Butwal Today

नवलपरासीका २३ वटा वनमा डढेलो: झन्डै ७० हेक्टर बढी क्षेत्रफलमा क्षति

१० बैशाख २०८३, बिहीबार
अ+
अ-

नवलपरासी । नवलपरासी जिल्लाका विभिन्न २३ वटा सामुदायिक तथा सरकारी (राष्ट्रिय) वन क्षेत्रमा लागेको डढेलोका कारण झन्डै ७० हेक्टरभन्दा बढी वन क्षेत्र प्रभावित भएको छ ।

लामो समयदेखि वर्षा नहुनु, अत्यधिक गर्मी र हावाहुरीका कारण डढेलो तीव्र रूपमा फैलिएको डिभिजन वन कार्यालयले जनाएको छ।

डिभिजन वन कार्यालयका फरेष्टर धिरज भट्टराईका अनुसार पछिल्लो केही साता यता जिल्लाका विभिन्न स्थानमा साना ठुला गरी आगलागीका घटना बढ्दै गएका छन्। “सुख्खा मौसम, जङ्गलमा थुप्रिएको सुक्खा पात–पतिङ्गर र हावाको गति बढी हुँदा आगो नियन्त्रण गर्न कठिन भइरहेको छ”।

बन कार्यालयले हालसम्म उपलब्ध गराएको तथ्यांकअनुसार जिल्लाका २३ वटा बनमा करिब ७० हेक्टर भन्दा बढी क्षेत्रफलमा  आगलागी भएको अनुमान गरिएको छ भने क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको छ।

डढेलोका कारण जैविक विविधतामा गम्भीर असर परेको छ। वन्यजन्तुको वासस्थान नष्ट हुनुका साथै साना जीवजन्तु र चराचुरुङ्गी प्रत्यक्ष प्रभावित भएका छन्। स्थानीय बासिन्दाले धुवाँका कारण स्वास्थ्य समस्या भोग्नुपरेको गुनासो गरेका छन् भने कतिपय स्थानमा बस्ती नजिकै आगो फैलिँदा त्रासको अवस्था सिर्जना भएको छ । पुरै बन डढेलोले सखाप भएको छ, हामी स्थानीय मिलेर केही भाग त निभायौ, हिजो त धुवाले बजार क्षेत्र बसिनसक्नु थियो बर्दघाटका स्थानीय व्यवसायी राजेन्द्र सुनारले भने । बर्दघाट चुरे उद्यान बन क्षेत्रमा भएको आगलागी स्थानीय मिलेर निभाउने प्रयास गरिए पनि आगलागीले ठुलो हिस्सा ओगटेको सुनारले बताए । कतिपय सामुदायिक वनहरूमा वृक्षारोपण गरिएका बिरुवा पनि मरेका छन् भने वनस्पति समेत नष्ट भएका छन् ।

डढेलो नियन्त्रणका लागि स्थानीय बासिन्दा, सामुदायिक वन उपभोक्ता समूहको सक्रियतामा केही स्थानमा आगो नियन्त्रणमा लिइएको भए पनि पूर्ण रूपमा नियन्त्रणमा आउन नसक्दा आगो फैलिन सक्ने जोखिम उच्च देखिएको छ ।

समथर भूभागमा हामीले केही क्षेत्रमा आगो नियन्त्रण त लियौ तर डाँडा काँढामा मान्छे पुग्न पनि कठिन हुँदा नियन्त्रण गर्न सकिएको छैन, हरेक वर्ष मान्छेकै कारणले आगो लाग्दा हैरान भएको छ, दाउन्नेदेवी सामुदायिक बनका अध्यक्ष बाबुराम सापकोटाले भने ।

अधिकांश डढेलो मानवीय लापरबाहीका कारण हुने गरेका छन्। वन क्षेत्रमा चुरोटका ठुटा फाल्ने, घाँस वा दाउरा सङ्कलनका क्रममा आगो बालेर छाड्ने, मह काढ्ने क्रममा आगो प्रयोग गर्ने जस्ता गतिविधिले आगलागी निम्त्याउने गरेको पाइएको छ। साथै केही स्थानमा जानीजानी वन सफा गर्ने नाममा आगो लगाउने प्रवृत्तिसमेत देखिएको कार्यालयले जनाएको छ।

डिभिजन वन कार्यालयले डढेलो नियन्त्रण तथा न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम, निगरानी टोली परिचालन, तथा जोखिमयुक्त क्षेत्रको पहिचान गरी सतर्कता अपनाइए पनि नियन्त्रण चुनौतीपूर्ण देखिएको छ। आवश्यक प्रविधि र श्रोत साधनको उपलब्धता नहुँदा मानवीय प्रयासले मात्रै डढेलो नियन्त्रण हुन सकिरहेको छैन ।

सम्बन्धित निकायले सर्वसाधारणलाई वन क्षेत्रमा आगो नबाल्न, जथाभाबी चुरोट नफाल्न तथा कुनै पनि स्थानमा आगलागी देखिएमा तुरुन्तै नजिकको वन कार्यालय वा सुरक्षा निकायलाई खबर गर्न आग्रह गरेको छ। डढेलो नियन्त्रणमा सबैको सहकार्य अपरिहार्य रहेको सरोकारवालाहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?