Butwal Today

साढे ५४ हजार स्थायी बसोबास रहेको बुटवल ११ लाई विभाजन गर्ने कि यथावत् राख्ने ? 

बढी जनसङ्ख्या हुनेमा देशकै चौथो वडा 
१५ बैशाख २०८३, मंगलवार
अ+
अ-

बुटवल  । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ बढी जनसङ्ख्या हुनेमा देशभरमै चौथो वडा हो । २०७८ सालको जनगणना अनुसार यो वडामा ५४ हजार ६९९ जनाको स्थायी बसोबास छ ।

काठमाडौँ महानगरपालिकाका ३ वटा वडामा मात्र बुटवल ११ को भन्दा बढी जनसङ्ख्या छ । जस अन्तर्गत काठमाडौँको वडा नम्बर ६ (५९,२४७),  वडा नम्बर १६ (८५,८४९), र वडा नम्बर ३२ (८३,३९०) वडाहरू हुन् । काठमाडौँ महानगरपालिकाका अन्य वडा र बाँकी पाँच वटा महानगरका कुनै पनि वडामा बुटवल ११ को जति जनसङ्ख्या छैन ।

बुटवलकै दोस्रो बढी जनसङ्ख्या भएको उपमहानगरको १३ नम्बर वडामा १६ हजार ७३२ जनाको स्थायी बसोबास छ । १३ को तेब्बर भन्दा बढी जनसङ्ख्या ११ नम्बर वडामा देखिन्छ । जनसङ्ख्याको हिसाबमा तेस्रोमा बुटवल १२ रहेको छ । जहाँ १३ हजार ५६७ जनसङ्ख्या रहेको छ ।

सबै भन्दा कम जनसङ्ख्या हुने वडा बुटवल १९ रहेको छ । साविक मोतिपुर गाविसमा पर्ने यो वडामा २ हजार ८६१ जनसङ्ख्या छ । त्यसपछि वडा नम्बर १६ मा ३ हजार ३७१ र १ नम्बर वडामा ३ हजार ३७७ जनसङ्ख्या रहेको छ । यसरी हेर्दा बुटवलमा जनसङ्ख्याको व्यापक असमान देखिन्छ ।

बुटवल ११ अन्तर्गत सिद्धार्थ राजमार्गको पश्चिम तर्फको कालिकानगर र देवीनगर लगायतका ठाउँ पर्दछन् । योगिकुटी चोकबाट पश्चिम मगरघाटसम्म र उत्तर तर्फ होराइजन चोक माथिको शिवालय मन्दिरसम्म त्यस्तै वाणिज्य क्याम्पससँगै ३६ कुलोको सीमा हुँदै माझगाउँसम्म पर्दछ । मगर घाटबाट तिनाउ पारी सशस्त्रको क्याम्पबाट नहरपुर, बुद्धनगर हुँदै दानव नदीको पुलसम्म, मैनाबगर क्षेत्रको केही भाग पनि बुटवल ११ मा पर्दछ ।

एउटै वडामा बढी जनसङ्ख्या भएकाले बुटवल ११ मा सेवा प्रवाहमा समेत समस्या भएको छ । सेवाग्राहीलाई सेवा लिन हैरानी समेत हुने गर्दछ । धेरै जनसङ्ख्याको प्रतिनिधित्व गर्नुपर्दा निकै व्यस्त हुनुपर्ने र वडाबासीहरुसँग साक्षात्कार गर्न समस्या हुने गरेको बुटवल ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले सुनाए ।

‘अरू वडाध्यक्षहरुलाई जस्तै वडाबासीलाई भेट्न र कार्यक्रमहरुमा जान मैले फुर्सद पाउँदिन । कार्यालयमा सेवाग्राहीको जतिखेर पनि भिड हुन्छ ।’ उनले भने ‘शनिवार र विदाको दिन बाहेक कहीँ कतै जान पाइँदैन । एकातर्फ धेरै जिम्मेवारी निर्वाह गरेँ भन्ने गर्व पनि लाग्छ । अर्को तर्फ सेवाग्राही बाहेक अरुसँग भेटघाट र साक्षात्कार गर्न फुर्सद नहुँदा गाह्रो पनि भएको छ ।’

अरू वडाका तुलनामा यो वडामा विवाद र झै झगडा धेरै हुने र मिलाउन गाह्रो हुने वडा सदस्य नहकुल शाहीले बताए । ‘यहाँ जनसङ्ख्या पनि धेरै छ । अव्यवस्थित बसोबास बढी भएको क्षेत्र हो । समस्याहरू पनि धेरै छन् ।’ उनले भने ‘झैझगडा, जग्गाको विवाद भइरहन्छ । समस्या मिलाउँदा हैरान हुन्छ ।’

बुटवल ११ मा ६१ वटा टोल विकास संस्था छन् । जनप्रतिनिधिहरूलाई जस्तै सेवाग्राहीलाई पनि वडा कार्यालयमा सेवा लिन सास्ती हुने गर्दछ । सिरानगाउँ मजुवा एक नम्बर टोल विकास संस्थाका अध्यक्ष प्रकाश श्रेष्ठले वडा कार्यालय टाढा र सेवा पाउन पनि गाह्रो हुने बताए । ‘यहाँबाट तिनाउ पारी जानुपर्‍यो । वडा कार्यालयमा पुगेपछि कहिले छिटो छरितो काम हुँदैन, पालो कुर्नपर्छ ।

वडा ठुला भए पनि कर्मचारी कम छन् ।’ उनले भने ‘हाम्रो वडामा कतिखेर पनि खाली हुँदैन । गएर सरर काम गर्न कहिले पाइँदैन ।’ बुद्धनगर क्षेत्रमै वडा कार्यालय भए आँफूहरुलाई धेरै सजिलो हुने श्रेष्ठले बताए ।

वडा ठुलो र अस्तव्यस्त भएकाले विगतमा विभाजन गर्ने प्रस्ताव पनि गरिएको थियो । अघिल्लो कार्यकालमा शिव सुवेदी नगरप्रमुख हुँदा बुटवल ११ लाई ३ भागमा विभाजन गर्न उपमहानगरपालिकाले निर्णय गरेर पठाएको थियो ।

प्रस्तावमा प्रदेशले पनि निर्णय गरेर केन्द्रमा बुझायो । त्यति नै बेला संसद् विघटनको विवाद, अनि केपी ओली नेतृत्वको सरकार फेरिएर शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि प्रस्ताव अघि बढ्न ढिलाइ भयो । पछि स्थानीय चुनाव नजिकिएको र मतदाता नामावली व्यवस्थापन गर्न गाह्रो हुने भन्दै निर्वाचन आयोगले वडा विभाजन नगर्न भन्यो ।

त्यस बेला बुटवल ११ लाई ३ भागमा विभाजन गर्ने प्रस्ताव गरिएको थियो । वडाध्यक्ष रामचन्द्र क्षेत्रीका अनुसार तिनाउ पारीको बुद्धनगर, नहरपुर क्षेत्रलाई एउटा वडा बनाउने प्रस्ताव गरिएको थियो ।

होराइजन चोक, पुरानो वडा कार्यालय, देवीपथ, प्रधानपथ, प्रगतीनगरको सडक र नयाँ वडा कार्यालय हुँदै पश्चिम तिनाउ खोलासम्मको सडकलाई सिमाना बनाएर उत्तर र दक्षिण तर्फ एक एक वटा वडा बनाउने प्रस्ताव गरिएको थियो ।

धेरै जनसङ्ख्या भएकाले अहिले भएको वडा कार्यालय निकै साँघुरो भएको छ । सेवाग्राहीको भिड र पार्किङको सुविधा नहुँदा बेला बेलामा सडक जाम हुने गर्दछ । देविनगर रंगशाला नजिक नयाँ वडा कार्यालय बनेको छ । त्यहाँ एउटा भवन पहिले बनेको थियो ।

त्यो भवन मात्र साँघुरो हुने भएकाले थप एउटा भवन निर्माण भएको छ । शनिवार नयाँ वडा कार्यालयको उद्घाटन गरिएको थियो । एक हप्ताभित्र बुटवल ११ को सेवा नयाँ वडा कार्यालयबाट हुने वडाध्यक्ष रामचन्द्र क्षेत्रीले बताए ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले ११ नम्बर वडामा रंगशाला, चारलेनको फराकिलो सडक लगायत थुप्रै पूर्वाधार बनेको बताए । ठुलो वडा भएकाले यहाँ धेरै बजेट विनियोजन भएको उल्लेख गरे ।

‘हामीले यो वडालाई प्रत्येक वर्ष २५ करोड बजेट छुट्टाएका छौँ । अरू कतिपय पालिकाको बजेट २५ करोड हुँदैन । पाण्डेयले भने । उनले बुटवलको विकासमा सहयोग गर्न वडा बासीलाई आग्रह गरे ।

२० वर्ष अघि सम्म अहिलेको बुटवल वडा नम्बर ११ मा धेरै जग्गाहरू खाली थिए । सिद्धार्थ राजमार्ग आसपास र पश्चिम पट्टी पातला बस्ती थिए । वडामा धेरै जसो खेतीयोग्य भूभाग थियो । २०६० को दशक पछि जग्गाको कारोबार तीव्र रूपमा बढ्यो । सहर नजिकको खाली भूभाग भएकाले यो वडामा जग्गा किन्ने र घर बनाउने क्रम तीव्र रूपमा बढ्न थाल्यो ।

अहिले यो वडाको सबै जसो क्षेत्रमा बाक्लो बस्ती छ । सुकुम्वासी तथा अव्यवस्थित बसोबासको सङ्ख्या पनि बढी छ । २०७८ को जनसङ्ख्या अनुसार जनसङ्ख्या ५४ हजार ६९९ भए पनि चार वर्षको अवधिमा निकै बढेको छ । स्थायी बसोबास बाहेक अस्थायी बसोबासको सङ्ख्या पनि उच्च छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?