/८० मा ४० करोड ९६ लाख विनियोजन हुँदा ५३ करोड ८८ लाख खर्च भएको देखिन्छ । आर्थिक वर्ष २०८०/८१ मा १९ करोड रुपैयाँ मात्र बजेट छुट्टाइए पनि संशोधित खर्च ५० करोड ८८ लाख पुगेको थियो ।
चालु आर्थिक वर्ष २०८२/८३ मा ४० करोड ४९ लाख रुपैयाँ विनियोजन गरिएको छ । वर्ष अन्तसम्म ४६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको परियोजना कार्यालयले जनाएको छ ।

सूचना अधिकारी इन्जिनियर परीक्षा पौडेलका अनुसार आयोजनाका लागि पर्याप्त बजेट जुटाउन हरेक वर्ष विभिन्न निकायमा धाउनुपर्ने अवस्था छ । सडकको ट्र्याक भने सबै खण्डमा खोलिसकिएको छ । तर कालोपत्रेको काम अझै सीमित क्षेत्रमा मात्र भएको छ ।
हालसम्म जम्मा ३६ किलोमिटर सडक कालोपत्रे गरिएको छ । यसअन्तर्गत रुपन्देहीमा ५ किलोमिटर, पाल्पामा ४ किलोमिटर र अर्घाखाँचीमा करिब २७ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको परियोजना कार्यालयले जनाएको छ ।
सडकसँगै पुल निर्माणको काम पनि जारी छ । हालसम्म सात वटा पुल निर्माण सम्पन्न भएका छन् भने अर्घाखाँचीको दोभान खोला र बागलुङको बौलाभाषे खोलामा बन्ने दुई वटा पुल अझै निर्माण हुन बाँकी छन् । ती पुलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने काम भइरहेको जनाइएको छ ।चालु आर्थिक वर्षभित्र थप २० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको छ ।
परियोजनाअन्तर्गत विभिन्न जिल्लामा अहिले बहु वर्षीय ठेक्का प्रणालीमार्फत काम भइरहेको छ । पाल्पाको खुर्सानेदेखि अर्घाखाँचीको पटौतीसम्म २२ किलोमिटर सडक कालोपत्रे भइरहेको छ । सन्धिखर्कको माटेदेखि भडारसम्म ७ किलोमिटर सडक कालोपत्रेको तयारी भइरहेको छ भने गुल्मीको पुर्कोटदहदेखि अर्खाबाङसम्म १९ किलोमिटर सडकमा निर्माण कार्य जारी छ ।
त्यस्तै, सिर्सेनीदेखि गङ्गरेसम्म ७ किलोमिटर तथा पुर्कोटदहदेखि सिर्सेनीसम्म २६ किलोमिटर सडक खण्डमा पनि निर्माण कार्य भइरहेको परियोजना कार्यालयले जनाएको छ । बजेट अभावका बिच पनि कामलाई निरन्तरता दिन बहु वर्षीय ठेक्का प्रणाली उपयोगी बनेको आयोजनाको भनाइ छ । तर काममा ढिलासुस्ती गर्ने निर्माण कम्पनीमाथि कारबाहीसमेत गरिएको छ ।
हालै चैत अन्तिम साता रुपन्देहीको सालझण्डीदेखि पाल्पाको खुर्सानेसम्म १३ किलोमिटर सडक निर्माणको ठेक्का तोडिएको छ । आर्थिक वर्ष २०७७/७८ मा ‘मणि ओम सुगम जेभी’ सँग २४ करोड रुपैयाँमा सम्झौता गरिएको थियो । तर कम्पनीले काममा ढिलाइ गरेपछि ठेक्का रद्द गरिएको हो ।
उक्त खण्डमा हालसम्म करिब ९ करोड रुपैयाँ बराबरको मात्र काम सम्पन्न भएको परियोजना कार्यालयले जनाएको छ । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकलाई लुम्बिनी र ढोरपाटन जोड्ने महत्त्वपूर्ण पर्यटकीय मार्गका रूपमा हेरिएको छ । सडक निर्माण सम्पन्न भएमा लुम्बिनी आएका पर्यटकलाई ढोरपाटनसम्म सहज पहुँच पुग्ने अपेक्षा गरिएको छ ।
विशेषगरी ढोरपाटन सिकार आरक्ष पुग्ने विदेशी पर्यटकलाई यो सडकले प्रत्यक्ष लाभ पु¥याउने विश्वास गरिएको छ । सडकले लुम्बिनी प्रदेशका रुपन्देही, पाल्पा, अर्घाखाँची र गुल्मीलाई गण्डकी प्रदेशको बागलुङसँग जोड्नेछ । बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालका अनुसार सडक निर्माण सम्पन्न भएमा पर्यटनसँगै व्यापारिक गतिविधिमा पनि उल्लेखनीय वृद्धि हुनेछ ।
सालझण्डीका होटल व्यवसायी मणि घिमिरेले सडक सञ्चालनमा आएपछि पहाडी जिल्लामा पर्यटकको चहलपहल बढ्ने र स्थानीय व्यापार–व्यवसायले गति लिने विश्वास व्यक्त गरे । स्थानीय व्यवसायी र सरोकारवालाले सरकारले पर्याप्त बजेट सुनिश्चित गरेर निर्माण कार्यलाई तीव्रता दिनुपर्ने माग गर्दै आएका छन् ।