© 2026
अर्घाखाँची । अर्घाखाँची र कपिलवस्तु जिल्लाको सिमानामा अवस्थित ‘शिव भाइरल डाँडा’ पछिल्लो समय आन्तरिक पर्यटनको नयाँ आकर्षणको केन्द्र बन्दै गएको छ ।
महेन्द्र राजमार्ग अन्तर्गत पर्ने यो स्थान अर्घाखाँचीको शितगंगा नगरपालिका–११ र कपिलवस्तुको शिवराज नगरपालिका–१ मा फैलिएको छ । प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सामाजिक सञ्जालको प्रभावको अनौठो संयोजनले यो डाँडालाई छोटो समयमै चर्चाको शिखरमा पु¥याएको छ ।
महेन्द्र राजमार्ग निर्माणका क्रममा चट्टानी पहाड काटेर सडक विस्तार गरिएको यस क्षेत्रमा सुरुमा खासै चहलपहल थिएन । तर, पछिल्लो समय यहाँ खिचिएका आकर्षक फोटो र भिडियोहरू फेसबुक, टिकटक लगायत सामाजिक सञ्जालमा भाइरल हुन थालेपछि यस स्थानले व्यापक ध्यान खिच्न सफल भयो ।
यात्रुहरू मात्र होइन, घुम्न निस्किएका युवा, परिवार र धार्मिक आस्थावानहरूका लागि यो ठाउँ अहिले ‘मस्ट भिजिट’ गन्तव्यजस्तै बनेको छ ।
यस स्थानको अर्को विशेषता भनेको धार्मिक स्वरूपको विकास हो । स्थानीय र शिवराज नगरपालिकाको सक्रियतामा यहाँ शिव भगवानको चित्र बनाउने, नागको मूर्ति स्थापना गर्ने तथा विभिन्न शिवलिङ्गहरू राख्ने काम गरिएको छ ।
यसले गर्दा यहाँ आउने पर्यटकहरूमा धार्मिक आकर्षणसमेत थपिएको छ । “पहिला सामान्य पहाड मात्रै थियो, तर अहिले धार्मिक र पर्यटकीय दुवै हिसाबले विकास हुँदै गएको स्थानीय रोन्द्र बिकले बताएका छन् ।
हाल दैनिक रूपमा करिब ४०० देखि ५०० जना आन्तरिक पर्यटकहरू यहाँ पुग्ने गरेका छन् । महेन्द्र राजमार्ग भएर आवतजावत गर्ने सवारी साधनहरू पनि अहिले यस स्थानमा रोकिन थालेका छन् ।
यात्रुहरू केही समय विश्राम लिँदै फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्ने क्रम बढेको छ, जसले यस क्षेत्रको प्रचारलाई अझै तीव्र बनाइरहेको छ ।
चोर खोला र धानखोलाको बिचमा पर्ने यो डाँडा प्राकृतिक बनावटका कारण पनि आकर्षक देखिन्छ । चट्टानी संरचना, हरियाली परिवेश र माथिबाट देखिने सुन्दर दृश्यहरूले यहाँ पुग्नेहरूलाई मन्त्रमुग्ध बनाउँछन् ।
यस क्षेत्रको तीव्र लोकप्रियतासँगै व्यवस्थापनको चुनौती पनि देखिन थालेको छ । पर्याप्त पूर्वाधार, सरसफाइको व्यवस्था, पार्किङ स्थल तथा सुरक्षाका उपायहरू अझै व्यवस्थित हुन बाँकी छन् ।
स्थानीय तह र सम्बन्धित निकायले यदि समयमै ध्यान दिएमा यो स्थानलाई अझ व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने अर्घाखाँचीबाट घुम्नकैलागि पुगेका नवीन केसीले बताए । स्थानीय बासिन्दाहरूले पनि यसबाट आर्थिक लाभ लिन थालेका छन् । सानो चिया नास्ताका पशल खुल्न थालेका छन् ।
समग्रमा, ‘शिव भाइरल डाँडा’ सामाजिक सञ्जालको प्रभाव, स्थानीय पहल र प्राकृतिक सौन्दर्यको सङ्गमको उत्कृष्ट उदाहरण बनेको छ । उचित योजना र व्यवस्थापनका साथ अघि बढेमा यो स्थान लुम्बिनी प्रदेशकै एक प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने प्रबल सम्भावना रहेको देखिन्छ ।