© 2026
बाँके । आजको नेपालगन्जको मुटु मानिने क्षेत्र धम्बोझीको घरबारी टोल, त्रिभुवन चोक, न्यूरोड, सदर लाइन यी सबै कुनै समय खुला जमिन थिए । यहाँ धान, गहुँ, मकै र तरकारीको खेती हुन्थ्यो । घरहरू छरिएका थिए, माटोले बनेका, फुसका छाना भएका थिए ।
हरेक घरसँग जोडिएको सानो वा ठुलो बारी हुन्थ्यो । बिहान मानिसहरू बारीतिर लाग्थे, बेलुका फर्केर आँगनमा बस्ने चलन थियो । त्यो समयको जीवन सरल थियो, तर आत्मनिर्भर पनि थियो ।
नेपालगन्जको आजको मुख्य बजार, जहाँ बिहानैदेखि पसल खुल्ने, सवारीसाधनको चाप बढ्ने र साँझसम्म किनमेलको चहलपहल चलिरहन्छ । त्यही भूभाग कुनै समय शान्त “घर र बारी” मात्र थियो भन्ने कुरा अहिलेका नयाँ पुस्तालाई पत्याउन गाह्रो पर्न सक्छ । तर समयको बहावसँगै परिवर्तनको यो कथा केवल भौतिक विकासको मात्र होइन, सामाजिक, सांस्कृतिक र आर्थिक रूपान्तरणको गहिरो दस्ताबेज हो ।
यही परिवर्तनको केन्द्रमा रहेको “घरबारी टोल” आज नेपालगन्जको मुटु बनेको छ । आजको व्यस्त बजार क्षेत्र त्रिभुवन चोक, न्यूरोड, धम्बोजीको घरबारी टोल २०३० र ४० सालतिरसम्म खुला जमिन, खेतीपाती हुने बारी र छरिएका माटाका घरहरूले भरिएको थियो । नेपालगन्ज १२ का स्थानीय प्रमान्द शर्माका अनुसार त्यस समय यहाँ धान, गहुँ, मकै लगायत तरकारी खेती लगाइन्थ्यो ।
उनले भने, हरेक घरसँग जोडिएको बारी हुन्थ्यो, जसले परिवारको खाद्यान्न आवश्यकतालाई पूरा गर्थ्यो । गाईबस्तु पाल्ने, दाउरा बाल्ने, कच्ची बाटो हुँदै आवतजावत गर्ने यी सबै त्यति बेलाको दैनिकीका हिस्सा थिए । साँझ पर्दा टोल शान्त हुन्थ्यो, केवल मान्छेहरूको कुरा र जनावरको आवाज सुनिन्थ्यो । त्यो सम्झिँदा कथा जस्तै लाग्छ समय कति छिटो परिवर्तन हुन्छ थाहै हुँदैन ।
त्यो समयको जीवन सरल थियो, तर आत्मनिर्भर बजारको अवधारणा सीमित थियो साना हाटबजारहरू मात्रै चल्थे, उनले भने ।“घरबारी टोल” नाम आफैँमा यसको इतिहास बोकेको छ । “घर” र “बारी” यी दुई शब्दले यहाँको पहिचान निर्माण गरेका हुन् ।
पहिले यहाँ बसोबास गर्ने परिवारहरूले आफ्नो घरसँगै बारी राख्थे । यही कारणले यस क्षेत्रलाई “घरबारी” भनिन थालियो । प्रारम्भिक बासिन्दामा स्थानीय मधेसी समुदायको उल्लेखनीय उपस्थिति थियो । उनीहरूको जीवनशैली कृषि आधारित र सामुदायिक सहकार्यमा आधारित थियो ।
बिस्तारै पहाडी र थारु समुदाय पनि यहाँ बसाइँ सरेर आए । यसले घरबारी टोललाई बहु सांस्कृतिक बनायो । जहाँ विभिन्न भाषा, संस्कार र परम्पराहरू एकै ठाउँमा मिसिए ।
२०२० सालपछि नेपालको तराई क्षेत्रमा बसाइसराइ बढ्न थाल्यो । नेपाल सरकारले तराईलाई बसोबास योग्य बनाउने नीति लिएपछि पहाडी जिल्लाबाट मानिसहरू झर्न थाले । यसको प्रत्यक्ष प्रभाव घरबारी टोलमा पनि देखियो ।
जनसङ्ख्या बढ्दै गयो, जमिन टुक्रिँदै गयो र बारीहरू क्रमशः साना हुँदै गए । नयाँ आएका बासिन्दाहरूले आधुनिक शैलीका घर बनाउन थाले इट्टाका भित्ताहरू, टिनका छाना । यसले टोलको स्वरूप परिवर्तन ग¥यो । बिस्तारै घरहरू नजिकिँदै गए र खुला जमिन घट्दै गयो ।
नेपालगन्जको विकासमा निर्णायक मोड तब आयो, जब सडक सञ्जाल बिस्तार भयो । विशेष गरी महेन्द्र राजमार्ग सँगको पहुँचले यस क्षेत्रलाई देशका अन्य भागसँग जोड्यो ।
त्यसपछि यहाँ यातायात सहज भयो र बाहिरी व्यापारी आउन थाले त्यसपछि यहाँका स्थानीय उत्पादनको बिक्री बढ्यो अनि यहाँ मानिसहरूले सहज रूपमै व्यापार गर्न थाले । घरबारी टोलमा पनि यसको प्रभाव देखियो । घरको अगाडिको बारी हटाएर पसल खोल्ने क्रम सुरु भयो । जहाँ पहिले खेत जोतिन्थ्यो, त्यही ठाउँमा सटर उठ्न थाले ।
२०४० पछि घरबारी टोलमा तीव्र सहरीकरण सुरु भयो । जमिनको मूल्य बढ्न थाल्यो । मानिसहरूले बारी बेचेर वा भाडामा दिएर व्यवसाय सुरु गर्न थाले । त्यसपछि कपडा पसल, किराना स्टोर, मोबाइल तथा इलेकट्रोनिक्स शोरुम, बैङ्क तथा वित्तीय संस्था र होटल तथा रेष्टुरेन्ट लगायत सबै प्रकारका व्यवसाय यही क्षेत्रमा केन्द्रित छन् । घरबारी टोल अब केवल बसोबास गर्ने ठाउँ होइन, नेपालगन्जको मुख्य आर्थिक केन्द्र बनेको छ ।
नेपालगन्जको बजार विकासमा बागेश्वरी मन्दिरको महत्त्वपूर्ण भूमिका छ । जन घरबारी टोल सँगै जोडिएको छ । यो मन्दिर धार्मिक आस्थाको केन्द्र मात्र होइन, आर्थिक गतिविधिको पनि केन्द्र हो । मन्दिरमा आउने भक्तजनहरूले बजारलाई चलायमान बनाएका छन् । मन्दिर वरिपरि पसलहरू बढे, होटल खुले, र व्यापार विस्तार भयो । यसले घरबारी टोलको बजारीकरणलाई अझ तीव्र बनायो ।
पुराना पुस्ता नेपालगन्ज २ निवासी नन्कु बर्मा घरबारी टोलका वृद्ध बासिन्दाहरू अझै सम्झन्छन् । “जहाँ अहिले ठुलो बैङ्क छ, त्यहाँ पहिले हाम्रो धानको खेत थियो ।” यस्ता कथाहरूले केवल सम्झना मात्र होइन, परिवर्तनको गहिरो अनुभूति दिन्छन्,उनले भने । उनीहरूका लागि आजको विकास गर्वको विषय भए पनि, पुरानो शान्त वातावरण हराएकोमा केही पीडा पनि रहेको घरबारी टोलका पिन्टु चाचा भन्छन् ।
आज घरबारी टोल पूर्ण रूपमा आधुनिक बनिसकेको छ । पक्की सडक, ठुला भवन र निरन्तर व्यापार छन् । तर यससँगै चुनौतीहरू पनि आएका छन् । ट्राफिक जाम, प्रदूषण, खुला ठाउँको अभाव र पुरानो पहिचान हराउँदै गएको छ ।
सहरीकरणको दबाबले टोलको ऐतिहासिक स्वरूप लगभग मेटिएको छ । अबको चुनौती भनेको विकास र इतिहासबिच सन्तुलन कायम गर्नु हो । यदि स्थानीय तह र सरोकारवालाहरूले पुराना कथा र इतिहास सङ्कलन गरे सांस्कृतिक पहिचान जोगाउने प्रयास गरे व्यवस्थित सहरी योजना लागू गरे भने घरबारी टोललाई केवल बजार होइन, इतिहास बोकेको सांस्कृतिक क्षेत्रका रूपमा विकास गर्न सकिन्छ ।
घर र बारीबाट सुरु भएको घरबारी टोलको यात्रा आजको व्यस्त बजारसम्म आइपुगेको छ । यो परिवर्तन केवल भौतिक विकास होइन । मानिसहरूको जीवनशैली, संस्कृति र सोचको परिवर्तनको कथा हो ।
आज नेपालगन्ज को मुख्य बजारमा उभिँदा, सटरहरू, भिडभाड र गाडीहरूको आवाजबिच कतै न कतै पुरानो बारीको सुगन्ध अझै लुकेको जस्तो लाग्छ । समयले धेरै कुरा बदल्यो, तर इतिहास भने अझै मेटिएको छैन । घरबारी टोलको कथा हामीलाई सम्झाउँछ । “जहाँ बजार छ, त्यहीँ कहिल्यै बारी थियो ।”