Butwal Today

एनआरएनए हटलाइनबाट थुप्रै श्रमिकले राहत पाएका छन् : श्रमिक संयोजक पौडेल

२१ बैशाख २०८३, सोमबार
अ+
अ-

कतार ।

गैर आवासीय नेपाली सङ्घ एनआरएनए एनसिसी कतारले सञ्चालनमा ल्याएको हटलाइन सेवा अहिले प्रभावकारी माध्यमको रूपमा स्थापित हुँदै गएको छ । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपाली श्रमिकहरूका विभिन्न समस्या समाधान गर्न यो सेवा श्रमिकहरूको भरोसायोग्य र दुखको साथी बन्न पुगेको छ ।

एनआरएनए एनसिसी कतारले करिब ६ महिना पहिले सुचारु गरेको उक्त हटलाइनमा दैनिक रूपमा दर्जनौँ श्रमिकहरूले सम्पर्क गरी आफ्ना गुनासा, समस्या तथा जिज्ञासा राख्ने गरेका छन् ।  दैनिकी रूपमा आएका समस्याहरू सम्बन्धित निकायसँग समन्वय गरेर समाधान गर्ने प्रयास भइरहेको एनसिसी कतारका दित्तिय उपाध्यक्ष तथा श्रमिक संयोजक सन्तोष पौडेलले बुटवल टुडे सगंको कुराकानीमा बताएका छन् ।

पौडेलका अनुसार धेरै जना समस्यामा परेका नेपाली श्रमिकहरूले  छोटो समयमै राहत पाएका छन् भने कतिपय गम्भीर समस्याहरू समेत कानुनी प्रक्रियामार्फत समाधान भएका उदाहरणहरू पनि देखिएका छन् ।  उनी भन्छन्, कतिपय श्रमिकले आफूले काम गरेको कम्पनीबाट पाउनुपर्ने पारिश्रमिक नपाएको गुनासो हामी माझ आएपछि हाम्रो पहलमा सम्बन्धित निकायसँग समन्वय गरी कैयौँ श्रमिकलाई बक्यौता रकम दिलाउन सफल भएको छौँ ।

पछिल्लो समय नेपाली राजदूतावासले पनि कतारमा रहेका नेपाली श्रमिकका समस्यालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ । समस्या परेका श्रमिकहरूले गर्ने  कल, फोन, म्यासेज तथा इमेलहरूमा दूतावासले सकारात्मक  प्रतिक्रिया दिँदै आएको उनको भनाई छ ।

नेपालीले नेपालीलाई नै आर्थिकको मामिलामा ठगी  गरेको हटलाइनमा आउने धेरै जनगुनासो मध्य एक हो ।  यस्तो प्रवृत्तिले नेपाली समुदायप्रति विश्वास घटने पौडेलको दाबी छ । कुनै पनि नेपालीले अर्का नेपालीलाई ठग्ने वा लुट्ने काम नगर्न पौडेलले आग्रह गरेका छन् ।

वैदेशिक रोजगारीका क्रममा आइपर्ने समस्या समाधानका लागि आवश्यक कागजातको महत्त्व औँल्याउँदै उनले श्रमिकलाई आफ्ना सबै डकुमेन्ट सुरक्षित राख्न आग्रह गरेका छन् । साथै, आफू कार्यरत कम्पनीको नाम, ठेगाना तथा सम्पर्क नम्बर जस्ता विवरण परिवारलाई जानकारी गराउनु अत्यन्त आवश्यक रहेको उल्लेख गरेका छन् । कुनै पनि समस्या परेको खण्डमा कल या हवाटसपमा म्यासेज गर्न सकिने र हटलाइन सेवा २४ औ घण्टा खुल्ला रहेको समेत उनले जानकारी दिए ।

एनआरएनएले एनसिसी कतारले आगामी दिनमा यस सेवालाई अझ प्रभावकारी बनाउने योजना बनाएको छ । साथै, श्रमिकलाई सचेतना दिन विभिन्न जानकारीमूलक कार्यक्रम समेत सञ्चालन गर्ने तयारी गरिएको अध्यक्ष कृष्ण पन्थीले बताएका छन् ।

नेपाली श्रमिकहरूको हकहितका लागी एनआरएनए कतारले गरेको यो पहलले उनीहरूलाई आत्मविश्वास बढाउनुका साथै सुरक्षित वैदेशिक रोजगारीमा टेवा पुर्‍याउने विश्वास गरिएको छ । कतारमा रहेका नेपाली श्रमिकहरूले पनि यो सेवाप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् । नेपाली सङ्घले सञ्चालनमा ल्याएको हटलाइन नम्बर उक्त 974-70001353 रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?