Butwal Today

सर्वोच्चले रोक्यो डन्डामा फोहोर

हाल डम्पिङ साइट प्रयोग गर्न नसक्ने अवस्था रहेकाले वैकल्पिक व्यवस्था नभएसम्म फोहोर उठाउने कार्य अन्योल भएको छ ।
८ बैशाख २०८३, मंगलवार
अ+
अ-

भैरहवा  । सर्वोच्च अदालतले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित डन्डा खोलामा फोहोर नफाल्न अन्तरिम आदेश जारी गरेसँगै सिद्धार्थनगर नगरपालिकाको फोहोर व्यवस्थापन अन्योलमा परेको छ ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको इजलासले उक्त क्षेत्रमा डम्पिङ साइट सञ्चालन नगर्न र फोहोर नफाल्न आदेश दिएको हो । सो आदेशपछि नगरपालिकाले तत्कालका लागि फोहोर व्यवस्थापनमा समस्या उत्पन्न भएको जनाएको छ ।

सोमबार बिहान फोहोर बोकेर डन्डा खोलातर्फ गएका नगरपालिकाका ट्याक्टरहरू स्थानीय अवरोधका कारण फोहोर नफाली फर्किएका थिए । नगरपालिकाका सूचना अधिकारी देव ज्ञवालीका अनुसार अदालतको आदेशको औपचारिक पत्र नआए पनि स्थानीयले आदेशको हवाला दिँदै प्रवेश रोकेपछि फोहोर व्यवस्थापन प्रभावित भएको हो ।

“हाल डम्पिङ साइट प्रयोग गर्न नसक्ने अवस्था रहेकाले वैकल्पिक व्यवस्था नभएसम्म फोहोर उठाउने कार्य अन्योल भएको छ,” ज्ञवालीले भने, “हामीले यहाँका सङ्घ संस्था र नगरवासीलाई तत्कालको लागि आफ्नै स्रोतमा फोहोर व्यवस्थापन गर्न अनुरोध गरेका छौँ ।”

नगरपालिकाले घरधुरी, व्यावसायिक प्रतिष्ठान तथा होटल व्यवसायीहरूलाई फोहोर छुट्टाएर सुरक्षित रूपमा व्यवस्थापन गर्न आग्रह गरेको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ तथा होटल व्यवसायी सङ्घले समेत आफ्ना सदस्यहरूलाई आ–आफ्नो फोहोर स्वयं व्यवस्थापन गर्न अपिल गरेका छन् ।

यसअघि अनियन्त्रित रूपमा फोहोर फालिँदा डन्डा खोलामा दुर्गन्ध र प्रदूषण बढेको भन्दै अधिवक्ता विवेक बख्रेल र कानुनकी विद्यार्थी अन्जली सिलवालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिटमाथि सुनुवाइ गर्दै अदालतले अन्तिम निर्णय नहुँदासम्मका लागि फोहोर फाल्न रोक लगाएको हो ।

नगरपालिकाले दीर्घकालीन समाधानका लागि वैकल्पिक डम्पिङ साइटको खोजी तथा फोहोर प्रशोधन केन्द्र स्थापना गर्ने विषयमा छलफल अघि बढाएको जनाएको छ ।

सिद्धार्थनगरमा दैनिक २५ टन भन्दा धेरै फोहर उत्पादन हुने गरेको छ । फोहोर व्यवस्थापनका लागि १ सय २५ जना जनशक्ति दैनिक खटिनु परेको नगरपालिकाले जनाएको छ ।

सिद्धार्थनगर क्षेत्रको फोहर दीर्घकालीन रूपमा व्यवस्थापन गर्न एसियाली विकास बैङ्कको ३३ करोड रुपैयाँ लागतमा आठ वर्षअघि निर्माण गर्न लागिएको फोहर प्रशोधन केन्द्र विवादका कारण रद्द भएपछि नगरमा फोहर व्यथापनको समस्या विकराल बनेको छ ।

लुम्बिनी प्रवेशद्वारको रूपमा रहेको सिद्धार्थनगरमा फोहर व्यवस्थापन प्रभावकारी नहुँदा नगर कुरूप र दुर्गन्धित बन्दै गएको छ । नगरको मुख्य चोक र सडक किनारका पेटीमा जथाभाबी फ्याँकिने फोहरबाट नगरवासी तथा यात्रु पीडित हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?