© 2026
भैरहवा । सिद्धार्थनगर नगरपालिकाले जथाभाबी फोहोर फाल्ने व्यक्ति तथा व्यवसायमाथि कडाइका साथ कारबाही सुरु गरेको छ ।
चैत १८ गतेदेखि लागू गरिएको नियमअनुसार फोहोर वर्गीकरण नगर्ने वा सार्वजनिक स्थलमा फोहोर फाल्नेलाई ५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले पत्रकारसँग कुरा गर्दै हालसम्म १५–२० जनालाई फोटो तथा भिडियो प्रमाणसहित पहिचान गरिएको र ७ जनालाई कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
कारबाही अन्तर्गत ‘कुरैसी मासु पसल’का सञ्चालकलाई सार्वजनिक स्थानमा मासुका अवशेष फालेको आरोपमा ५ हजार रुपैयाँ जरिवाना तिराइएको छ । साथै स्नेहा खाजा घर, प्रकाश खड्का, सानु डिपार्टमेन्ट स्टोर, विनोद चौधरी, बुद्ध डेन्टल क्लिनिक र लुम्बिनी नेत्रालयलाई पनि फोहोर व्यवस्थापनमा लापरबाही गरेको भन्दै निगरानी तथा कारबाही सूचीमा राखिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको अनुगमन टोलीले दैनिक रूपमा निरीक्षण गरिरहेको छ र उल्लङ्घन गर्नेलाई तत्काल कारबाही गरिने चेतावनी दिएको छ । नगरपालिकाले सबै नागरिकलाई घरमै फोहोर वर्गीकरण गर्न र जथाभाबी फोहोर फाल्ने देखेमा प्रमाणसहित जानकारी गराउन आग्रह गरेको छ। यस्तो सूचना दिने व्यक्तिलाई पुरस्कृत गर्ने व्यवस्था समेत गरिएको छ ।