© 2026
चन्द्रौटा । कक्षाकोठाभित्र पानी चुहिरहेको थियो । बाहिर हावाहुरीको गर्जन चलिरहेको थियो । जस्तापाताको छाना हल्लिँदै थियो । साना बालबालिका डरले एक आपसमा टाँसिएका थिए ।
त्यही बेला एक शिक्षिकाले बेन्च ठाडो पारिन् र आफ्नै शरीर भिजाउँदै विद्यार्थी बालबालिकालाई ओत दिइन्, त्यो कुनै काल्पनिक थिएन ।
कपिलवस्तुको विजयनगर गाउँपालिका–६, जड्पनियास्थित रामशरण आधारभूत विद्यालयको वास्तविक दृश्य थियो, जुन मोबाइल क्यामेरामा कैद गरेका थिए स्वयंसेवक शिक्षक शम्भु विश्वकर्मा र केही घण्टामै सामाजिक सञ्जालभर फैलियो । भिडियोमा देखिएकी शिक्षिका थिइन्, निर्मला महतरा थापा । बालविकास तहका साना विद्यार्थीलाई बचाउन उनी बेन्च समातेर उभिएकी थिइन् । अर्का शिक्षकले ढोका थामिरहेका थिए ।
बाहिरबाट आएको हावाहुरीले भेन्टिलेशन र फुटेका झ्यालबाट पानी भित्र छिराइरहेको थियो । “बालबालिका कापी किताब च्यापेर डराइरहेका थिए,” शिक्षिका थापाले भनिन्, “आफू भिजे पनि उनीहरूलाई जोगाउनु पहिलो जिम्मेवारी लाग्यो । त्यति बेला अरू उपाय नै थिएन ।”
भिडियो भाइरल, सरकारको चासो
वैशाख २१ गते आएको भीषण हावाहुरीपछि बनेको भिडियो २२ गतेदेखि सामाजिक सञ्जालमा तीव्र रूपमा फैलियो । धेरैले शिक्षिकाको मानवता र समर्पणको प्रशंसा गरे । कतिपयले भने प्रश्न उठाए विद्यार्थी यस्तो विद्यालयमा किन पढ्न बाध्य छन् ? भिडियो भाइरल बनेपछि शिक्षा मन्त्रालय र शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुको टोली विद्यालय पुग्यो ।
निमित्त प्रमुख चोपलाल बेल्बासेका अनुसार भिडियोले देखाएको अवस्था असाधारण मौसमका कारण बनेको हो, तर विद्यालयको भौतिक अवस्था कमजोर रहेको तथ्यलाई नकार्न नसकिने बताए । “हावाहुरी निकै तीव्र थियो । टिनको छाना, अग्ला झ्याल र भेन्टिलेशनबाट पानी छिरेको हो,” उनले भने, “तर यस्ता अवस्था भएका विद्यालय जिल्लामा अरू पनि छन् ।” पक्की भवनमा अध्ययन गर्न पाउनुपर्छ । गाउँपालिकाले समेत विद्यालयको विकासका लागि पहल गरिरहेको उनको भनाइ छ ।
२०१७ सालको विद्यालय जीर्ण
वि.सं. २०१७ सालमा स्थापना भएको यो विद्यालय जिल्लाकै पुराना विद्यालयमध्ये पर्छ । तर समयसँगै भवन बूढो भयो, संरचना कमजोर बन्दै गयो । बिचमा केही मर्मत पनि भएका थिए । प्रधानाध्यापक जमुना अर्यालका अनुसार विद्यालयका ८ वटा कक्षाकोठामध्ये ६ वटा २०४९ सालअघिका हुन् । सबैजसो कोठा जस्तापाताले छाइएका छन् । केही ढोका फुटेका छन्, झ्याल राम्ररी बन्द हुँदैनन् ।
“हावाहुरीले पानी बेस्सरी भित्र ल्यायो,” अर्याल भन्छिन्, “सुरक्षित ठाउँ नभएपछि अफिस कोठामै बालबालिकालाई राखेका थियौँ ।” विद्यालयमा अध्ययनरत २ सय ६० भन्दा बढी विद्यार्थीमध्ये अधिकांश विपन्न तथा मधेसी दलित समुदायका छन् । आर्थिक अभाव, कमजोर संरचना र सीमित स्रोतबिच विद्यालयले पठनपाठन धानिरहेको छ ।
भिडियो भाइरल नभए पनि सम्बन्धित निकायमा विद्यालयको विकासका लागि पहल गरेको गाउँपालिकाको दाबी छ । विद्यालयको अवस्था सुधारका लागि गाउँपालिकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा १ करोड रुपैयाँ लगायत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय जस्ता सम्बन्धित निकायसँग गत चैत ३० गते माग गरेको जनाएको छ ।
अर्का यस्तै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री जानकी प्रसाद यादवले संसदीय कोषबाट ४० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा भाइरल बनेको दृश्यप्रति शिक्षामन्त्री सस्मित पोख्रेलले समेत प्रतिक्रिया जनाएका छन् ।
उनले “विद्यार्थीलाई ओत दिँदै गरेको दृश्यले मन बेचैन बनाएको” उल्लेख गरेका छन् । यो केवल एक शिक्षिकाको साहसको कथा मात्र होइन । यो ग्रामीण शिक्षाको वास्तविक तस्बिर पनि हो । जहाँ शिक्षकहरू कहिलेकाहीँ पाठ पढाउनेभन्दा पहिले बालबालिकालाई पानी, घाम र हावाहुरीबाट जोगाउन बाध्य छन् । भिडियोले लाखौँ मानिसको ध्यान तान्यो ।
प्रशंसा पनि आयो । सहानुभूति पनि आयो । तर स्थानीय अभिभावकको प्रश्न अझै उस्तै छ । “बालबालिकाले पढ्ने ठाउँ सुरक्षित कहिले हुन्छ ?” तर गाउँपालिकाको शिक्षा शाखाले विद्यालय क्षेत्रमा उल्लेखनीय सुधार गरेको जनाएको छ ।