Butwal Today

सीमा सुरक्षालाई प्रभावकारी बनाउन डिआईजी फिल्डमा

२४ बैशाख २०८३, बिहीबार
अ+
अ-

भैरहवा । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले रूपन्देही जिल्लाका सीमावर्ती क्षेत्रका प्रहरी एकाइहरूको स्थलगत निरीक्षण गर्दै सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख खत्रीले जिल्ला प्रहरी कार्यालय रूपन्देहीमातहत सञ्चालनमा रहेका इलाका प्रहरी कार्यालय मझगावाँ तथा बगौली, पाण्डे पिप्रहवा, मुडिला करौता र रोइनिहवा प्रहरीचौकीको अनुगमन गरेका थिए । निरीक्षणका क्रममा उनले सीमावर्ती क्षेत्रमा हुनसक्ने चोरीपैठारी, मानव तस्करी, लागुऔषध ओसारपसार, फरार अपराधीको आवतजावत तथा अन्य आपराधिक गतिविधि नियन्त्रणमा उच्च सतर्कता अपनाउन निर्देशन दिए ।

खुला सीमाका कारण उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै नियमित गस्ती, चेकजाँच र सूचनाको आदानप्रदानलाई सुदृढ बनाउनुपर्ने उनको भनाइ थियो । खत्रीले कानुन कार्यान्वयनमा कुनै सम्झौता नगर्न, नागरिकमैत्री सेवा प्रवाह गर्न तथा आमनागरिकसँग समन्वय बढाउन आग्रह गरे । उनले अपराध नियन्त्रणमा समुदाय–प्रहरी साझेदारी प्रभावकारी हुने उल्लेख गर्दै स्थानीय तह र सर्वसाधारणसँग सहकार्य बढाउनुपर्नेमा जोड दिए ।

भ्रमणका क्रममा प्रदेश प्रहरी प्रमुख खत्रीले नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण गर्नुका साथै भारतीय सशस्त्र सीमा बल एसएसबीका अधिकारीहरूसँग भेटघाट गरी सीमा सुरक्षाको अवस्था, आपसी समन्वय र संयुक्त सहकार्यका विषयमा छलफल गर्नुभएको थियो । सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न दुवै देशका सुरक्षा निकायबीच नियमित समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई थप मजबुत बनाइने विश्वास व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?