© 2026
बुटवल ।
बुटवलमा रहेको विभिन्न मेडिकल क्लिनिकमा उपचारका क्रममा पाल्पाको बगनासकाली गाउँपालिका–२ की गीता पाण्डेको मृ’त्यु भएको घटनामा जोडिएका बुटवलका दुई चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खत्री नर्सिङ होमका सञ्चालक समेत रहेका डा. डीबी खत्री र इन्दु लेखा स्वास्थ्य क्लिनिकका चिकित्सक डा. सतिष रुपाखेतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
मृतकका श्रीमान् प्रकाश पाण्डेले डा. खत्री र रुपाखेतीसहित पाँचजना विरुद्ध किटानी जाहेरी दिएका थिए । त्यसैका आधारमा जोनल फार्मेसी तथा क्लिनिकका सञ्चालक सन्ध्या बस्नेत र निलम घर्ती, इन्दुलेखा स्वास्थ्य क्लिनिकका सञ्चालक खगेन्द्रप्रसाद पाण्डेलाई प्रहरीले मंगलबार बिहान नै पक्राउ गरेको थियो ।
डा. खत्री र रुपाखेतीलाई भने मंगलबार बेलुका घटनाबारे बुझ्नु प्रहरीले नै फोन गरेर कार्यालय बोलाएको थियो । कार्यालय आएपछि नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवले बताए ।
पक्राउ परेका अन्य तीन जनालाई जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको र अरुको पनि संलग्नता देखिए सबैलाई कारबाहीको दायरामा ल्याइने उनले जानकारी दिए ।
यता, परिवारले भने उपचारसम्बन्धी कागजातसमेत जोनल फार्मेसीले लुकाएको दाबी गर्दै प्रमाण नष्ट हुन सक्ने आशङ्का व्यक्त गरेका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् । मृतकका आफन्तहरूले मङ्गलवार ती क्लिनिकहरू घेराउ गरी तालाबन्दी समेत गरेका थिए ।
पाण्डेका अनुसार करिब १२ हप्ताको गर्भमा समस्या देखिएपछि वैशाख ५ गते श्रीमतीलाई लिएर बुटवल आएका थिए । सुरुमा उनलाई खत्री नर्सिङ होम इट्टा भट्टीमा लगिएको र त्यहाँ स्वास्थ्यकर्मीले औषधि प्रयोग गरी गर्भ’पतन गराउने प्रयास गरिएको उनले बताए ।
त्यसपछि अवस्था सुधार नभएपछि उनलाई बुटवल अस्पताल लाइनस्थित जोनल फार्मेसी र इन्दुलेखा क्लिनिकमा लगिएको थियो । त्यहाँ पनि औषधि प्रयोग गरेर उपचार गरिएको तर स्वास्थ्य अवस्था झनै गम्भीर बनेको परिवारको भनाइ छ ।
अवस्था जटिल बनेपछि उनलाई अन्ततः लुम्बिनी सिटी अस्पताल पु¥याइएको थियो । तर अस्पतालले उनलाई मृ’त घोषणा गरेको र मृ’त्युको वास्तविक कारण स्पष्ट नभएको श्रीमान् पाण्डेले बताए ।
गीता पहिलो बच्चा जन्मिएको ५ वर्षपछि दोस्रोपटक आमा बन्ने तयारीमा थिइन् ।