© 2026
कपिलवस्तु । कपिलवस्तुको तौलिहवामा जारी दसौँ प्राचीन कपिलवस्तु महोत्सव मेला २०८३ मा आयोजकले मनलाग्दी व्यवहार देखाएका छन् ।
मेलामा अस्लिल गीत सङ्गीत बजाएको नागरिकको गुनासोका बिच आफूखुसी प्रवेश टिकट शुल्क तोक्ने र महोत्सव स्थलमै जुवा खेलाउने कार्यले महोत्सव मेला विवादित बन्दै गएको छ ।
तौलिहवा उद्योग वाणिज्य सङ्घको आयोजना र कपिलवस्तु नगरपालिकाको मुख्य प्रवर्द्धनमा बुद्धपद्धम माविको खेल मैदान तौलिहवामा वैशाख ४ देखि १५ गते सम्म महोत्सव मेला सञ्चालनमा रहेको छ ।
“कपिलवस्तु जिल्लाको समग्र विकासको आधार धार्मिक स्थलको प्रवर्द्धन, पर्यटन, कृषि, उद्योग र व्यापार” भन्ने नाराका साथ दिइए पनि रात्रिकालीन महोत्सव मेला उद्देश्य अनुरूप सञ्चालन नभएको भेटिएको छ । महोत्सवमा स्थानीय व्यापारीको व्यापार प्रवर्द्धन गर्ने स्टलहरूको अभाव छ भने पर्यटन प्रवर्द्धन, स्थानीय संस्कृति संरक्षणका लागि कुनै ठोस गतिविधि सञ्चालन हुन सकेको देखिँदैन ।
महोत्सव ठेक्कामा तर प्रवर्द्धक नगरपालिका: कागजमा तौलिहवा उद्योग वाणिज्य सङ्घको आयोजनामा महोत्सव मेला भएको देखाइए पनि महोत्सव ठेक्कामा दिइएको खुल्न आएको छ । मेला सञ्चालन पूर्व महोत्सव आयोजक समितिले तौलिहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा महोत्सवका संयोजक तथा तौलिहवा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गयादीन कुर्मीले महोत्सव ठेक्कामा लगाइएको भन्ने विषय गलत भएको बताएका थिए ।
उनले सो समय महोत्सवको केही कामलाई व्यवस्थापकीय जिम्मा केही कम्पनीले पाएको झुटो विवरण पेस गरेका थिए । तर तौलिहवा उद्योग वाणिज्य सङ्घले १२ लाख रुपैयाँ पाउने सर्तमा महोत्सव ठेक्कामा लगाएको एक सदस्यले बताए । महोत्सवलाई रुपन्देहीको राधाकृष्ण एम्युजमेन्ट एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.ले ठेक्कामा लिएको हो ।
सो प्रा.लि. का सञ्चालक राजीव शाहले तौलिहवा उद्योग वाणिज्य सङ्घसँग महोत्सव ठेक्कामा लिइएको स्वीकार गरेँ । “उद्योग वाणिज्य सङ्घलाई १२ लाख दिने सर्तमा हामीले पुरै मेला नै ठेक्का लिएका छौँ” उनले भने ।
यसअघि पत्रकार सम्मेलनमा अध्यक्ष कुर्मीलाई ठेक्कामा लगाइएको मेलाका लागि नगरपालिकाले विनियोजन गरेको रकम लिनुलाई सुशासन कसरी मान्ने ? भनी गरिएको प्रश्नमा उनले मेला ठेक्कामा नदिइएको र हिसाब किताब बराबर हुने अवस्था हुने भएकाले नगरले नै प्रवर्द्धन गरेकाले रकम लिनुपर्ने बाध्यता रहेको बताएका थिए ।
टिकटमा मनपरी शुल्क: तौलिहवा उद्योग वाणिज्य सङ्घले आयोजना गरेको भनिएको प्राचीन कपिलवस्तु महोत्सवमा प्रवेश शुल्क आफू खुसी बढाएको भेटिएको छ । महोत्सवमा अन्य दिनको प्रवेश टिकट दर ८० रुपैयाँ तोकिएको छ ।
तर वैशाख १३ गते भारतीय कलाकार आम्रपाली दुवे ल्याउने भनी आफूखुसी अग्रिम रूपमा २ सय रुपैयाँको प्रवेश शुल्क बिक्री वितरण सुरु गरिएको छ । यसरी महोत्सवमा लिइने प्रवेश शुल्कमा मनपरी गरिएको भए पनि कारबाहीका लागि कुनै पनि निकायले पहल लिएका छैनन् ।
महोत्सवलाई नाफामुखी रूपमा बनाई मौखिक सहमतिको आधारमा प्रवेश शुल्कमा अढाई गुणा मूल्य वृद्धि गरिनु कालोबजारी भएको स्थानीयको आरोप छ । प्रवेश शुल्क मात्रै नभई महोत्सवमा रहेका झुला र पिङ्गमा समेत गत वर्ष भन्दा डेढ गुणा शुल्क बढाएको देखिएको छ ।
महोत्सव सञ्चालनका लागि अनुमति लिने क्रममा समितिले शुल्क वृद्धि गर्ने विषयमा निर्णय गरी स्थानीय प्रशासनलाई सो को जानकारी गराउनु पर्नेमा कुनै जानकारी दिइएको देखिएको छैन ।
मेला ठेक्कामा लिएको राधाकृष्ण एम्युजमेन्ट एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिका सञ्चालक राजीव शाहले भारतीय कलाकार आउने दिनमा आफूहरूले शुल्क वृद्धि गर्ने सर्तमै महोत्सव ठेक्कामा लिएको जानकारी दिए ।
महोत्सवमा आफूखुसी शुल्क लिइएको विषयमा विभिन्न निकायबाट उजुरी आएपछि सो सम्बन्धी विषयमा आयोजक संस्था तौलिहवा उद्योग वाणिज्य सङ्घलाई पत्राचार गरी शुल्क वृद्धिको कारण सहितका विषयमा जवाफ सोधिएको निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले बताए ।
समितिको बैठकले प्रवेश शुल्क वृद्धिको औचित्य पुष्टि हुने गरी गरेको निर्णयको जानकारी प्रशासनलाई हाल सम्म नगराएको घिमिरेले स्विकारे । महोत्सवमा सञ्चालनमा रहेका झुला र पिंङ्गहरूको बिमा नभएको, करका विषय प्रस्ट नभएको लगायतका विषयमा बिमा गर्न र करको दायरामा आउन निर्देशन दिइएको उनले प्रस्ट्याए ।
यद्यपि भारतीय कलाकार आम्रपाली दुवेले पारिश्रमिक लिएर प्रस्तुति दिने कार्यका लागि वर्क परमिट लिनु पर्ने व्यवस्था छ । श्रम ऐन २०७४ ले विदेशी नागरिकले नेपालमा काम गर्न श्रम स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ ।
पैसा लिएर कार्यक्रम गर्ने भएमा भारतीय कलाकारले पनि वर्क परमिट लिनुपर्ने व्यवस्था भए पनि भारतीय कलाकारको वर्क परमिट लिनुपर्ने विषयमा आफूहरूलाई जानकारी नरहेको ठेक्का लिएको कम्पनीका सञ्चालक राजीव शाहले बताए ।
महोत्सवमै जुवा, सुरक्षा निकाय मौनः तौलिहवामा सञ्चालनमा रहेको प्राचीन कपिलवस्तु महोत्सव मेला स्थलमा खुलेआम जुवा खेलाइने गरेको भेटिएको छ । रात्रिकालीन मेलामा शुक्रबार राति बुटवल टुडेकर्मी पुग्दा लक्की सेभेन सहितका जुवाका खेलहरू खेलाउदै गरेको भेटिएको छ ।
महोत्सव स्थलमा सञ्चालन भएको जुवामा नावालकहरूले जुवा खेल्दै गरेको देखिएको थियो । रोचक प्रसंङ्ग त के थियो भने जुवास्थलमा सुरक्षा निकायको उपस्थिति रहँदारहँदै जुवा सञ्चालन गरेको स्थलमा सञ्चारकर्मीले खिचेको भिडियो डिलिट गराउने प्रयास भएको थियो ।
यसअघि पनि केही सञ्चारकर्मीहरूले खिचेको जुवाको भिडियो मेलालाई ठेक्का लिएकाहरूका प्रतिनिधिले जबरजस्ती डिलिट गराएको गुनासो आएको छ । “नियमित जुवा खेलाइएको छ, धेरै नै दबाब दिइएपछि खिचेको भिडियो डिलिट गरेँ” एक सञ्चारकर्मीले भने ।
यसरी महोत्सव स्थलमा नाबालक र युवालाई लक्षित गरि जुवा खेलाइँदै गर्दा प्रहरी प्रशासनले भने अनदेखा गर्ने गरेको नागरिकको आरोप छ । महोत्सव स्थलमा जुवा खेलाउनु र आफूहरूका कर्मचारीले सञ्चारकर्मीलाई भिडियो खिच्न अवरोध गर्नु कमजोरी भएको ठेक्का लिएको कम्पनीका सञ्चालक राजीव शाहले स्वीकार गरेँ ।
“ठेक्का लिने क्रममै उद्योग वाणिज्य सङ्घका प्रतिनिधिले दुई तीन वटा खेल खेलाउनुस् हामी मिलाउँछौँ भन्नु भएको थियो । सामान्य जुवा भए पनि जुवा खेलाउनु हाम्रो त्रुटि भयो ।” शाहले भने । महोत्सव मेलामा जुवा लगायतका कुनै पनि गलत कार्य भएको भेटिए कारबाहीका लागि प्रशासन तत्पर रहेको निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले बताए ।
मेला ठेक्कामा लगाएको विषयमा र महोत्सव स्थलमा जुवा खेलाएको विषयमा आयोजक संस्था तौलिहवा उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरू प्रतिक्रिया दिन खोज्दैनन् ।
पुरानै बेथितिः प्राचीनताको संरक्षण र स्थानीय कलाको प्रवर्द्धनका लागि आयोजित भनिएको महोत्सवमा स्थानीय कलाकारले प्राथमिकता नपाएपछि कलाकारहरू रुष्ट छन् ।
विगतमा हुँदै आएको प्राचीन कपिलवस्तु आइडललाई समेत आयोजकले यस वर्ष हटाएको आरोप छ । अघिल्लो वर्षहरूमा लगाएका महोत्सव मेलाको आय व्यय विवरण सार्वजनिक नगर्ने र सार्वजनिक गर्नै परे घाटाको विवरण पेस गर्ने कारणले महोत्सव मेलाको आर्थिक कारोबार अपारदर्शी देखिँदै आएको छ ।
सांसद निर्वाचित हुने क्रममा सुशासनका पक्षमा अडिग रहने प्रतिबद्धता गरेका प्रतिनिधिसभाका सदस्य विक्रम सिंह थापाले उद्घाटन गरेको महोत्सवमा सांसद थापालाई नै विवादित बनाउने गरी आयोजकबाट विभिन्न गतिविधि हुँदा समेत थापाबाटै कुनै प्रतिक्रिया नआउनुलाई नागरिकले गम्भीरतापूर्वक हेरेको देखिएको छ ।
शुल्क विवाद ढाक्न विज्ञप्ति: प्राचीन कपिलवस्तु महोत्सवमा ८० रुपैयाँको प्रवेश शुल्कलाई आफूखुसी २ सय कायम गरेर शुक्रबारदेखि नै अग्रिम टिकट बिक्री खोलेको आयोजक संस्थाले शुल्क विवाद ढाकछोप गर्न शनिवार विज्ञप्ति जारी गरेको छ ।
महोत्सवका संयोजक तथा तौलिहवा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गयादीन कुर्मीले शनिवार जारी गरेको विज्ञप्तिमा वैशाख १३ गते जनचाहना अनुसार भोजपुरी चर्चित अभिनेत्री अमरपाल दुबेको प्रस्तुति रहने भएको हुँदा उक्त दिन महोत्सवमा आउने दर्शकको लागि गेट पास टिकट रु २ सय रहने महोत्सव मूल समारोह समितिले निर्णय गरेको र सो रकम सङ्घको कार्यालय भवन माथि तल्लामा सभा हल निर्माणाधीन अवस्थामा रहेको र सो भवन निर्माण कार्य सम्पन्न गर्नको लागि १३ गते रु २ सयको टिकटबाट राजस्व बाहेक केही रकम बचत हुन आएमा भवन निर्माण कार्यमा सहयोग पुग्ने विज्ञप्तिमा उल्लेख छ ।