Butwal Today

अवैध रूपमा बनाइएका घर टहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना

११ बैशाख २०८३, शुक्रबार
अ+
अ-

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले नदी किनाराका सार्वजनिक, सरकारी तथा पर्ती जग्गाहरूमा अवैध रूपमा बनाइएका घर टहराहरू आज साँझ ७ः०० बजेसम्ममा खाली गर्न सूचना जारी गरेको छ ।

सो कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा आज जारी अत्यन्त जरुरी सूचनामा सार्वजनिक आवागमन र सहरी अति आवश्यक पूर्वाधारको निर्माण र नदीको बहावसमेतलाई प्रतिकूल प्रभाव पार्ने गरी एवं आफ्नो जीउ ज्यानसमेत जोखिममा पारी बसोबास गरेका सम्पूर्ण घर टहरा तथा घर टहरामा रहेका व्यक्तिहरूलाई सो आग्रह गरेको हो ।

घर टहरा आफैँले खाली गर्न नसक्ने अवस्थामा महानगरीय प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खबर गर्न पनि आग्रह गरिएको छ । त्यस्ता घर टहराहरूमा रहेका आफ्ना निजी सरसामान, लत्ताकपडा, घरपालुवा पशुपन्छी सुरक्षित स्थानमा तत्काल सार्ने व्यवस्था गर्न पनि भनिएको छ ।

घर टहरामा बसोबास गर्ने अपाङ्ग, साना बालबालिका, गर्भवती, सुत्केरी, वृद्ध वृद्धा एवं बिरामी व्यक्तिहरूलाई प्राथमिकता दिँदै अन्यत्र सुरक्षित स्थानमा सार्न सूचनामा भनिएको छ । वैशाख १२ गते बिहान ६ः०० बजेदेखि त्यस्ता घर टहरा भत्काउने, अतिक्रमित जग्गा पूर्ण रूपमा खाली गर्ने कार्य हुने र कोही कसैले बाधा अवरोध सृजना गरेमा कानुनबमोजिम कडा कारबाही गरिने जनाइएको छ ।

सूचनामा सुरक्षित रूपमा बसोबासको व्यवस्था भएपछि नेपाल सरकारका सम्बन्धित मन्त्रालय तथा अन्य अधिकारप्राप्त निकायबाट वास्तविक भूमिहीन सुकुम्वासीहरूको लगत लिने र स्क्रिनिङ गर्ने कार्य तत्काल सुरु हुने जानकारी दिइएको छ ।

आगामी १०–१५ दिनभित्र पहिचान भएका वास्तविक भूमिहीनलाई बसोबासको उचित प्रबन्ध गर्न तयारी भइरहेको छ । “यदि कोही कसैले यस सूचनालाई अटेरी गरी बसेको खण्डमा स्थानीय प्रशासन, प्रहरी र काठमाडौँ महानगरपालिकासमेतको संयुक्त कारबाहीबाट भत्काइने संरचना र क्षति हुने व्यक्तिगत सम्पत्तिको जिम्मेवार तपाईँ स्वयं  हुने छ”, सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?