© 2026
काठमाडौँ । नेपाल ए टोली ले स्कटल्यान्ड सँगको पहिलो एक दिवसीय अभ्यास खेलमा शानदार जित दर्ता गरेको छ । बिहीबार भएको खेलमा नेपाल ‘ए’ले स्कटल्यान्डलाई ४५ रनले पराजित गरेको हो ।
नेपाल ‘ए’ले दिएको २ सय ७८ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड ४८.२ ओभरमा २ सय ३२ रनमै अलआउट भयो । स्कटल्यान्डलाई कम स्कोरमा समेट्न नेपालका लागि रासिद खान ले ३ विकेट लिए । उनले ३.२ ओभरमा २३ रन खर्चिए। यस्तै युवराज खत्री, बसिर अहमद र साहब आलम ले समान २–२ विकेट लिए भने कुशल मल्ल ले १ विकेट लिए ।
स्कटल्यान्डका लागि फिन्ले म्याकक्रिथ ले सर्वाधिक ५२ रन बनाए। ज्याक जार्भिस ले ४५, मार्क वाट ले ३७, म्याथु क्रस ले २२ तथा ब्रान्डोन म्याकमुलेन ले २१ रन जोडे ।त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदान मा पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७७ रन बनाएको थियो ।
नेपालका लागि देव खनाल ले ६३ रनको योगदान दिए । मयन यादव ले ४५, सन्दीप जोरा ले ३४, पवन सर्राफ ले ३१ रन बनाए। अनिल शाह ले १८ तथा बसिर अहमद ले १७ रन थपे ।
अन्तिम ओभरमा दिपक डुम्रे ले आक्रामक ब्याटिङ गर्दै नेपाललाई उत्कृष्ट फिनिसिङ दिलाए। पहिलो बल डट खेलेका उनले त्यसपछि लगातार पाँच चौका प्रहार गर्दै ७ बलमा अविजित २३ रन बनाए। रासिद खान १४ रनमा अविजित रहे ।
स्कटल्यान्डका लागि ब्राड्ली करी र सफयान सरिफ ले समान २ विकेट लिए। यस्तै ज्याक जार्भिस, ओलिभर डाभिसन, ब्रान्डोन म्याकमुलेन र मार्क वाट ले समान १–१ विकेट लिए । नेपाल ‘ए’ टोलीले अब शुक्रबार अमेरिका सँग खेल्नेछ ।