© 2026
बुटवल । तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रभित्र हुक्का र भेपको प्रयोगमा कडाइ गर्दै नयाँ प्रतिबन्ध लागू गरेको छ । बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माण गर्ने लक्ष्यअनुसार यो निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार होटल, रेस्टुरेन्ट, चिया पसल र क्याफेहरूमा खुला रूपमा हुक्का र भेपको प्रयोग हुँदा बालबालिका तथा किशोर–किशोरीको शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यमा नकारात्मक असर परेको पाइएको छ ।
त्यसै गरी, शैक्षिक संस्थाको पोसाकमै विद्यार्थीहरूले यस्ता पदार्थ सेवन गरेको भेटिएपछि दुर्व्यसन नियन्त्रणका लागि कडाइ गर्नुपरेको नगरपालिकाको भनाइ छ । १८ वर्ष मुनिका बालबालिकालाई हुक्का तथा भेप बिक्री वितरण गर्न र सेवन गराउन पूर्ण रूपमा रोक लगाइएको छ ।
नगर कार्यपालिकाको मिति २०८३ / ०१ / १५ को निर्णयअनुसार, यो नियम उल्लङ्घन गर्ने व्यक्ति वा संस्थामाथि प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने सूचनामा उल्लेख छ । नगर प्रमुख रामकृष्ण खाँणले हस्ताक्षरित सूचनामार्फत यो जानकारी सार्वजनिक गरिएको हो ।
नगरपालिकाले बालबालिकाको सुरक्षित भविष्य र स्वस्थ समाज निर्माणका लागि यो कदम महत्त्वपूर्ण हुने जनाएको छ ।
