Butwal Today

ओभर लोड ट्रकको दबदबा: सडक बिग्रँदा सरकार रमिते

१४ बैशाख २०८३, सोमबार
अ+
अ-

चन्द्रौटा (कपिलवस्तु) ।  झिसमिसे उज्यालोसँगै सीमावर्ती कपिलवस्तुको कृष्णनगर भन्सार नाका चलायमान बन्छ ।

भारतबाट नेपालतर्फ प्रवेश गर्ने मालवाहक ट्रकहरूको लामो लाइन बिस्तारै अघि बढिरहेको देखिन्छ । बाहिरबाट हेर्दा सामान्य लाग्ने यी ट्रकहरूभित्र भने क्षमताभन्दा दोब्बर भार बोकेर सडकमा गुड्छन् ।

वर्षौँदेखि सीमावर्ती जिल्ला कपिलवस्तुमा ओभर लोड ट्रकको समस्या जटिल बन्दै गएको छ । सडक विस्तार, पुल निर्माण र यातायात व्यवस्थापनमा राज्यले ठुलो लगानी गरे पनि अत्यधिक भार बोकेर गुड्ने सवारी साधनले ती संरचनालाई चाँडै कमजोर बनाइरहेका छन् । स्थानीय बासिन्दा भन्छन्, “नयाँ कालोपत्रे भएको सडक केही महिनामै भत्किन थाल्छ, खाल्डाखुल्डीले यात्रा नै जोखिमपूर्ण बनाइदिन्छ ।”

शनिबार जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले सञ्चालन गरेको विशेष जाँच अभियानले यो समस्याको गम्भीरता फेरि उजागर गरेको छ । ट्राफिक प्रहरी निरीक्षक राजन ढकालका अनुसार २५ वटा भारतीय ट्रक क्षमताभन्दा धेरै भार बोकेको अवस्थामा नियन्त्रणमा लिएको छ ।

जाँचमै केही ट्रकले झन्डै दोब्बरसम्म भार बोकेको पुष्टि भएपछि कारबाही अघि बढाइएको थियो । प्रहरीका अनुसार ओभर लोड नियम उल्लङ्घन मात्र होइन । यो प्रत्यक्ष रूपमा दुर्घटनासँग जोडिएको विषय हो ।

अत्यधिक भारका कारण ब्रेक प्रणालीमा अतिरिक्त दबाब पर्छ, मोडमा सन्तुलन गुम्ने सम्भावना बढ्छ । आकस्मिक अवस्थामा चालकले सवारी नियन्त्रण गर्न सक्दैन । “ओभर लोड सवारी भनेको सडकमा हिँड्नु जोखिम हो” ट्राफिक प्रहरी पोस्ट कृष्णनगरका प्रहरी नायव निरीक्षक निरज गौतमले भने । यो समस्या सुरक्षासँग मात्र सीमित छैन ।

सडक पूर्वाधारमा पर्ने क्षति पनि उत्तिकै गम्भीर छ । सडक र पुलहरू निश्चित भार क्षमता धान्ने गरी डिजाइन गरिएका हुन्छन् । तर दैनिक रूपमा सयौँ ओभर लोड ट्रक गुड्दा कालोपत्रे उखेलिने, सडक चिरिने र पुलमा अतिरिक्त दबाब पर्ने अवस्था सिर्जना हुन्छ । यसले राज्यको लगानीलाई अल्पकालमै जोखिममा पार्ने गरेको छ ।

स्थानीय व्यापारीहरूका अनुसार ढुवानी लागत घटाउन कतिपय व्यवसायीहरूले जानाजानी बढी सामान लोड गर्ने प्रवृत्ति बढेको छ । “एकटकमै धेरै सामान ल्याउँदा खर्च बचाउने सोच हुन्छ, तर त्यसको असर सडक र सुरक्षामा पर्छ”, एक व्यापारीले भने । सीमावर्ती क्षेत्रमा दैनिक सयौँ सवारी साधनको आवतजावत हुने भएकाले अनुगमन चुनौतीपूर्ण छ ।

कहिलेकाहीँ हुने कारबाहीले मात्र समस्या समाधान नहुने भन्दै स्थानीयले नियमित र कडा निगरानीको माग गरेका छन् ।
शनिबार गरिएको कारबाहीमा परेका प्रत्येक ट्रकबाट १० हजार रुपैयाँका दरले जरिवाना गरिएको छ ।

यस अनुसार एकै दिन २५ ट्रकबाट कुल २ लाख ५० हजार रुपैयाँ राजस्व सङ्कलन भएको ट्राफिक प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले आगामी दिनमा पनि ओभर लोड, तीव्र गति, कागजपत्रविहीन तथा अन्य नियम उल्लङ्घन गर्ने सवारी साधनमाथि विशेष अभियान जारी रहने जनाएको छ ।

सीमा नाकाबाट नेपाल छिर्ने सवारी साधनमाथि प्रभावकारी कडाइ कायम रहन सके दुर्घटना न्यूनीकरण, सडक संरक्षण र सुरक्षित यातायात व्यवस्थापनमा ठोस सुधार आउने अपेक्षा गरिएको छ ।

सीमाबाट भित्रिने यी ट्रकहरू केवल सामान मात्र बोकेका हुँदैनन्, तिनले सडकको आयु, यात्रुको सुरक्षा र व्यवस्थापनको परीक्षा पनि सँगै बोकेका हुन्छन् । त्यसैले नियन्त्रणको प्रश्न अब नियम कार्यान्वयनमा सीमित छैन । यो सुरक्षित र दिगो यातायात प्रणाली निर्माणको चुनौती समेत बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?