© 2026
बुटवल । नेपाल मेडिकल काउन्सिलले बुटवलको एक स्वास्थ्य क्लिनिकमा गर्भपतन गराउने क्रममा महिलाको मृत्यु भएको घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।
बुधबार काउन्सिलले व्यावसायिक आचरण तथा स्वास्थ्य समितिको निर्णयअनुसार, सम्राट् पराजुलीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।
उच्चस्तरीय टोलीमा स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्राडा पदमराज पन्त, डा. राजेन्द्र बस्याल, डा. अनुप पन्थी, कानुन विज्ञ गोविन्द मरासिनी र नागरिक समाजका प्रतिनिधि दिनेश पाण्डे छन् । टोलीलाई बुटवलस्थित सम्बन्धित स्वास्थ्य संस्थामा स्थलगत अनुगमन तथा निरीक्षण गर्न, घटनाको वास्तविकता पत्ता लगाउन भनिएको छ ।
काउन्सिलले छानबिन प्रक्रिया स्थानीय जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीसँग समन्वय गरेर अघि बढाइने जनाएको छ । दोषी भेटिएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने काउन्सिलले जनाएको छ ।
यस घटनामा संलग्न रहेको भन्दै परिवाको किटानी जाहेरीपछि बुटवल प्रहरीले २ डाक्टरसहित ५ जनालाई नियन्त्रणमा लिएको छ । गर्भपतनका क्रममा पाल्पाकी २९ वर्षीया गीता पाण्डेको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा दुई चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खत्री नर्सिङ होमका सञ्चालक डा. डीबी खत्री र इन्दु लेखा स्वास्थ्य क्लिनिकका चिकित्सक डा. सतिष रुपाखेतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) निशान्त श्री वास्तवले दुवै चिकित्सक आफै प्रहरीमा उपस्थिति भएको बताए ।
गीताका पति प्रकाश पाण्डेले चिकित्सकको लापरबाहीले ज्यान गएको आरोप लगाउँदै डा. खत्री र डा. रूपाखेतीसहित पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । दुई चिकित्सकबाहेक जोनल फार्मेसीका सन्ध्या बस्नेत र निलम घर्ती मगर तथा इन्दु लेखा स्वास्थ्य क्लिनिकका सञ्चालक खगेन्द्रप्रसाद पाण्डेविरुद्ध पनि उजुरी दिएका थिए ।
प्रहरीले सन्ध्या, निलम र खगेन्द्रलाई मंगलबार बिहान नै पक्राउ गरेको थियो । थप दुई चिकित्सकलाई आज नियन्त्रणमा लिइएको डीएसपी श्री वास्तवले जानकारी दिए । गीताका आफन्तले तीन वटा स्वास्थ्य संस्थामा तालाबन्दी गरेका थिए ।
बुटवल उपमहानगरपालिका वडा नम्बर–९, इट्टाभट्टीस्थित खत्री नर्सिङ होममा नियमित गर्भ परीक्षण गराउँदै आएकी गीताको गर्भपतनको औषधी सेवन तथा उपचारकै क्रममा मृत्यु भएको हो ।
नियमित गर्भ परीक्षण गराइरहेको खत्री नर्सिङ होममा गत चैत्र २७ गते भिडियो एक्सरेर गरेर हेर्दा बच्चाको स्वास्थ्य अवस्था असाधारण रहेको भनेर चिकित्सकले भनेपछि गीताले गर्भपतन गराउने निर्णयमा पुगेकी थिइन् ।
चिकित्सकको सल्लाह अनुसार नै वैशाख ५ गते श्रीमान्सहित बुटवल आएकी पाण्डे खत्री नर्सिङ होममा नियमित फलोअपसहित उपचारका लागि पुगेकी थिइन् । त्यहाँबाट थप उपचारका लागि उनलाई जोनल फार्मेसीमा रिफर गरिएको थियो । जोनल फार्मेसीमा कार्यरत स्वास्थ्यकर्मीले गर्भपतन गराउन गीतालाई औषधि खुवाएका थिए ।
त्यहाँ रहेका स्वास्थ्यकर्मीहरूले गीतालाई वैशाख ५ गते शनिबार साँझ १० बजे एक खुराक र भोलिपल्ट बिहानै ६ बजे अर्को खुराक औषधी खाएर आइतबार विहान १० बजे फार्मेसी आउनका लागि भनेका थिए ।
जोनल फार्मेसीमा उनको उपचार प्रक्रिया सफल नभएपछि उनलाई सोही क्षेत्रको इन्दुलेखा क्लिनिकमा लगिएको थियो । त्यहाँ समेत औषधी प्रयोग गरेर गर्भपतन गराउने प्रयास गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ
। लगातार औषधि प्रयोगपछि स्वास्थ्य अवस्था गम्भीर बनेपछि पाण्डेलाई अन्ततः लुम्बिनी सिटी अस्पताल पु¥याइएको थियो । अस्पताल पुगे लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।